site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा नयाँ शक्ति जन्मिएको हो ? ‘विखन्डनकारी’देखि ‘माननीय’सम्म बनेका सीके 

सप्तरी । २८ भदौ ०७१ मा मोरङको रंगेलीबाट पक्राउ परेपछि डा. सीके राउतलाई धेरैले विखन्डनकारीको रुपमा चिने । त्यसबेला मधेसमा चलिरहेको मधेसवादको राजनीतिबाट असन्तुष्ट पक्षको उनी आकर्षणको केन्द्रमा रहे ।

राउत धेरैपटक पक्राउ परे । राज्यविरुद्धको अपराधमा मुद्दा खेप्दै जेल बसे । त्यसबेलाका मधेस केन्द्रित राजनीति गर्ने दल र तीनका नेताहरूले राउतलाई पटक–पटक पक्राउ गरेर सरकारले नै उनलाई हिरो बनाउन लागेको भन्दै आपत्ति जनाए । त्यसबेला विखण्डनकारी, अमेरिकी एजेण्टलगायत उनले आरोप खेपे ।

स्वतन्त्र मधेसको एजेन्डा बोकेर अगाडि बढेका राउतले एकाएक ‘यू टर्न’ गर्दै २४ फागुन ०७५ मा केपी ओलीको सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा फर्किए । ५ चैत ०७५ मा जनमत पार्टी गठन गरे । 

Himalayan Bank
Dabur nepal
Agni Group

मधेस केन्द्रित राजनीतिमा छाएका उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीले डा. राउत र उनको जनमत पार्टीलाई मधेसको राजनीतिमा महत्त्व दिएनन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टी अध्यक्ष डा. राउतसँग प्रतिष्पर्धामा उत्रिँदा यादवले भनेका थिए, “मेरो कसैसँग प्रतिस्पर्धा नै छैन ।” 

Global bank

मंसिर ७ मा सार्वजनिक भएको सप्तरी–२ को निर्वाचन परिणामअनुसार डा. राउतले १८ हजार ६३ को फराकिलो मतान्तरले जसपा अध्यक्ष यादवलाई पराजित गरे । राउत ३५ हजार मत ल्याएर विजयी भए । यादवले १६ हजार ९७८ मत्रै मत पाए । 

मधेसमा नयाँ राजनीतिक कोर्षको सुरुवात

सप्तरी–२ वाट जनमत पार्टी अध्यक्ष डा. राउतको जितसँगै मधेसमा नयाँ राजनीतिक कोर्षको सुरुवात भएको छ । यस क्षेत्रको दुवै प्रदेशसभा पनि जनमतले जित्यो । प्रदेशसभा (क) मा मधेस प्रदेशका अर्थमन्त्री जसपाका उमेदवार शैलेन्द्र साहलाई पराजित गर्दै जनमतका उमेदवार सतिसकुमार सिंहले जित हात पारे । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।

प्रदेशसभा (ख) बाट नेकपा माओवादीका उमेदवार एवं पूर्वसिंचाईमन्त्री उमेशकुमार यादवलाई पराजित गर्दै जनमतका उमेदवार महेशप्रसाद यादव विजयी भए । 

०७४ को चुनावमा नेकपा माओवादीबाट उमेदवार भएका महेशलाई यसपटक टिकट नदिँदा चुनावकै मुखमा जनमत पार्टीमा प्रवेश गरी उमेदवार बनेका हुन् । सप्तरी–२ मा जनमत पार्टीले ‘क्लिन स्वीप’ नै गरे ।

सप्तरी ३ (ख) मा ०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा चुनाव जितेका जसपाका विदेश्वरप्रसाद यादवलाई झिनो मतान्तरले पराजित गर्दै जनमतका उमेदवार शम्भुकुमार साह विजयी भएका छन् । 

मधेसको मुटु मानिने सप्तरी जिल्लामा जनमतको यो उपस्थितिले यहाँ नयाँ राजनीतिक कोर्षको सुरुवात भएको छ ।

जनताले पुरानै इतिहासलाई निरन्तरता दिए

०४८ को आम निर्वाचनमा मधेसको मुद्दा लिएर नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष गजेन्द्रनारायण सिंह पहिलो पटक सप्तरी–२ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए । 

सिंह ०५१ को मध्यावधिमा पनि यसै क्षेत्रबाट चुनाव जिते तर ०५६ को निर्वाचनमा नेपाली कांग्रेसका रामकुमार चौधरीसँग १७ मतले पराजित हुन पुगे । 

०५६ यता कुनै पनि चुनावमा दोहोरिएर यस क्षेत्रबाट कसैले चुनाव नजितेको इतिहास छ ।  उपेन्द्रको पराजय र सिके राउतको जित पनि सोही इतिहासको निरन्तरता हो ।

अस्तित्व र औचित्य

०४६ सालमा मधेसको एजेन्डा स्थापित गर्न नेपाली कांग्रेको राजनीतिबाट अलग्गिएर नेपाल सद्भावना परिष्द गठन गरेका गजेन्द्रनारायण सिंह २०४८ को आम निर्वाचनमा नेपाल सद्भावना पार्टी बनाएर चुनावमा होमिए । 

उनलाई सप्तरीका जनताले दुई पटक चुनाव पनि जिताए । 

तर, ०५६ को आम निर्वाचनमा तेस्रो पटक उनी चुनाव हारेपछि नेपाल सद्भावना पार्टीका आस्तिव नै संकटमा पर्‍यो । 

०६३ को मधेस आन्दोलनबाट तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको उदय भएपछि विस्तारै मधेसको राजनीतिमा नेपाल सद्भावना पार्टीको अस्तित्व पनि समाप्तिको बाटोमा लाग्यो । 

छोटो समयमै मधेसमा ‘हिरो’ बनेका उपेन्द्र ०६४ को संविधानसभा निर्वाचनदेखि ०७४ को आम निर्वाचनसम्म मधेसमात्रै होइन देशकै राजनीतिलाई तरंगित बनाए । 

सत्तामा पुगेर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाले । 

तर, लगातार १५ वर्षसम्म सत्ता, आन्दोलन, जुट र फुटको राजनीतिलाई निरन्तर जारी राखे । उनको कार्यशैलीप्रति मधेसमा असन्तुष्टि बढ्दै गयो । ०७९ को आम निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेपछि पार्टीभित्रै र आम मधेसी जनतामा बढेको असन्तुष्टिका कारण यादव चुनावमा डा. राउतसँग फराकिलो मतान्तरले पराजित भए । 

०७९ को आम निर्वाचनबाट मूलधारको राजनीतिमा उदाएका सीके राउत र उनले नेतृत्व गरेको जनमत पार्टीका कारण जसपाको पनि मधेसमा अस्तित्व र औचित्य समाप्त हुने खतरा बढेको विश्लेषकहरू बताउँछन् । 

“मधेसी जनाधिकार फोरम उदाएपछि नेपाल सद्भावना पार्टीको अस्तित्व र औचित्य समाप्त भयो । जनमत पार्टीको उदयपछि जनता समाजवादी पार्टीको अस्तित्व र औचित्य समाप्त नहोला भन्न सकिन्न । मधेसको राजनीतिमा ३० वर्ष भित्र तीनवटा शक्तिको उदय भयो । एकले अर्कोलाई सिध्याएको जगजाहेर छ,” एक नेताको टिप्पणी छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय