site stats
बाह्रखरी :: Baahrakhari
देश
महाकालीमा रोकिएन भारतको बलमिच्याइँ, स्थानीयकाे प्रतिराेध तर सरकार माैन

डडेलधुरा । भारतले बंगाबगड क्षेत्रमा महाकालीको बहाव नेपालको दार्चुलातर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ । नेपालमा क्षति हुनेगरी तटबन्ध निर्माण हुन थाले पनि स्थानीय प्रशासन र नेपाल सरकार मौन छ । 

तर, दार्चुलावासीले भने नदीको धार परिवर्तन हुनेगरी तटबन्ध निर्माण नगर्न पटकपटक आवाज उठाउँदै आएका छन् । आइतबार भारतको बलमिच्याइँविरुद्ध स्थानीय बासिन्दा विरोधमा उत्रिए । उनीहरूले भारतलाई तटबन्ध निर्माण रोक्न आग्रह गरे । 

महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेको भन्दै विरोध गर्दा तनाव उत्पन्न भयो । सोही क्रममा दुवै देशका नागरिकबीच ढुंगा हानाहानसमेत भएको छ । ढुंगा लागेर दार्चुलाका प्रेमसिंह कुँवर र पुष्करसिंह घाइते भएका छन् । केही भारतीय नागरिक पनि घाइते भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Darchula Mahakali Bibad vivad 11670223325.jpg

तटबन्ध निर्माण गरेर नदीको धार परिवर्तन भइरहेको भन्दै स्थानीयले आइतबार दिउँसो नेपाल–भारत जोड्ने झोलुंगे पुल अढाइ घण्टा बन्द गरेका थिए । सोमबार बिहान झन्डै दुई घण्टा भारतीय पक्षले पनि झोलुंगे पुल बन्द गरेपछि आवागमन नै बन्द भएको थियो । 

भारतले निर्माण गरिरहेको तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ छ । महाकाली नदीको धार नै नेपालतर्फ फर्किने र त्यसले बर्सातमा ठूलो क्षति हुने भन्दै उनीहरूले एकपक्षीय रूपमा भइरहेको तटबन्धन निर्माणको कार्य रोक्न माग गर्दै आएका छन् । 

दार्चुला प्रशासनले भने समन्वय गरेरै तटबन्धन निर्माण भइरहेको जनाएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले तटबन्ध निर्माण गर्दा समन्वय गर्न भारतीय पक्षलाई आग्रह गरेको बताउँदै भनिन्, “हाम्रो समन्वयमा नै तटबन्ध निर्माणको काम भइरहेको छ । आइतबार दिउँसो केही विवाद भएको थियो, अहिले साम्य भइसकेको छ ।” 

यस्तै, आइतबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको छ । 

नेपालतिर क्षति पुग्नेगरी तटबन्ध निर्माणको कार्य नगर्न प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीले भारतीय पक्षलाई आग्रह गरेको छ । 

Darchula Mahakali Bibad vivad 21670223325.jpg

भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीमा गत वर्षबाटै तटबन्ध निर्माण गरिरहेको छ । एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको हो ।  

कहिले महाकालीमा तटबन्धन निर्माण त कहिले सडक निर्माणका कारण दार्चुलामा सीमा विवाद बढ्दै गएको छ । 

दार्चुलामा रहेको नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भएर तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवरसम्म जाने बाटो निर्माणका क्रममा पनि पटकपटक विवाद हुँदै आएको छ । सोही सडक निर्माण गर्दा भारतमा विस्फोट गरिएको ढुंगा उछिट्टिएर दार्चुलाको ब्यास गाउँपालिका–२ तम्बाकुस्थित बाटोमा हिँडिरहेका ९ वर्षीय पवन महराको मृत्यु भएको थियो । 

०७७ वैशाख २६ गते तत्कालीन भारतीय गृहमन्त्री राजनाथ सिंहले उक्त सडकको ‘भर्चुअल’ उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्