
वासिङटन । अमेरिकाको भर्जिनिया राज्यको एउटा वालमार्ट सुपरमार्केटमा त्यहीँ कार्यरत एक कर्मचारीले गोली चलाउँदा ६ जनाकाे मृत्यु भएकाे छ । अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ ।
चेसापिकेस्थित वालमार्टको शाखामा नाम नखुलाइएका ती कर्मचारीले आफ्ना सहकर्मीहरूलाई गोली चलाएपछि मंगलबार राति प्रहरी तत्काल घटनास्थल पुगेको थियो ।
अन्त्यमा आक्रमणकारीले आफैँमाथि गोली हानेका थिए । गोली लागेर उनको पनि मृत्यु भएको छ । उनले त्यसरी आक्रमण गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले यस घटनालाई लिएर अन्य कोही व्यक्तिको खोजी गरेकाे छैन ।
स्थानीय समयअनुसार राति १० बजेर २२ मिनेट जाँदा प्रहरीलाई घटनाको पहिलो जानकारी प्राप्त भएको थियो । प्रहरी दुई मिनेटमै घटनास्थल पुगेको थियो । प्रहरी प्रमुख मार्क सोलेस्कीले पत्रकार सम्मेलनमा भनेका छन्, "अपराधस्थलको प्रशोधन गर्न थुप्रै दिन लाग्न सक्छ । संघीय जाँचबुझ ब्युरो (एफबीआई) को सहयोगमा अनुसन्धान भइरहेको छ ।"