site stats
साहित्य
पुस्तक परिचय

नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध 
(कूटनीति : प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपाने)

नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमाथि लेखिएको पुस्तक प्रकाशनमा आएको छ । पाठकका चाहना तथा विद्यार्थीको मागलाई विशेष ध्यानमा राख्दै प्रा. डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेले लेखेको यस पुस्तकको नाम ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ रहेको छ ।

लेखक न्यौपानेले आफ्नो मन्तव्यमा लेखेका छन्, “...छिमेकी राष्ट्रहरूका साथै शक्ति राष्ट्रसँग सम्बन्ध र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको भूमिका विस्तृत रूपमा उल्लेख गरिएको छ । यस पुस्तकलाई पाठकहरूले मन पराइदिनुहुनेछ भनी आशा लिएको छु ।...।”

S.A.U
Agani Group

पुस्तकको पहिलो अध्यायमा प्राचीन तथा मध्यकालीन कूटनीतिका बारेमा लेखिएको छ । जसमा कूटनीतिको अर्थ र किसिमका बारेमा विचार अभिव्यक्त छ । पुस्तकमा शाहकालीन कूटनीति, राणाकालीन कूटनीति, नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धसँगै बेलायत, अमेरिका, जर्मन, फ्रान्स, रुस, जापानलगायत देशहरूका कूटनीतिक सम्बन्धका विषयमा लेखिएको छ ।

१५ विभिन्न शीर्षकमा कूटनीतिका विषयहरू पुस्तकमा समेटिएको छ । यो नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्नेहरूका लागि काम लाग्ने बताइएको छ ।

Global bank

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ३१६+४ पृष्ठको यस पुस्तकको मूल्य ४९५/– रुपैयाँ राखिएको छ ।
०००
नयाँ पात्र
(नाटकसंग्रह : शार्दूल भट्टराई)

साहित्यकार शार्दूल भट्टराई साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका उनी नाटक र निबन्ध लेखनमा पनि चर्चित छन् । उनका कविता, नाटक र निबन्धकृति प्रकाशित भइसकेका छन् ।

तीसको दशकका यिनै साहित्यकर्मी भट्टराईको पछिल्लो कृति हो, ‘नयाँ पात्र’ । यो उनका नाटकहरूको सँगालो हो ।

शार्दूलको पहिलो नाट्यकृति ‘बाँसुरी आतङ्क’ हो भने उनको ‘पुल खस्यो’ कविताकृति र ‘जनैको डर’ निबन्धकृति प्रकाशित भइसकेको छ । उनको लेखनी यतिमा मात्रै सीमित छैन, संस्मरण र पुस्तक समीक्षामा पनि उनको कलम चल्दै आएको छ ।

‘नयाँ पात्र’ उनको १३  एकांकी नाटकहरूको संग्रह हो । ती नाटकहरूमा समकालीन समाज, समकालीन परिस्थिति चित्रण गरिएको छ । आजको समयमा नेपाली नाट्य क्षेत्रको फस्टाउँदो स्वरूप कसैबाट लुकेको छैन । नेपाली नाट्यपरम्परालाई आजका युवा नाट्यकर्मीले अगाडि बढाउँदै लगेका छन् । तिनका लागि शार्दूलका यी नाटकहरूले राहत पुर्याउन सक्छन् । किनभने, प्रायः नाट्यकर्मीको गुनासो सुनिन्छ– नेपालीमा नाटक नै पाइँदैन । त्यसैले विदेशी भाषाका नाटक अनुवाद गरेर मञ्चन गर्नु हाम्रो बाध्यता हो ।

सहरको घर, पारसमणि, रोबोटिक, सपनामा, एउटा कुर्सी, एक थप्पडलगायत नाटकहरू संगृहीत कृतिभित्रको एउटा नाटकको दृश्य यस्तो छ ः (सहरको महत्त्वपूर्ण आवासीय क्षेत्रमा रहेको एउटा सानो घर तर सुन्दर घर । ठूलो कोठामा सोफासेट र कुर्सीहरू राखिएका छन् । कोठामा तीन दाजुभाइ— जेठो, माइलो र कान्छो छन् । उनीहरू तीनैजना आ–आफ्नै तनाव र छटपटीमा छन् । कहिले जेठो उठ्छ, कान्छो बस्छ । कहिले कान्छो उठ्छ, माइलो बस्छ । कहिले माइलो छटपटिन्छ, जेठो शान्त देखिन्छ । कहिले कान्छो छटपटिन्छ र माइलो शान्त देखिन्छ । केही समयसम्म यही क्रम चलिरहन्छ ।) (पृष्ठ—७)

भृकुटी एकेडेमिक पब्लिकेशन्सद्वारा प्रकाशित ३१२+४ पृष्ठको यस नाट्यकृतिको मूल्य ५९५/– रुपैयाँ राखिएको छ ।
०००
काला बादलमा उज्याला पाइला
(कविता–किस्ती : पुरुषोत्तम दाहाल)

नेपाली पत्रकारितामा परिचित नाम हो, पुरुषोत्तम दाहाल । उनी विगत चार दशकदेखि विभिन्न पत्रपत्रिकाहरूको सम्पादन–प्रकाशनमा क्रियाशील छन् । कविता, निबन्ध, कथा, उपन्यास, आत्मकथा, विचारप्रधान लेखहरूसहित विभिन्न कृतिहरू समेत प्रकाशित गरिसकेका छन् ।

उनको पछिल्लो कृतिका रूपमा कविता–किस्ती सार्वजनिक भएको छ, ‘काला बादलमा उज्याला पाइला’ ।

दाहालको पहिलो कविताकृति २०४३ सालमा संयुक्त रूपमा प्रकाशित भएको थियो । त्यसपछि उनको ‘साँध’ कविताकृति प्रकाशित भइसकेको छ ।

‘शान्ता’ उपन्यासका स्रष्टा दाहालको उक्त कृति अंग्रेजी भाषामा समेत अनुवाद छ ।

आफ्नो यस कविताकृतिका विषयमा दाहाल लेख्छन्, “...मेरो देश र जनताको आजको अवस्थाले मन दुखिरह्यो । कहिले त लाग्छ, तुलना गर्नु पो गलत हो कि ? जस्तो नियति जोसँग हुन्छ त्यसले त्यस्तै भोग्नुपर्छ भनेर सन्तोष लिनुपर्ने हो कि ? केही रचना त्यसैको सेरोफेरोमा सिर्जित भएका हुन् ।”

‘पुरुषोत्तम दाहालका शक्तिशाली कविता’ शीर्षकमा प्रा. डा. कुमारप्रसाद कोइराला भूमिका लेख्छन्, “यस संग्रहमा राजनीतिक नेतृत्व वर्गप्रति तीव्र असन्तोष व्यक्त गरेर लेखिएका कविता धेरै छन् । आजको नायक, फरक रहर, डनडन डमरु, धनधन भकारी, मुर्दाहरू आफ्नो लाश आफै जलाऊ, बिहान ओम्नी राति यति, नेता सधैँ मालिक, पक्षपाती माली, खोरभित्रका बाँदरहरू, घाँटी घाँटीमा धान रोप्नेहरू, विचार बेच्नेहरू बढे, बूढो गोरु आदि कविताले नेपालका नेताहरूको प्रतिकूल चरित्रचित्रण गरेका छन् ।...।”

कवि कलानिधि दाहाल लेख्छन्, “कहिलेकाहीँ संयोग पनि विचित्रको पर्न जान्छ । कवि पुरुषोत्तम दाहाल छोराबुहारीको कर्मस्थल अद्यावधिक विश्वकै रिमोट–अमेरिकामा लामै समय बस्ने अवसर प्राप्त भएका कारण उनलाई यी अनुभूति सञ्चितीका अवसर जुटे ।...।”

एउटा कवितामा दाहाल लेख्छन्–
प्रिय ओम्नी ! 
म तिमीसँग
प्रेम गर्छु
प्रत्येक बिहान
र साँझ पर्नासाथ 
यतिको अङ्कमालमा 
आलिङगनबद्ध हुन्छु 
म हेर त 
देश चलाइरहेको छु
ओम्नी !
(पृष्ठ ९०)

शिखा बुक्सद्वारा प्रकाशित १८०+४ पृष्ठको यस कृतिको मूल्य ३६०/– रुपैयाँ राखिएको छ ।
०००
केही यक्षप्रश्नहरू
(कवितासंग्रह : यतिराज अजनबी)

कवि यतिराज अजनबीको कविताकृति केही समयअघि प्रकाशित भएको छ, ‘केही यक्षप्रश्नहरू’ शीर्षकका साथ । भुटानी नेपाली कवि अजनबीका आफ्नो जीवनका भोगाइहरू यसभित्रका कवितामा पोखिएको छ ।

कवि यतिराज अजनबी आफ्नो मन्तव्यमा लेख्छन्, “केही यक्षप्रश्नहरू मेरा जीवनले भूगोलविहीन भएर बाँचेको बीसबर्से अवधिको उपज हो । राज्यविहीन हुँदा देश र राज्य भनेको के हो भन्ने कुराको समझको विकास भइसकेको भए पनि त्यही बेलादेखि राज्यविहीनताले मलाई चिमोटी रह्यो र चिन्तित बनाइरह्यो ।...।”

‘सिकारी’ कवितामा अजनबी लेख्छन्– 
सिकार गर्नेहरू शिखर पुग्दैनन्
उनीहरू झाडीमै रमाउँछन्
त्यहीँ सधैँ लुकिरहन्छन्
शिखर चढनु भनेको 
देखिनु हो 
देखिनु भनेको 
उनीहरूको सिकार उम्किनु हो  (पृष्ठ ८५)

कवि श्यामल अन्तिम पृष्ठमा लेख्छन्, “‘केही यक्षप्रश्नहरू’भित्रका शक्तिशाली बिम्बहरू नेपाली कविताका प्राप्ति हुन् ।...।”

कालेबुङका राजेन्द्र भण्डारी लेख्छन्, “...पराई देशमा भोग्नु परेको शरणार्थी पीडाको आलेख हो, प्रस्तुत कवितासंग्रह...।”

साहित्य परिषद् भुटानद्वारा प्रकाशित २७२+४ पृष्ठको यस कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय