site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा अन्तर्घातको चर्को आवाज– सँगै हिँडे, भोट दिएनन् !

पोखरा । ‘गठबन्धन छ, स्थानीय तहको निर्वाचन पनि हाम्रैै फेवरमा छ, चुनाव जितिन्छ’ भन्नेमा पहिलोपटक संसदीय निर्वाचन लडेका कास्की कांग्रेस सभापति किशोरदत्त बराल ढुक्क थिए । 
 
जिल्ला सभापतिले गठबन्धनबाट उमेदवार बनेका अन्य दलहरूलाई पनि यही ब्रिफिङ गर्दै आएका थिए । तर, कास्की– १ को निर्वाचन मतपरिणामले भने त्यो पुष्टि गरेन । 

स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका कुनै पनि हालतमा कांग्रेसले पाउनुपर्छ भन्नका लागि कास्की कांग्रेसको नेतृत्त्व गर्दै गएका उनै बराललाई सभापति शेरबहादुर देउवाले दिएको जवाफ पुष्टि भयो ।

देउवाले भनेका थिए, “कास्की कांग्रेसमा सामूहिकता छैन, अन्तर्घात गर्छन् र आफ्नै उमेदवार हराउँछन् ।”

टिकटमा आकांक्षा राख्ने, आफूले टिकट नपाएर अर्कोले टिकट पाएपछि यसले चुनाव जित्यो भने हामीभन्दा माथि पुग्छ भनेर आफ्नै उमेदवार हराउन लाग्छन् भन्ने देउवाको उक्त संकेत सायद किशोरदत्त बरालले पनि बुझेको हुनुपर्छ ।  

उनै किशोरदत्त सभापति रहेको कास्की कांग्रेसले समीक्षा पनि गर्ला । तर, अन्तर्घात भएको र आफ्नै उमेदवारलाई हराउनुपर्छ भनेर जिल्लाका पूर्व पदाधिकारी नै लागेको भन्दै बिहीबार साँझ कास्की कांग्रेसका कार्यकर्ताहरू नाराबाजीमा उत्रिए ।

पोखरा १३ बाँझापाटनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरबाहिर नाराबाजी गरेका हुन् । 

उनी पनि कास्की–१ बाट टिकटका आकांक्षी थिए । तर, टिकट वर्तमान सभापति किशोरदत्त बरालले पाए । 

त्यसपछि केसी बराललाई हराउन सक्रिय भएर लागेको आरोपसहित कास्की कांग्रेसका कार्यकर्ता नाराबाजीमा उत्रिएका हुन् । 

कास्की–१ मा किशोरदत्त बराल र १ (ख)मा दीपक गुरुङ माइला एमालेका उमेदवारसँग पराजित भइसकेका छन् ।

दुवै उमेदवारलाई हराउन लागेको भन्दै केसीविरुद्ध सामाजिक सञ्जालमा पनि आक्रोश पोखिएको छ । 

कांग्रेस मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङले सामाजिक सञ्जालमा नै पूर्व सभापति केसीले किशोरदत्त बराललाई हराउनुपर्छ भनेर आफूलाई घरमा नै बोलाएर भनेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “त्यो बेला चुप लागियो, जो जसरी बोले पनि चुनाव जिताउनु थियो । तर, अहिले भन्नै पर्छ, मलाई घरमै बोलाएर १ घण्टासम्म किशोरलाई हराउनुपर्छ जित्न दिनु हुँदैन भनेर पढाएको । त्यस्तो सयौँलाई भनेको रहेछ । यसको तात्पर्य दुवै उमेदवार हराउनु मैले बुझेँ । साथीहरूलाई सतर्कता अपनाउन भनेँ । तर, साथीहरू त्यस्ता ...को चंगुलमा यसरी फसे कि, उम्कने बाटो नै पाएनन् । नतिजा अहिले हाम्रो सम्मुखमा छ । त्यो ..., पार्टीहित विपरित लाग्ने व्यक्ति अरु कोही नभई कृष्ण केसी भन्ने मान्छे हो । यो सबैलाई थाहा छ, सबैलाई थाहा पनि हुनुपर्छ । कृष्ण केसी ...!”

रामचन्द्र पौडेल निकट केसी अघिल्लो निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । 

मादी गाउँपालिकामा प्रभाव राख्ने केसी एमालेको प्रभावमा परेर आफ्नै उमेदवार हराउन लागेको आरोप छ ।

उनको घरबाहिर गरिएको नाराबाजीमा कार्यकर्ताहरूले भनेका छन्, “अन्तर्घाती मुर्दावाद, अन्तर्घातीलाई कारवाही गर ।”

कार्यकर्ताहरूले उनलाई एमालेसँग आर्थिक लेनदेन गरेको आरोप पनि लगाएका छन् ।

आफ्नै पार्टीका कार्यकर्ताहरूको यो गम्भीर आरोपबीच पूर्वसभापति कृष्ण केसी भने काठमाडौंमा छन् । जिल्ला सभापति किशोरदत्त बराललाई भोट नहाल्न भनेको कुरा उनले घुमाउरो पारामा स्वीकार गरे ।

बाह्रखरीसँगको फोन सम्पर्कमा आएका केसीको भनाइ :

पार्टीभित्रको टिकट पाउने आकांक्षी म पनि थिएँ । तर, टिकट मैले नपाएर वर्तमान सभापतिले पाइसकेपछि पार्टीको निर्णयलाई शिरोधार्य गर्दै अगाडि बढेको हुँ । 
 

तर, चुनाव हारेपछि मेरो घरमा ढुंगामुढा गरिएको छ । 
 

कार्यकर्ताहरूले लगाएको वैचारिक आरोप फेस गर्न म तयार छु । तर, जुन आर्थिक लाभ लिएर उमेदवार हराएको भनेका छन्, त्यसको चाहिँ प्रमाण दिनुपर्छ ।
 

मैले मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङलाई घरमा बोलाएकै हो । 
 

घरमा बोलाएर हाम्रो जो सभापति हुनुहुन्छ, उहाँ उमेदवार पनि हुनुहुन्छ । उहाँ उमेदवार मात्रै होइन, समग्र गठबन्धनको नेता पनि हो । तर, मैले के सुनेँ भन्दा उहाँले आफूलाई मात्र भोट माग्ने र त्यसका लागि एमालेसँग पनि मत क्रस गर्ने गरी छलफलमा हुनुहुन्छ । 
 

यही कुरा मैले यामजीलाई बताएको हुँ । यदि यो सत्य हो भने कांग्रेसभित्र पनि गुट छन्, हाम्रो सहयोग किशोरजीलाई हुँदैन भनेर मैले भनेकै हुँ । यो कुरा उहाँले फेसबुकमा लेख्नुभएछ, नलेखेको भए पनि मैले पार्टीको बैठकमा भन्नेथिएँ ।

मैले किशोरजीको हकमा त्यस्तो भने पनि दीपक गुरुङ माइलालाई कुनै हालतमा जिताउन लाग्नुपर्छ भनेर भनेको हुँ ।
 

जसरी मलाई उमेदवार हराउन लाग्यो भनेका छन्, त्यो शतप्रतिशत गलत हो । एउटा गठबन्धनको नेताले एउटा चुनाव हार्दा जिल्लाका बाँकी क्षेत्रका उमेदवारको बारेमा  किन सोच्नुभएन । ती पराजयको जिम्मा पनि उहाँले नै लिनुपर्छ ।
 

कास्की–१ को प्रतिनिधिसभा र प्रदेशसभा मात्रै होइन, प्रदेश २ को प्रतिनिधिसभा र प्रदेश (क), कास्की–३ को प्रतिनिधिसभा र प्रदेश (क) मा पनि गठबन्धनका उमेदवार पराजित भएका छन् । यी सबै क्षेत्रमा हार्नुको कारण अन्तर्घात नै भएको ठहर कार्यकर्ताहरूको छ ।

कास्की–२ (क) मा गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उमेदवार थिए । आफ्नो उमेदवार नभएपछि कांग्रेसका मतदाताहरूले नै राप्रपामा भोट हालिदिए ।

स्थानीय तहको मतपरिणाम र पाँच दलको गठबन्धनका कारण ३ प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा जित्ने आँकलन गठबन्धनको थियो । तर, कास्की–१ मा जस्तै अन्तर्घातका स्वरहरू अहिले अरु क्षेत्रमा पनि सुनिन थालेका छन् ।

गठबन्धन भए पनि प्रतिनिधिसभाका सबै उमेदवार एमालेले जित्यो भने प्रदेशका ६ मध्ये २ वटा क्षेत्रमात्र जोगाउन सक्यो । प्रदेशका क्षेत्र पनि कांग्रेसका उमेदवार भएका क्षेत्रमात्रै जितेका छन् ।

अघिल्लो निर्वाचनमा जताततै कांग्रेसले हार व्यहोर्दा पनि कास्की–२ (ख) मा जित निकालेका विन्दुकुमार थापा विजयी भएका छन् । कास्की–३ (ख) मा कांग्रेसकै प्रकाश बराल विजयी बन्दा अन्य क्षेत्र सबै एमालेले कब्जा गर्यो । 

कास्की–१ (क) मा एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीले माओवादीका दीपक कोइरालालाई पराजित गरे । (ख) मा एमालेका वेदबहादुर गुरुङले कांग्रेसका दीपक गुरुङ माइलालाई हराए ।

कास्की–२ (क) मा गठबन्धनका तर्फबाट माओवादी उमेदवार विश्वप्रकाश लामिछानेलाई हराउँदै एमालेका भीम कार्की निर्वाचित भए ।

कास्की–३ (क) मा माओवादीका दुर्गादत्त भण्डारी एमालेका गणेशमान गुरुङसँग पराजित भए ।

प्रतिनिधिसभातर्फ १ मा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, २ मा एमालेकै विद्या भट्टराई र ३ मा पनि एमालेकै दामोदर वैरागीले चुनाव जिते ।

कांग्रेस सभापति किशोरदत्त बराल, नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल र गण्डकीका बहालवाला अर्थमन्त्री तथा माओवादीका उमेदवार रामजीप्रसाद बराल फराकिलो मतान्तरले पराजित भए ।

हार व्योहोरेपछि समीक्षा, गुट, उपगुट, अन्तर्घात र आक्रोशमा गठबन्धन रुमल्लिरहँदा एमालेले भने विजय जुलुस निकालेको छ ।

गठबन्धनभित्र कांग्रेसलाई लाग्ने गरेको आरोप हो, ‘कांग्रेसले आफ्ना उमेदवार भएनन् भने भोटै हाल्दैनन्, उमेदवार पाएपछि गुट हेर्छन् ।’ कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट पनि यो कुरा सत्य रहेको स्वीकार गर्छन् । गठबन्धनका उमेदवारले पाएको मतपरिणाम हेर्दा पनि आफूले त्यस्तो पाएको उनले बताए ।

गठबन्धनले सबै ठाउँमा जित्न नसक्नुलााई उनले भूगोल, उमेदवार छनोट, रणनीति, व्यवस्थापनलगायत क्षेत्रबाट हेर्नुपर्ने र त्यसमा कमजोरी भएको उनी बताउँछन् ।

“गठबन्धनभित्र एउटै वडाका दुईवटा साथीहरूले टिकट पाउनुभएको छ,” उनले भने ।

उनले गरेको संकेत कास्की–१ मा हो । जहाँ पोखरा १३ मा बस्ने जिल्ला सभापति किशोरदत्त बराल र सोही वडाका दीपक गुरुङ माइलाले कांग्रेसबाट टिकट पाएका थिए । दुवै उमेदवारले एउटै वडाबाट टिकट पाउँदा भूगोलको असन्तुष्टि देखिएको उनको भनाइ छ ।

यो क्षेत्रबाट उनै कृष्ण केसी आकांक्षी थिए । टिकट पाउनुपूर्व कास्की–१ मा कृष्ण केसीले पाए जित्ने चर्चासमेत थियो ।

स्थानीय तहमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले पोखराको मेयरको टिकट पाएर जिते । 

उपमेयर पाएको कांग्रेसकी कोपिला रानाभाट पराजित बनेकी थिइन् । कास्की–२ अहिले पनि समाजवादीको भागमा पर्यो । उमेदवार श्रीनाथ बरालले स्थानीय तहमा झैँ भोट आउने र चुनाव जितिनेमा विश्वस्त थिए ।

तर, उनी प्रतिस्पर्धामा तेस्रो भए । असन्तुष्ट मतदाताले श्रीनाथलाईभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कँडेललाई बढी भोट दिए ।

सचिव रानाभाट उमेदवार छनोटमा कमजोरी हुनु पनि चुनाव हार्नुको कमजोरी रहेको बताउँछन् । 

गण्डकी सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटको निकै विरोध भयो । चुनावी सम्मुखमा आएर कर घटाउने निर्णयमा निर्वाचन आयोग बाधक बन्यो । एकै वर्षमा ३२८ प्रतिशत कर बढेको भनेर चर्को आलोचना भइरहँदा उनै गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराललाई गठबन्धनले कास्की–३ मा अगाडि बढायो । तर, फराकिलो अन्तरका साथ एमालेका दामोदर वैरागीसँग पराजित हुन पुगे ।

‘कर मन्त्री’को उपमा पाएका बराल हार्नुको एउटा कारण यो पनि हुनसक्ने गठबन्धनका नेताहरूको भनाइ छ ।

यसबाहेक त्यसमाथि माओवादीभित्रै पनि ठूलो असन्तुष्टि थियो । सहिद परिवारकी अनिता भूर्तेलले त बागी उमेदवारी दिएकी थिइन् । जसको फाइदा एमालेलाई हुन पुग्यो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro