
सप्तरी । नेपाली प्रचलित उखान छ, ‘पहिलो गाँसमै ढुङ्गा’ । यही उखानजस्तै बन्यो जनमत पार्टी अध्यक्ष डा. सीके राउतको संघीय संसद्मा शपथग्रहण ।
पहिलोपटक संसदीय यात्रा सुरु गरेका राउतले पुस ७ गते ‘मधेसी भाषा’ उल्लेख गरेर शपथ लिए । शपथ लिने बित्तिकै उनी निर्वाचित भएकै क्षेत्र सप्तरीको राजविराजमा राउतको विरोधमा प्रदर्शन, पुतला दहन, नारावाजी र कोण सभा भयो ।
५ दशकभन्दा बढी समयदेखि मैथिली क्षेत्रमा काम गर्दे आएका मैथिली साहित्य परिषद् सप्तरी, मिलाफ नेपाल र आई लभ मिथिला गरी तीनवटा संस्थाले राउतको विरुद्धमा प्रदर्शन गर्दै पुस ८ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत शपथ बदरको माग राखी संसद् सचिवालयलाई उनको शपथ बदर माग गर्दै ज्ञापनपत्र समेत बुझाइसकेको छ ।
पुस ८ गते नै मधेसी आयोगले संघीय संसद् सचिवालयबाट स्पष्टीकरण माग ग¥यो । ‘सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरु २०७८’ र मधेशी आयोगमा ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधिसभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भिरताको विषय रहेको साथै नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरु माथि नकारात्मक प्रभाव परेको देखिन्छ’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
कुन मान्यता अनुसार संसद् सचिवालयले मधेसी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट पार्न आयोगको पत्रमा भनिएको छ । मधेसी आयोगका अध्यक्ष विजय कुमार दत्तले नेपालको कुन जिल्ला, कुन पालिकामा यो भाषा बोलिन्छ ? संसद् सचिवालयले प्रष्ट पारोस् भनी प्रश्न गरेका छन् । “भाषा आयोगबाट प्रमाणीकरण नगराई शपथ गराउने संघीय संसद् सचिवालयले क्षेत्राधिकार उल्लङ्घन गरेको छ” उनले भने ।

अपरिपक्व सुरुवात
वरिष्ठ अधिवक्ता एवं विश्लेषक अवधेशकुमार सिंहले सीके राउतले संसदीय यात्राको सुरुवातमै पूर्ण अपरिपक्वता देखाएको बताए । उनले ‘मधेसी भाषा’ उल्लेख गरी राउतले शपथ लिएर अपरिपक्वताको परिचय दिएको तर्क गरे ।
“मधेस प्रदेश नामाकरण हुनुको अर्थ यस प्रदेशको भाषा ‘मधेसी भाषा’ हो भन्ने कुतर्कको विषय हो, यसले राउत संसदीय यात्रामा पूर्ण अपरिपक्व रहेको देखिन्छ,” विश्लेषक सिंहले भने, “भाषा विवाद गर्नुपर्ने कुनै प्रसंग नै छैन, संविधान, कानुनले सूचीकृत नै नगरेको भाषालाई कृत्रिम नाम दिएर भाषिक विवाद खडा गर्नुले उनको लोकप्रियतामा ह्रास ल्याउनेछ ।”
जनताले राउतलाई भिजन भएको नेता मानेर जिताएको बताउँदै उनले भने, ‘पहिलो गाँसमै ढुङ्गा जस्तै गर्नुभयो ।’
सप्तरी निर्वाचन क्षेत्र नम्बर २(१) मा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मधेसमा बोलिने मैथिली, भोजपुरी, अवधी र अन्य सबै भाषा नै मधेसी भाषा भएको तर्क गरेका छन् ।
भाषिक अराजकता
मैथिली साहित्य परिषदका अध्यक्ष सत्तिशकुमार दत्तले राउतले ‘मधेसी भाषा’ भनेर भाषिक अराजकता सृजना गरेको बताए ।
उनले संसद् सचिवालयले कानुन विपरितका काम गर्दै ‘मधेसी भाषा’ लाई अनाधिकृत रुपमा मान्यता दिएर भाषिक अराजकता ल्याएको आरोप लगाए । “राष्ट्रभाषा, राष्ट्रिय भाषा वा नेपालमा सुचिकृत कुनै पनि भाषामा शपथ लिए हुन्छ” दत्तले भने ।
मिलाफ नेपाल कि अध्यक्ष रमिला शाहले ‘हामी मधेसबासी र मैथिली भाषी’ भएको बताएकी छिन् । उनले ‘मधेसी भाषा’को वखेडा झिकेर डा. राउतले मधेसमा बस्ने विभिन्न जातजातीबीच द्वन्द्व बढाउने काम गरेको बताईन् ।
“हामी मधेसबासी र मैथिली भाषी हौं, यस प्रदेशमा मैथिली भाषी सबै भन्दा बढी छन् त्यसपछि भोजपुरी लगायतका अन्य भाषा पनि बोलिन्छ तर, यो ‘मधेसी भाषा’ डा. राउतको गलत अविस्कार हो,” उनले भनिन्, “यसले मधेशमा बसोवास गर्ने जातजातीबीच द्वन्द्व बढाउँछ ।”