site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको एक्लो सांसद बनेर 'मालदार' मन्त्रालय ताक्ने मनाङेको दाउ
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका बहालवाला युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । चुनावको अन्तिम नतिजा लगभग आइसकेर सरकार गठनको प्रक्रिया अघि बढ्ने बेला उनी 'अचनाक' एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

सोमबार साँझ मात्र केन्द्रमा सत्ता गठबन्धनका शीर्ष चार नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा एकीकृत समाजवादी पनि छ । वक्यव्यमा अहिलेको गठबन्धनलाई निरन्तरता दिने भनिएको छ। 

गण्डकीमा नयाँ सरकार गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिले अरू नचाहिने स्थिति छ । सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय भएपछि गण्डकीमा सांसविहीन अवस्थामा पुगेको एकीकृत समाजवादी पनि सत्ता साझेदार दल हुने बुझेर नै मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एकीकृत समाजवादीले गण्डकीमा नवलपुर २ (ख) बाट गोपाल खनाललाई उमेदवार बनाएको थियो । तर, उनी एमालेका लक्ष्मण पाण्डेसँग पराजित भए । समानुपातिकमा एकीकृत समावादीले थ्रेसहोल्ड नै कटाउन सकेन ।

सत्ता साझेदार दल भएपछि एकीकृत समाजवादीमा आफू एक मात्र सांसद हुने बुझरै उनी पार्टी प्रवेश गरेका हुन् । जसले उनलाई फेरि मन्त्री बन्ने बाटो सहज बनाइदिएको छ । 

Global Ime bank

मनाङ (ख) बाट स्वतन्त्र उमेदवारी दिएका मनाङेलाई आफ्नो पक्षमा ल्याउन एमाले र गठबन्धन कसैले पनि उमेदवार उठाएनन् । फलतः उनी निर्विरोध सांसद बने । प्रदेशका अन्य ३५ क्षेत्रमा चुनावी कार्यक्रम चलिरहँदा मनाङे कहिले रामचन्द्र पौडेलको कार्यक्रममा देखिए त कहिले निर्वाचन आयोगको कारबाहीमा परे । 

तर, उनले प्रत्यक्षतर्फको मतपरिणाम हेरिरहेका थिए । एमाले प्रत्यक्षमा १२ सिटमा खुम्चिएको र कांग्रेस एक्लैले गण्डकीमा १८ सिट जितेको छ । माओवादीले पाँच सिट जित्दा उनले स्वतन्त्रबाट चुनाव जितेका थिए । समानुपातिक मतपरिणाम आइनसकेको अवस्थमा उनले गण्डकीमा आफू भन्दा पनि माओवादी निर्णायक हुने देखे । अहिले कांग्रेस र माओवादीसँग प्रत्यक्षमा २३ सिट छ । समानुपातिकमा कांग्रेस ९ र माओवादीको तीन सिट आउँदा गठबन्धनलाई प्रष्ट बहुमत पुग्ने देखिन्छ ।

त्यसको हिसाब गरेर नै उनले गण्डकीमा प्रदेशसभामा 'क्लिन स्विप' बनेको दल एकीकृत समाजवादी रोजे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातबाट माला पहिरिएर समाजवादी प्रवेश गर्दैगर्दा उनको साक्षी जनमत पार्टीका अध्यक्ष सीके राउत बसेका छन् ।

बाराबाट चुनाव जितेका किसान श्रेष्ठसहित समाजवादीका अन्य नेताहरूको उपस्थितिसहितको तस्बिर र विज्ञप्ति सार्वजनिक गर्दै उनले आफू समाजवादी प्रवेश गरेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरूमध्ये एकीकृत समाजवादी रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मिति देखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरूप जनसेवामा सक्रिय रहने सबैमा हार्दिक अनुरोध गर्दछु ।”

गण्डकीका १२ वटा मन्त्रालय गठबन्धनकै सरकार रहेको स्थितिमा कांग्रेस र माओवादीबीच भागबन्डा हुनेछ । त्यो भागबन्डाबाट आफू बाहिरिनुपर्ने विषयलाई उनले 'परिवर्तित परिस्थिति' भनेर संकेत गरेका छन् । यसको अर्थ एकीकृत समाजवादीमा प्रवेश गरेपछि कम्तीमा एउटा मन्त्रालय निश्चित पाउन सकिन्छ र त्यसमध्ये जोडबल गरेको खण्डमा मालदार मन्त्रालय लिने मनाङेको योजना छ ।

मन्त्री बन्ने उनको लालसा यसअगाडि पनि नदेखिएको होइन ।

संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै मन्त्रालयको संख्या बढाएर मनाङेलाई मन्त्री बनाउँदै आफ्नो पक्षमा राख्न खोजेका थिए । सर्वोच्चले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि गण्डकीमा सुरु भएको सरकार फेरबदलमा उनै मनाङे निर्णायक हुने ठानेर पृथ्वीसुब्बाले उनलाई मन्त्री बनाएका थिए । कारण, त्यतिबेला एमाले एक्लैसँग २७ सांसद थिए । जनमोर्चाका तीन जना र दीपक मनाङेलाई मिलाउँदा आवश्यक बहुमत (३१) पुग्ने र सरकार जोगिने ठान्दा स्वतन्त्रबाट निर्वाचित मनाङे मन्त्री बन्न पुगे ।

पछि जनमोर्चा र दुई सांसद रहेको नेपाल समाजवादी पार्टी पनि गठबन्धनको पक्षमा लागेपछि एमाले एक्लो बन्यो । गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चाका ३ र जसपाका २ सांसद गरी ३१ सांसदको अंक थियो । पछि जनमोर्चाका तत्कालीन संसदीय दलका नेताले कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनाउने बेलामा असहयोग गरेपछि उनको पद गुम्यो । गठबन्धनलाई स्पष्ट बहुमतका लागि मनाङेलाई पनि ल्याउने कसरत पहिल्यैदेखि भने नभएको होइन ।

पछि मनाङेले गठबन्धन सरकार बन्दा पनि मन्त्री पाउने निश्चित भएपछि उनले पृथ्वीसुब्बाको क्याबिनेटबाट राजीनामा दिए ।

मनाङे अहिले पनि मन्त्री छन र निर्वाचित भइसकेका छन् । गठबन्धनको मन्त्री बनेपनि उनले सार्वजनिक रूपमा नै आफू एमालेसँग निकट रहने बताएका थिए । तर, एमालेले अपेक्षित मतपरिणाम ल्याउन नसकेपछि गठबन्धनको घटक एमाले फुटेर बनेको एकीकृत समाजवादीलाई मनाङेले रोजेका छन् ।

अघिल्लो निर्वाचनमा मनाङ (ख) बाट एमाले समर्थनमा चुनाव जितेपछि मनाङे ११ असार २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरे । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङेको प्रवेशसँगै ६० सदस्यीय प्रदेश सभामा नेकपाको पक्षमा ४० सदस्य पुगेको थियो ।

पछि नेकपाको मुद्दामा सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदियो । त्यतिबेला एमाले एक्लैले २७ सिट जितेको थियो । तीनजना सांसद रहेको जनमोर्चाको समर्थन पृथ्वीसुब्बा सरकारलाई नै थियो । त्यस्तो अवस्थामा बहुमतका लागि आवश्यक १ सिट मनाङे भए पुग्थ्यो । तर, पृथ्वीसुब्बाले सरकार जोगाउने बेलामा आफैले पार्टी प्रवेश गराएका मनाङेले धोका दिए । उनले आफू स्वतन्त्र रहेको बताउन थाले ।

दुई तिहाइ बहुमत पुग्ने भएकाले नेकपालाई समर्थनमात्र गरेको तर पार्टी प्रवेश गरेको कुनै पनि आधिकारिक सदस्यता रसिद आफूसँग नभएको बताउँदै एमाले कित्ता छाडेर उनले गठबन्धनलाई रोज्न पुगे । उनलाई फकाउन गठबन्धनले मन्त्रीपद निश्चित गरिदिएको थियो ।

मन्त्री पद नजाने भएपछि नै उनले पृथ्वीसुब्बा गुरुङको मन्त्रिपरिषदबाट राजीनामा दिएर गठबन्धनमा मिसिएका हुन् । गठबन्धनमा पनि उनले सुरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी गरेका थिए । तर, पछि उनलाई युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी दिइयो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement