site stats
राजनीति
प्रदेश सांसद् साह भन्छिन्– मिथिलानी पहरिनमा शपथ लिँदा मधेसको संस्कृति देखाएँ

सप्तरी । मिथिलामा नयाँ दुल्हीले लगाउने जस्तै पहिरनमा शपथ लिन पुगेकी थिइन् नवनिर्वाचित प्रदेशसभा सदस्य किरण कुमारी साह । उनले आफ्नो मातृभाषा मैथिलीमा शपथ लिइन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य साहको शपथको बेलाको पहिरन यतिबेला चर्चामा छ । पार्टीभित्र र बाहिर पनि उनको पहिरनबारे चर्चा चलिरहेको छ ।

मिथिला संस्कृति र मैथिली भाषीहरुले साहको पहिरन मिथिलानी नारीले परम्परादेखि लगाउँदै आएको प्रतिक्रिया दिएका छन् । “मिथिला संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा महिला यस्तै पहिरनमा सज्जिन्छन्,” उनीहरुको भनाइ छ । सोही विषयलाई लिएर कतिपय दलका नेता कार्यकर्ताले उनको पहिरनमाथि टिप्पणीसमेत गरेको पाइएको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष सत्तिश कुमार दत्त प्रदेशसभा सदस्य साहको पहिरनमाथि कुनै प्रकारको टिप्पणी गर्न आवश्यक नरहेको बताउँछन् । “टिप्पणी गर्ने विषय नै होइन । मिथिला पहिरन उनको मौलिक अधिकार हो,” उनले भने ।

दत्तले जुन व्यक्तिहरुसँग कुनै ‘एजेण्डा’ नै छैन, उनीहरु कहिले भाषा त कहिले पहिरनको विवाद ल्याएर चर्चामा आउन खोजेको बताए । “साहको पहिरनमाथि नकारात्मक टिप्पणी गर्नेहरुको घरमा कुनै पनि सांस्कृतिक कर्म हुँदा महिलाहरु सोही पहिरनमा हुन्छन्, त्यतातिर पनि हेर्न आग्रह गर्दछु,” दत्तले भने ।

Global bank

दुलहीजस्तै सज्जिएर शपथ लिएकोप्रति नकारात्मक टिप्पणी गर्नु उचित नभएको बताउँछिन् प्रदेशसभा सदस्य साह । आफूले मिथिलाको छोरी बुहारीले लगाउने पहिरनमा शपथ लिएको विषयलाई उत्तेजित बनाएर नकारात्मक दृष्टिले हेर्नु गलत भएको उनको तर्क छ । आफू कसैको छोरी र कसैको बुहारी भएकोले मिथिला संस्कार संस्कृतिमा ससुरा, जेठाजु सबैको सम्मान गर्ने पहिरन महिलाले सदियौँदेखि लगाउँदै आएकोले आफ्नो शपथ ग्रहणको पहिरन पनि सोही अनुसारको भएको बताइन् ।

“मिथिलाको मौलिकता झल्किने, मिथिलानी नारीले लगाउने पहिरनमा शपथ लिएर सम्पूर्ण मिथिलाको नारीको प्रतिनिधित्व गरेको छु । यता टिप्पणीकारहरुले राजनीतिक मञ्चलाई रंगमञ्च बनाउन खोजेको छ भन्छन्,” उनले भनिन्, “मैथिली भाषालाई मधेसी भाषा भनेर आक्रमण गर्ने प्रयास गरिएझैँ मेरो पहिरनमाथि टिप्पणी गरेर मिथिला संस्कृतिमाथि आक्रमणको प्रयास भएको छ ।”

११ पुसमा प्रदेशसभा सचिवालय मधेस प्रदेशले जारी गरेको सूचनामा “राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिरन झल्कने पोशाकमा उपस्थितिका लागि सम्पूर्ण माननीय सदस्यहरुलाई अनुरोध छ” उल्लेख छ ।

जनमत पार्टीका केही व्यक्ति र उस्तै मानसिकता भएका अन्य व्यक्तिहरुले आफ्नो पहिरनमाथि टिप्पणी गरेको उनको आरोप छ । आफ्नो पहिचान, भाषा र संस्कृतिकै रक्षा गर्न संघीयता आएको उल्लेख गर्दे उनले यस्ता नकारात्मक टिप्पणी गर्नेहरु बौद्धिक गरिब भएको बताइन् । 

“विश्वमै कतै अस्तित्वमा नरहेका मधेसी भाषाको नाम दिएर मैथिलीलगायत अन्य मातृभाषामाथि समेत प्रहार गर्नेहरुलाई मिथिलानी नारीको पहिरन सुहाएन । तर, म आफ्नो मातृभाषा मैथिली र मिथिला संस्कृति पहिरनमाथि गौरव गर्छु, त्यसैले मिथिला पहिरन र मैथिली भाषामा शपथ लिएको हुँ,” साहले भनिन् ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय