
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय शृंखलाअन्तर्गत आज नेपालले स्कटल्यान्डविरुद्ध अन्तिम खेल खेल्दै छ । नेपाल स्कटल्यान्डसँगको पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । शृंखलामा नेपाल अहिलेसम्म जितविहीन छ ।
यो खेल नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नेपाली समयानुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।
शृंखलामा नेपाल र नामिबियासँगै स्कटल्यान्ड सहभागी छ । वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको पहिलो खेल रद्द भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले र तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो ।
लिग–२ मा २३ खेलबाट १८ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । ३१ खेलबाट ४४ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
लिग–२ बाट शीर्ष तीन टिमले विश्वकप छनोटमा स्थान पक्का गर्नेछन् । बाँकी चार टिमले प्लेअफबाट गुज्रिनुपर्छ ।