
काठमाडौं । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको दोलखामा सोमबार अन्तिम नतिजा आएसँगै मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको छ ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनबाट कांग्रेस पहिलो दल बन्दा नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो हैसियतमा स्थापित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बन्दा १० सिट जितेको राष्ट्रिय नेकपा एकीकृत समाजवादी दल नबन्ने लगभग पक्का भएको छ ।
निर्वाचन आयोगको अन्तिम परिणामअनुसार ९१ निर्वाचन क्षेत्रमा चुनाव लडेको कांग्रेसले ५७ क्षेत्रमा चुनाव जितेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४४ तथा नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।
कजसपा, राप्रपा र रास्वपाले समान ७ सिट जितेका छन् ।
स्वतन्त्र उमेदवाहरूले ५ स्थानमा जित हासिल गर्दा लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले समान एक–एक सिट जितेका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फ भने मतगणना गरिसकेको छैन । त्यसैले समानुपातिकको सिट बाँडफाँटका लागि अझै केही दिन लाग्नेछ ।
दलहरूले अहिलेसम्म पाएको मत प्रतिशत हेर्दा एमालेले ३४ सिट पाउने देखिन्छ । कांग्रेसले ३२ सिट पाउने सम्भावना छ ।
माओवादीले १५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले १४ तथा राप्रपा ७ र जसपाले ५ सिट समानुपातिकतर्फ पाउने सम्भावना छ । १ सिट प्रत्यक्षमा जितेको जनमत पार्टीले पनि समानुपातिकबाट ५ सिट ल्याउने सम्भावना देखिएको छ ।
यही अनुपातमा परिणाम आएमा कांग्रेस ९० सिटको पार्टी बन्ने देखिन्छ । एमाले ८० तथा माओवादी केन्द्र ३३ सिट तथा राष्ट्रिय स्वतन्त्र पार्टी २१ सिटको बन्ने देखिन्छ ।
राप्रपा संसदमा १४ सिटको पार्टी बन्नेछ । जसपा १२ सिटको बन्नेछ । प्रत्यक्षमा १० सिट जितेको नेकपा एस भने समानुपातिकतर्फको सिट नपाउँदा त्यही १० सिटमा सीमित हुने देखिएको छ ।
दलगत सिट संख्याको हिसाव सार्वजनिक नहुँदै दलहरू भने सरकार गठनको जोडघटाउमा लागिसकेका छन् ।
वर्तमान सत्ता गठबन्धनबाट कसको नेतृवमा सरकार गठन गर्ने भन्ने अन्योल कायमै छ । नेकपा एमाले भने गठबन्धनमा रहेका दलहरूबीच हुने समझदारी–असमझदारीका आधारमा आफ्नो रणनीति बनाउने गरी उनीहरूका गतिविधि नियालिरहेको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । उनीहरूसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि चुनावी गठबन्धन गरेको थियो ।
यी दलले प्रत्यक्षमा पाएको र समानुपातिकमा पाउने सम्भावित सिट संख्याले सहज रूपमा सरकार बन्ने अवस्था देखिँदैन ।
त्यसैले सीके राउतको जनमत पार्टीलाई पनि सत्ता गठबन्धनमै जोडेर सरकार बनाउने कसरत भइरहेको छ ।
मधेस प्रदेशको सत्तामा आफ्नो हिस्सा सुनिश्चित गर्ने पक्षमा देखिएका राउत पनि प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका अन्य नेताहरूसँग भेटघाट गरिरहेका छन् । कांग्रेस नेता बिमलेन्द्र निधिले उनलाई सत्ता गठबन्धनमा जोड्न वातावरण निर्माण गरिरहेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन राउत सहमत भइसकेको दावी गर्छन् ।
“मलाई भेट राउतजी मेरै निवासमा आउनुभएको हो । उहाँ वर्तमान गठबन्धनसँग मिलेर अघि बढ्न इच्छुक हुनुहुन्छ,” आइतबारको भेटपछि प्रवक्ता महतले बाह्रखरीसँग भने ।
तर, सत्ता गठबन्धनमा करिव ९० सिटको बन्ने नेपाली कांग्रेस र ३३ सिटको बन्ने माओवादी केन्द्र दुवै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् ।
कांग्रेसमा भने प्रधानमन्त्रीमा एकजना मात्रैको दाबी छैन । सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा प्रधानमन्त्रीको दौडमा छन् ।
डा. शशांक कोइरालासमेत गगनलाई पख्न र आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।
कांग्रेसका यी सबै आकांक्षीबाट अधिकारिक नेता छान्न संसदीय दलको चुनाव अनिवार्य छ । माओवादी केन्द्रमा भने अध्यक्ष प्रचण्ड एकल आकांक्षी हुन् ।
गठबन्धनमा आवद्ध दलहरू प्रधानमन्त्री, राष्ट्रपति, सभामुखसहित महत्वपूर्ण पदहरू क–कसले लिने भन्ने विषयमा छलफल गर्न सोमबार बालुवाटार बैठकमा छन् ।
चुनावी समीक्षा भनिए पनि यो बैठकमा सरकार गठनको विषयमा छलफल हुनेछ । कांग्रेसमा ३३ सिट पाएको पार्टीले प्रधानमन्त्री दाबी गरेको विषयमा केही असन्तुष्टि छ ।
तर, अघिल्लो सरकारमा कांग्रेसको सरकार नबन्ने अवस्थामा समर्थन जनाएको र देउवालाई चुनाव गर्न सहयोग गरेको भन्दै माओवादी केन्द्र प्रधानमन्त्री दाबी गरिरहेको छ ।
उसले प्रधानमन्त्री दाबी गरे पनि पूरा कार्यकालका लागि भने होइन । आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने उनीहरूबीच विगतमै ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको चर्चा पनि भइरहेको छ ।
त्यसैले कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय गठबन्धनको नभएर कांग्रेस–माओवादी केन्द्रबीचको मात्र मामिला हो ।
छलफल अघि नै कांग्रेस र माओवादीले प्रधानमन्त्रीमा आ–आफ्नै दाबीलाई प्रस्तुत गरिरहेका छन् । कांग्रेसमा प्रवक्ता महतदेखि नेताहरू शेखर कोइराला, रामचन्द्र पौडेल तथा उपसभापति पूर्णबहादुर खड्का पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी सार्वजनिक मञ्चमा गरिरहेका छन् । यता, माओवादीबाट पनि प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा कस्सिएका छन् ।
प्रचण्ड निकट स्रोतका अनुसार कुनै पनि दलले सहजै बहुमत पुर्याउने अवस्था नभएपछि प्रचण्डले आफूलाई सक्रिय बनाएका छन् ।
उनको चाहना सरकारको नेतृत्व पहिले लिने रहेको ती नेताले बाह्रखरीलाई जानकारी दिए । माओवादीले सरकार गठनका लागि सबैसँग सहकार्यको ढोका खुला राखेको उनको भनाइ छ ।
“प्रधानमन्त्री नै हाम्रो पहिलो प्राथमिकता हो । यसका लागि जे–जे गर्नुपर्छ गर्ने भन्ने छ । प्रधानमन्त्री बन्ने अवस्था आए अहिलेको सत्ता गठबन्धनको विकल्पमा पनि जान सकिन्छ,” स्रोतको दाबी छ ।
यही लवजमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार अभिव्यक्ति दिएका थिए ।
तर, त्यसलाई माओवादी केन्द्रले आइतबार नै सच्याइसकेको छ । र, उसले सत्ता गठबन्धनकै पक्षमा रहेको र गठबन्धनको विकल्प खोजी नगरेको बताएको छ ।
“हिजो माओवादीले गठबन्धनको विकल्प खोज्ने भन्दै समाचार आएछ, त्यो हल्ला कहाँबाट आयो थाहा भएन,” माओवादी केन्द्रका महासचिव देव गुरुङले भनेका छन्, “तर, हाम्रो वर्तमान सत्ता गठबन्धनकै सरकार बनाउने भन्ने भएको छ ।”
त्यसो त सत्ता गठबन्धनका उमेदवार बनेका अधिकांश नेताहरू पराजित भएपछि माओवादीभित्रै प्रचण्डलाई सहकार्य तोड्न दबाब छ ।
केही नेताहरूले एमालेसँग मिलेर जानुपर्ने पनि सुझाव दिएका छन् । तर, प्रचण्डले भने औपचारिक रुपमा गठबन्धनविरुद्ध बोलेका छैनन् ।
कांग्रेस–एमाले सरकार गठबन्धन कति सम्भव ?
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने दौडलाई तिव्रता दिँदा वर्तमान गठबन्धन रहन्छ अथवा रहँदैन भन्ने प्रश्न उठेको छ ।
प्रचण्डलाई आफ्ना मातहतका नेताहरूले एमालेसँग गठबन्धन गरेर अघि बढ्न सुझाव दिइरहँदा कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्छ वा गर्दैन भन्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
सात पटक प्रधानमन्त्री बन्ने सपना बोकेका कांग्रेस सभापति देउवा र नयाँ पुस्ताबाट प्रधानमन्त्री बन्नुपर्छ भनिरहेका गगन थापालगायतको द्वन्द्वमा रहेको कांग्रेसले तेस्रो बनेको दल माओवादीलाई सत्ताको वागडोर सुम्पन तयार देखिँदैन ।
त्यसैले एमालेका दोस्रो तहका नेताहरूको आश्वासनका आधारमा प्रचण्ड एमालेसँगै सत्ता साझेदारीको मनस्थितिमा देखिएका हुन् ।
त्यही कुराको अभिव्यक्ति महराबाट सार्वजनिक भए पनि माओवादी केन्द्रले आफूमाथि आउने असुरक्षाको बचाऊका लागि त्यो भनाई सच्याएको स्रोतको दाबी छ ।
प्रचण्डले विकल्प खोजेमा एमालेसँग गठबन्धन गरेर कांग्रेस अघि बढ्ने सम्भावनालाई लिएर चर्चा सुरु भएको छ ।
तर, कांग्रेस नेता रामचन्द्र पौडेल अहिले एमालेसँग सहकार्यको विकल्पको विषयमा कांग्रेसले कुनै पहलकदमी अघि नबढाएको बताउँछन् । उनी प्रधानमन्त्री जुन् दलको बने पनि आजको दिनसम्म नयाँ समीकरणको सम्भावना नरहेको बताउँछन् ।
“जोसुकै प्रधानमन्त्री बन्ला । तर यही गठबन्धन अघि बढ्छ । अहिले हामी दोस्रो विकल्पमा पुगिसकेका छैनौँ । एमालेसँग सरकारका विषयमा छलफल भएको छैन,” पौडेलले बाह्रखरीसँग भने, “गठबन्धन संविधान रक्षा र कार्यान्वयनका लागि बनेको थियो । त्यो उद्देश्य नै पूरा भइसकेको छैन । त्यसकारण यो गठबन्धनको विकल्प अहिले छैन ।”
सत्ता समीकरणकै विषयलाई लिएर चुनावी परिणाम आउन थालेसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक भेट तथा संवाद भएको छ ।
यस्तै नेकपा(एस) अध्यक्ष माधव नेपालसहितको द्विपक्षीय र त्रिपक्षीय संवाद पनि भएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महत गठबन्धनभित्र विश्वास र छलफलको वातावरण सकारात्मक भइरहेको समयमा एमालेसँग सत्ता साझेदारीको विषयमा छलफल गर्नुपर्ने अहिले अवाश्यक्ता नै नभएको बताउँछन् ।
“गठबन्धनभित्रै कुरा सकारात्मक ढंगले अघि बढिरहेको छ । हामीले सरकार बनाउने विषयमा एमालेसँग छलफल गरेका छैनौँ र त्यो विकल्पसम्म पुग्नेगरी सोच बनाएको पनि छैन,” महतले बाह्रखरीसँग भने, “त्यसकारण अहिले यो विषयमा हामी बोल्दा हतारो हुन्छ । यो विकल्पमा हामी अघि बढिसकेको छैनौँ ।”
एमाले भन्छ– दुई दल सरकारमा जाने सम्भावना न्यून
यसबीचमा एमाले–कांग्रेस औपचारिक छलफल भएको विषय बाहिरिएको छैन ।
तर, अनौपचारिक केही छलफल भएको विषयलाई नेतृत्त्वले अस्वीकार गर्न सकेको छैन । चुनाव जित्नेबित्तिकै एमाले अध्यक्ष केपी ओली र नेता प्रकाशमान सिंहबीच संवाद भएको थियो । तर, त्यो संवादलाई शुभकामना आदानप्रदान मात्र भएको सिंहको सचिवालयले जनाएको छ ।
नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली देशमा राजनीतिक संकटको परिस्थिति आएमात्र कांग्रेस–एमाले सरकार बन्न सक्ने बताउँछन् ।
अहिले राजनीतिक जटिलता नभएको र संसद्लाई दह्रो प्रतिपक्षी चाहिने भएकाले एमाले कांग्रेससँग मिलेर सरकारमा नजाने उनको तर्क छ ।
“कांग्रेस राप्रपालगायतका दलसँग देशमा ठूलै राजनीतिक समस्या आइपरेमात्र एकताबद्ध भएर एमाले जान्छ । नभए एमाले र कांग्रेसमध्ये एक प्रतिपक्षमै बस्ने हो,” ज्ञवालीले बाह्रखरीसँग भने, “यी दुई दल एकसाथ सरकारमा जाने सम्भावना अहिलेको राजनीतिक परिस्थितिमा एकदमै न्यून छ । र जानु पनि हुँदैन ।”
एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेल पनि आफूहरू सरकारमा तत्कालै जाने अवस्था नरहेको बताउँछन् ।
सरकार गठनको विषमया एमाले के गर्दै छ भन्ने बाह्रखरीको प्रश्नमा उनले राजनीतिक परिस्थिति मात्र नियालिरहेको उनले बताए ।
“एमालेले अहिले तमाम राजनीतिक परिस्थिति हेर्ने र नजिकबाट विश्लेषण गर्ने कार्य गरिरहेको छ । एमालेले केही गर्दैन अहिले हेरिरहेको छ हेरिरहने छ,” उनले बाह्रखरीसँग भने ।