
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) सप्तरीबाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा शून्य भएको छ । ०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ यहाँका चार क्षेत्र जितेको जसपाले योपटक खाता खोल्न सकेन ।
आठ प्रदेशसभा सदस्य क्षेत्र रहेको सप्तरीमा जसपाले प्रत्यक्षतर्फ पाँच सिटमा उमेदवारी दिएको थियो । तर, सबै क्षेत्रमा हार व्यहोर्यो ।
प्रदेशसभा सदस्यतर्फ नेकपा (एमाले)सँगको तालमेलमा जसपाबाट सप्तरी क्षेत्र नम्बर–१ ‘क’मा शैलेन्द्रप्रसाद साह र ‘ख’मा सुदम्बर यादव उमेदवार बनेका थिए ।
यस्तै, सप्तरी–२ ‘ख’मा लक्ष्मण यादव, सप्तरी–३ ‘ख’मा बिदेश्वरप्रसाद यादव र सप्तरी–४ ‘ख’मा अभिषेक यादव उमेदवार बनेका थिए । तर, जसपाका सबै उमेदवार पराजित भए ।
सप्तरी क्षेत्र नम्बर–१ ‘क’बाट एमालेका राजकुमार लेखी, सप्तरी–१ ‘ख’बाट जनमत पार्टीका सकिल मियाँ निर्वाचित भए ।

यसैगरी, सप्तरी–२ ‘क’बाट जनमत पार्टीका सतिशकुमार सिंह र सप्तरी–२ ‘ख’बाट जनमत पार्टीकै महेशप्रसाद यादव निर्वाचित भए ।
सप्तरी–३ ‘क’बाट नेपाली कांग्रेसका मोहम्मद समिम दोस्रोपटक निर्वाचित भए । सप्तरी–३ ‘ख’बाट जनमत पार्टीका शम्भुकुमार साह झिनो मतान्तरसहित निर्वाचित भए ।
सप्तरी–४ ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने दोस्रोपटक निर्वाचित भए । सप्तरी–४ ‘ख’बाट स्वतन्त्र उमेदवार अनिरुद्धकुमार सिंह निर्वाचित भए ।
मधेस प्रदेशमा पाँच वर्ष सरकार चलाएको जसपालाई अहिलेको निर्वाचनमा ठूलो झट्का लागेको छ ।
प्रतिनिधिसभातर्फ जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर–२ बाट फराकिलो मतान्तरसहित जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए । सप्तरी–१ बाट भने जसपाका नवलकिशोर साह निर्वाचित भए ।
०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी हाल (जसपा)ले जितेका मध्ये चार सिटमा जनमत पार्टीले कब्जा जमाएको छ । एक क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।