
साउन महिनाको अन्तिम सोमबार । पशुपति मन्दिरमा पूजा गर्न आउने महिला भक्तजनहरूको निकै भीड थियो । तारा हातमा पूजाथाली लिएर भक्तजनको त्यो भीडमा उभिइरहेकी थिई । भक्तजनको लाम छिटो अगाडि नसरेकोमा उसलाई दिक्क लागिरहेको थियो र मनमा चिन्ता पनि ।
चिन्ता यसकारण कि उसको लोग्नेले ‘मलाई दश बजे नै अफिस पुग्नुछ, छिटै आउनु’ भनेको थियो र ऊ आफूचाहिँ सडक किनारामा मोटरसाइकल अड्याएर मोबाइलमा गेम खेलिरहेको थियो ।
आधा घण्टा नै भइसकेको थियो, तारा लाममा उभिएकी । कतिखेर पालो आउला र चाँडै जाउँला भन्ने आशामा उभिइरहेकी थिई । यसबीच उसको लोग्नेले तीनपटक तारालाई मोबाइलमा फोन गरिसकेको थियो ।
‘ए तारा, मलाई चिन्यौ ?’ अकस्मात् वन्दनाले ऊनजिकै आएर भनी ।
ताराले आवाज आएतिर फर्केर हेरी र आश्चर्यभावमा सोधी, ‘लौ, वन्दना हौ नि ! किन बिर्सन्थेँ । अरूलाई सम्झेको र तिमीलाई बिर्सेको उस्तैउस्तै हो । त्यति निष्ठुरी त छैन म । जीवनमा मेरो मिल्ने यौटी साथी भनेकै तिमी हौ । मैले सम्झिने पनि तिमी नै भएर होला, बेलाबेलामा तिम्रो सम्झना आइरहन्छ । कुरा गर्न तिम्रो फोन पनि मसँग भएन । के छ हालखबर ? सन्चै छ्यौ नि ?’ ताराले एकैपटक धेरै कुरा गरी ।
‘सन्चै छु । कलेजबाट छुट्टिएपछि कताकता भइयो । झन्डै चार वर्षपछि आज भेट भयो, त्यो पनि पशुपतिको मन्दिरमा । हाम्रो यो भेटलाई उनै बाबाले जुराइदिएको हो कि क्या हो !’ वन्दनाले हाँस्दै भनी ।
‘होला, बाबाकै कृपा भन्नुपर्ला अब । यतिका वर्षपछि भेट हुन जुराएको रहेछ । हामी चेलीलाई यस्तै हो । बिहे गरेर लोग्नेको घर गएपछि कता हो कता । घरको सुसेधन्दाले फुर्सद नहुने ।’
यति भन्दै ताराले वन्दनाको अनुहारमा निकै नियालेर हेरी । ऊ पहिलेजस्तै हँसिली र खुसी देखिन्थी । शरीर पनि उस्तै । पहिलेझैँ अहिले पनि उस्तै पातलो जिउडालकी नै थिई ।
‘कति बेला आएको ?’ वन्दनाले सोधी ।
‘म आएको त आधा घण्टाभन्दा बढी नै भइसक्यो, तर खोइ लाम अगाडि सर्दै सर्दैन । हेर न, पछि आएर ढोकामा घुइँचो गर्ने कति छन्, लाजसरम पचेकाहरू । आफूलाई ढिला भइसक्यो । यहाँसम्म आएपछि दर्शन नै नगरी कसरी जानु । उता बुढो रिसाएर बमबम भएको होला ।’ ताराले खिन्न हुँदै भनी ।
‘यहाँ यस्तै हो । हामी नेपालीमा नागरिक चेत अर्थात् सिभिक्स सेन्स भन्छन्, त्यो नै छैन । आफूलाई मात्र भए पुग्यो । मानिस लाममा बसेको देख्दादेख्दै ढोकामा गएर झुम्मिन्छन् । न अनुशासन छ न त नैतिकता नै । त्यसो त अनुशासनहीन मान्छेमा लाजसरम भन्ने हुँदै हुँदैन । स्वभाव नै एकलकाँटे हुन्छ ।’ भीडमध्येकै एकजना अधबैँसे आइमाईले भनी ।
‘ठिक भन्नुभयो तपाईंले । एक्काइसौँ शताब्दीमा पनि हामीमा अझै जंगली स्वभाव गएको छैन ।’ ऊसँगै पछाडि उभिएकी अर्की अधबैँसेले उसको कुरामा सहमति जनाउँदै भनी ।
यसैबीच, ताराभन्दा दुईजना अगाडि उभिएकी आइमाईको पूजाथाली नै बाँदरले झम्टेर भुईँमा खसाली दियो । एक छिन त्यहाँ खैलाबैला नै भयो । लाममा उभिएकाहरू सबैले आ–आफ्नो पूजाको थाली र टपरीलाई सकेसम्म बाँदरबाट बचाउने प्रयास गरे ।
‘मर्न नसकेको डाम्नो ! झम्टिन आइपुगेछ । अब मैले केले पूजा गर्नु ?’ भन्दै त्यो महिलाले बाँदरलाई गाली गरी र खसेको फूल, धूप, बत्ती टिप्न थाली । अक्षता र अबिर त सबै भुईँभरि छरपस्ट छरिएको थियो । बाँदर भने अलिकति पर गएर यताउति पल्याकपुलुक हेर्दै केरा खाँदै थियो ।
‘यहाँ यस्तै हो, बाँदरबाट पूजाको सामान जोगाउनै मुस्किल हुन्छ । बाँदर कताबाट आउँछ, आउँछ । फलफूल त देखाउनै हुन्न, झम्टिहाल्छ ।’ एउटी बुढीले भनी । उसले भनेको कुरा सत्य थियो । किनकि, प्लास्टिकको झोलामा राखेको फलफूल टाढैबाट बाँदरले देख्थ्यो र पछाडिबाट झम्टेर तानिहाल्थ्यो ।
‘तिमी कहाँ बस्छ्यौ नि ?’ ताराले सोधी ।
‘नयाँबजारमा ।’ वन्दनाले छोटो उत्तर दिँदै सोधी, ‘अनि तिमी नि ?’
‘हामी अहिले सीतापाइलामा बस्छौँ । दुई वर्ष भयो त्यतातिर सरेको । घर फापेन भन्छन् सासू–ससुरा ।’ ताराले आफ्नो पूजाथालीलाई आफैँले ओढेको सलले छोप्दै भनी । किनभने, अहिले अर्कै ढेडुबाँदर उनीहरू भएतिरै आउँदै थियो ।
‘कतै काम पनि गर्ने गरेको छ कि ?’ वन्दनाले सोधी ।
‘अहिले काम गरेको छैन । पहिले एउटा सहकारीमा दैनिक पैसा उठाउने काम गर्थेँ । त्यसको सञ्चालक झन्डै तीन करोड रुपैयाँ खाएर फरार भयो । त्यसपछि घरमै बस्छु । कामधाम केही छैन । बुढाको सानोतिनो जागिर छ, प्राइभेट कम्पनीमा । धेरथोर घरभाडा पनि आउँछ । त्यसैबाट गुजारा चलाउने हो । दिनभर यसै बस्ने ।’ ताराले यताउति हेर्दै सोधी, ‘तिम्रो के छ नि ?’
‘म एउटा निजी प्राइमरी स्कुलमा पढाउँछु । बुढा सरकारी अफिसमा सुब्बा छन् । उनको तलबले मात्र पुग्दैन । केटाकेटीहरूलाई पनि पढाउनैपर्छ । अर्को वर्षदेखि आफ्नै छोरीलाई पनि प्ले गु्रपमा नराखी भा’छैन ।’ वन्दनाले बेलीविस्तार लगाई ।
‘ए ! कतिजना छन् केटाकेटी ? आज स्कुल जान पर्दैन ?’
‘तीनजना छन् । आज बिदा लिएकी छु । यो अन्तिम सोमबारको व्रत पूरा गर्नुपर्यो नि ।’ वन्दनाले भनी ।
‘म पनि हरेक वर्षको साउने सोमबारको व्रत बस्छु । यो वर्ष त पाँच सोमबार परेको छ । छुटाउनै भएन ।’ तारा भन्दै थिई । त्यत्तिकैमा ताराको मोबाइलमा फेरि पनि घण्टी बज्यो ।
‘बुढाले पनि फोन मात्र गरेर हैरान पारिसके ।’ ताराले भनी, ‘हेलो, अब पालो आउनै लाग्यो । अब पाँच मिनेटजति अझै लाग्छ । म ढोकामा नै पुग्न लागेँ । छिटै आउँछु ।’
‘... ...’
‘हुन्छ, हुन्छ... हस् ।’ ताराले मोबाइललाई ब्यागमा जतनसाथ राखी । बिजुलीको खम्बामा चढेर बसेको बाँदरचाहिँ ताराले ब्याग खोलेर मोबाइल राखेको हेरिरहेको थियो ।
मन्दिरको ढोकाअगाडि मान्छेको भीड देखेर एकजना स्वयंसेवक आयो अनि भीडलाई हटाउँदै भन्न थाल्यो, ‘यहाँ ढोकामा यसरी भीड गर्नु भएन । तपाईंहरूभन्दा पहिले आएकाहरू अघिदेखि लाममा उभिएका छन् । तपाईंहरू पनि उतै लाममा गएर बस्नुस् ।’
स्वयंसेवकले त्यति भनेपछि केही भक्तजन लाममा उभिन पछिल्तिर गए । केही भने अझै अटेर गरेर त्यहीँ उभिइरहे । उनीहरू स्वयंसेवक कति बेला त्यहाँबाट जाला र उसको आँखा छलेर फेरि पनि ढोकामा जाउँला भन्ने दाउमा अटेर गरेर उभिएका थिए ।
भक्तजनको लाम अघि बढ्दै गरेको मौका पारेर वन्दना पनि ताराको पछाडि लुस्स बसी । पछिल्तिरबाट ‘लाइन मिच्नु भएन’ भन्ने आवाज आयो । वन्दनाले त्यसलाई नसुनेजस्तो गरी । उसलाई आवाज आएतिर हेर्न असजिलो लाग्यो । एउटी बुढी आइमाई फतफताउँदै थिइन् ।
केही समयपछि तारा र वन्दनाले मन्दिरभित्र पसेर सँगसँगै महादेवको दर्शन गरे । पूजाआजा गरे । फूलप्रसाद लिएर बाहिर आए । अब गौदान गर्ने काम अझै बाँकी थियो ।
साउन महिनाको प्रत्येक सोमबारको व्रत बसेपछि अन्तिम सोमबारका दिन गौदान गर्ने चलन थियो । गौदान गर्ने ठाउँमा पनि महिलाकै भीड थियो । सबै हतारिएका देखिन्थे ।
‘म घरमै गएर गौदान गर्छु । छिमेकमै एक जना बुढा बाहुन छन्, उनैले गौदान गराउँछन् । मेरो बुढालाई अफिस जान ढिला भइसक्यो । म जान्छु ।’ ताराले वन्दनासँग उसको मोबाइल नम्बर लिएर फटाफट गई ।
तारा गएपछि वन्दनाले पालो पर्खेर नै गौदान गरेर घर गई ।
आज अचानक तारासँग भेट भएकोमा ऊ खुसी थिई । कलेजबाट अलग भएपछि उनीहरू दुवैजनाको यो नै पहिलो भेट थियो ।
अपराह्न चार बजेतिर ताराले वन्दनालाई फोनमा भनी, ‘कति वर्षपछि भेट भएर पनि तिमीसँग दुःख–सुखका केही कुरा गर्न पाइएन । बुढाको कारण म आज ज्यादै हतारमा थिएँ । अब कहिले भेट्ने ?’
‘मलाई शनिबार फुर्सद हुन्छ । अरू दिन केटाकेटी हेर्नुपर्छ । सधैँ बाहिर निस्कन पाउँदिनँ । शनिबार भयो भने केटाकेटी बुढालाई जिम्मा लगाएर दुई–चार घण्टा बाहिर निस्कन सक्छु ।’ वन्दनाले सम्भावना व्यक्त गरी ।
‘हुन्छ, त्यसो हो भने आउँदो शनिबार भेटौँ । मेरो बजारमा किनमेल पनि गर्नुछ ।’ ताराले प्रस्ताव राखी ।
शनिबार तारा र वन्दना दुवैजनाको भेट भएपछि उनीहरूले सँगसँगै बजारमा किनमेल पनि गरे । झन्नै चार वर्षपछि भेट भएका उनीहरू एकार्कालाई आफ्नो कथा–व्यथा सुन्न सुनाउन चाहन्थे ।
‘तिम्रा केटाकेटी तीनजना छन् भन्यौ, कति छिटोछिटो पाएकी ? वर्षौँटे हुन् कि क्या हो ?’ ताराले सोधी ।
‘अहिलेको जमानामा पनि कसैले वर्षौँटे सन्तान जन्माउँछन् र ? मेरोतर्फबाट एउटी छोरी मात्र हो । बाँकी दुईजनामा छोरी र छोराचाहिँ सौताका हुन् ।’ वन्दनाले भनी ।
‘सौताका ?’ ताराले आश्चर्यपूर्वक वन्दनाको अनुहारमा हेर्दै सोधी ।
‘हो, किन ढाँट्नु ।’ वन्दनाले हाँस्दै ताराको अनुहारमा हेरी ।
‘ए ! भनेपछि तिमी सौतामाथि गएकी ?’ ताराले सोधी ।
‘यसै गएकी होइन, बिहे नै गरेर गएकी ।’ वन्दना फेरि पनि हाँसी ।
‘बिहे नै गरेर गएकी ! अहिले पनि दुइटा बिहे गर्न पाइन्छ ? सौताले मुद्दा हालिन् त ?’
‘केको मुद्दा हाल्नु, बिचरा यो संसारमा भए पो । मोटरसाइकल दुर्घटनामा परेर बितेकी रहिछ । बुढा आफैँले चलाएका रहेछन्, मोटरसाइकल । माइक्रोबसले हल्का धक्का दिएछ र दुवैजना पछारिएछन् । बुढालाई भने घुँडामा सानोतिनो चोटबाहेक केही पनि भएन छ । बुढीको चाहिँ टाउको नै फुटपाथमा गएर बजारिएपछि ब्रेन हेम्रेज भएर तीन महिनापछि निधन भएछ ।’ वन्दनाले बेलीविस्तार लगाई ।
वन्दनाको कुरा सुनेर ताराले सोधी, ‘बिहे भएको कति भयो ?’
‘तीन वर्ष पूरा भयो ।’
‘अनि तिम्रो नि तिम्रो, कतिजना भए केटाकेटी ? मैले अस्ति पनि सोध्ने मौका नै पाइनँ । तिमी पनि निकै हतारमा थियौ ।’ वन्दनाले भनी ।
‘अहिलेसम्म भएको छैन ।’ ताराले निराश हुँदै भनी ।
‘कति वर्ष भयो बिहे भएको ?’
‘मेरो पनि बिहे भएको त तीन वर्ष नाघिसक्यो ।’ ताराले भनी ।
‘ए, किन त ? अब त धेरै ढिला भएन र ? अहिले पनि नपाए कहिले पाउने ? कहिले हुर्काउने ? कहिले बढाउने ? अझ पढाउने कुरा त छँदै छ । त्यो पनि जति ढिला गर्यो उति गाह्रो हुन्छ । छोराछोरी बेलैमा पाएपछि हुर्कंदै जान्छन् ।’
‘हो, तिमीले भनेको ठिक हो । तर, के गर्ने ?’ ताराले निराश हुँदै भनी ।
‘किन के गर्ने भनेको ? मैले त तिम्रो कुरै बुझिनँ है । सन्तान पाउने कुरामा पनि तर भन्ने कुरा हुन्छ र ?’
‘त्यस्तै छ । तिमीले भनेको जस्तो मेरो सहज अवस्था छैन । सासू–ससुराले त अब भन्न पनि छोडिसके । थाकिसके यस विषयमा ।’ यति भनेपछि ताराले यताउता हेर्र्दै वन्दनाको कानमा केही कुरा खुसुक्क भनी ।
‘साँच्चै हो ! त्यस्तो पो ?’ वन्दनाले आश्चर्य मान्दै ताराको अनुहारमा जिल्ल परेर हेरी ।
‘हो नि वन्दना । मनको बह कतै न कह भन्छन् । यस्तो कुरा सबैसँग भन्दै हिँड्नु पनि भएन । अरूहरूले जे जति कुरा काटे पनि मेरो आफ्नो पिर आफैँसँग छ । किन चाउरिस मरिच आफ्नै रागले भनेझैँ भएको छ, मलाई पनि । दुनियाँको अगाडि कतिञ्जेल ढाँट्नु ? आफन्त, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबैले... धेरै के भन्नु अब ।’ यति भनिसक्दा नसक्दै ताराको आँखामा आँसु रसाइसकेको थियो । वन्दनाले त्यो प्रस्टै देखी ।
ताराको कुरा सुनेर वन्दनालाई पनि नराम्रो लाग्यो । उसको मन खिन्न भयो । नारीको व्यथा नारीलाई नै थाहा हुन्छ । उसले तत्काल केही भन्न सकिन ।
त्यसो त वन्दना स्वयंले पनि भोगेकी हो, त्यो व्यथा । तर, उसले समयमा नै आफूलाई त्यसबाट छुटकारा दिलाई । घरपरिवारले पनि उसको साथ दिए । दुनियाँले के कुरा काट्छ भन्नेसँग उसलाई मतलब थिएन ।
आफ्नो जिन्दगी र भविष्यको प्रश्न खास महत्त्वपूर्ण थियो । समाजदेखि डराएर र समस्यादेखि भागेर जिन्दगी कहिले पनि सुखमय हुँदैन । त्यसको निम्ति संघर्ष गर्नैपर्दछ । संघर्ष नै जीवन हो । वन्दनाले जीवनभर पिल्सिएर बाँच्नुभन्दा बरू आइपर्ने जस्तोसुकै चुनौतीको पनि सामना गर्ने आँट गरी ।
उसले यथार्थलाई लुकाएर जीवनलाई सधैँ अँध्यारो सुरुङमा तड्पाइरहन चाहिन । समाजले उठाउने अनेक प्रश्नको उसले डटेर जवाफ दिई र हिम्मत गरेरै चुनौतीको सामना गरी ।
अर्थात्, उसले विद्रोह गरी र अन्ततः सफलता पनि पाई । अहिले जीवन जसरी बितिरहेको छm त्यसमा ऊ सन्तुष्ट छे । विगतप्रति उसको कुनै पछुताउ छैन । जीवनमा सुख–दुःख त आइरहन्छन्, गइरहन्छन् । यस संसारमा जीवनमा सुखैसुख पाउने र दुःखै मात्र भोग्ने पनि सबै हुँदैनन् ।
‘तिम्रो मागी विवाह कि प्रेम विवाह ?’ वन्दनाले सोधी ।
‘मैले कसैसँग प्रेम गरेको तिमीलाई थाहा छ ?’ ताराले अलिक रिसाएजस्तो भावमा सोधी ।
‘छैन ।’
‘मेरो मागी विवाह नै हो । मेरो लोग्नेलाई बिहे गरेको तीन महिनामा नै केटीले छोडेर गएकी रे ! केटीको अर्कै केटा रहेछ रे भन्ने गर्थे । लोग्ने मेरो मामाको आफ्नै साथीको छोरा हो । मामाले नै मागिदिएका मलाई । असल परिवार, यौटै छोरा, दुई दिदी मात्र, त्यो पनि बिहे गरेर गइसकेका । ससुरा पनि सरकारी जागिरबाट अवकाश भएका । सबै कुरा राम्रो छ भनेपछि मैले मात्र हुँदैन भन्ने कुरा आएन । आमा र मामा दुवैजनाले निकै सम्झाए मलाई । विवाहिता स्वास्नीले छोडेर गएको लोग्नेमान्छेसँग विवाह गर्न मेरो मनले मानेकै थिएन । परिस्थिति नै त्यस्तो आइलाग्यो । बाध्यतामा परेँ म । एकजना कोही न कोहीसँग त जीवन बिताउनैपर्छ भन्ने लाग्यो र उसैसँग विवाह गर्न मञ्जुर भएँ । तर, मेरो त भाग्य नै फुटेको परेछ वन्दना ।’ यति भन्दै ताराले ओढिरहेको सलको एक छेउ तानेर निहुँरिँदै आँसु पुछी ।
ताराको कुरा सुनेपछि वन्दनाको मनमा कताकता शंका अंकुरायो र नरमाइलो पनि लाग्यो । यतिका वर्षपछि भेट भएकी साथीको वेदनामय कुरा सुन्दा वन्दनाको मन पनि अमिलो भयो । साथीको आँखामा आँसु देखेर ऊ पनि विह्वल भई । ऊ एक छिनसम्म सोचमग्न भई ।
‘तिम्रो लोग्नेको नाम के हो ?’ वन्दनाले सोधी ।
‘किन ? तिमीले चिनेको छ र ?’ ताराले प्रतिप्रश्न गरी ।
‘पहिले नाम त भन । मलाई सोध्न मन लाग्यो ।’ वन्दनाले भनी ।
‘कुलदीप हो ।’
‘अनि ससुराको नाम नि ?’
‘धनदीप ।’
बाबु र छोरा दुवैजनाको नाम सुनेर वन्दना एक छिन जिल्ल परी । ऊ चुपचाप ताराको अनुहारमा मात्र एकनास हेर्न थाली । केही बोल्नै सकिन । तत्काल के भन्ने ? उसले सोच्नै पनि सकिन ।
‘किन त्यसरी हेरिरहेकी ? के तिमीलाई मेरो कुरामा विश्वास लागेन ? मैले झुट बोलेको हो र ?’ ताराले प्रश्नमाथि प्रश्न तेर्स्याई ।
‘विश्वास लाग्यो । तिमी झुट बोल्दिनौ भन्ने कुरा तिमीसँग क्याम्पस पढ्दादेखि नै मलाई थाहा छ । तर, आज म आश्चर्यमा परेकी छु । मैले सपनामा पनि नचिताएको कुरा आज आफैँले सुन्दै छु । यस्तो होला भन्ने के थाहा, तारा ।’ लामो सुस्केरा हाल्दै वन्दनाले भनी ।
‘कस्तो आश्चर्य ? कस्तो नचिताएको कुरा ? के भन्दै छ्यौ तिमी ? अचानक तिमीमा यस्तो परिवर्तन किन ? तिमीले भनेको कुरा मैले केही पनि बुझ्न सकिरहेकी छैन । अहिले म पो आश्चर्यमा परेकी छु, तिम्रो कुरा सुनेर ।’ ताराले भनी ।
‘आज म मेरै साथीलाई यो कुरा कसरी भनूँ कि तिमीले जुन अवस्था अहिले भोगिरहेकी छौ, त्यो अवस्था आजभन्दा चार वर्ष पहिले म आफैँले भोगेकी हुँ । अहिले तिमी जुन अवस्थामा छ्यौ, म आफैँ पनि त्यहीँ र त्यही अवस्थामा थिएँ ।’ यति भन्दाभन्दै वन्दना रोकिई ।
‘भन वन्दना, तिमीले भोगेको व्यथा र मेरो व्यथा कसरी उस्तै हो । तिमी त बिहेपछि सुखी जीवन बिताइरहेकी छ्यौ । लोग्ने छ, छोराछोरी छन् र सुखी परिवार छ । तिमी कसरी मभन्दा पनि दुःखी र पीडित भयौ ? ममा र तिमीमा दाँजेर हेर्ने कुनै कुरा नै छैन । म पो अभागी हुँ, तिमी त भाग्यमानी । यौटी साथीको भाग्यमा घामैघाम, अर्की साथीको भाग्यमा औँसीको रात ।’ यति भन्दै ताराले वन्दनाको अनुहारमा एकनास हेरिरही ।
‘तारा, आज तिमी जसलाई लोग्ने भनिरहेकी छ्यौ नि, कुलदीप । हो उही कुलदीपसँग चार वर्ष पहिले नै मेरो बिहे भएको थियो । ऊसँग मागी बिहे नै हो मेरो पनि । ऊ मेरो विवाहित लोग्ने थियो । आज तिम्रो सन्तान किन भएनन्, त्यो मलाई राम्ररी थाहा छ । त्यो सबैको जड कुलदीप स्वयं हो । ऊ नाम मात्रको लोग्नेमान्छे हो भन्ने कुरा थाहा पाएपछि नै हो, मैले ऊसँग सम्बन्धविच्छेद गरेकी । दुर्भाग्य, तिमीलाई पनि मलाई जसरी नै उसैसँग फसाएछन् । विडम्बना, तारा ! आजको तिम्रो लोग्ने कुनै बखत मेरो पनि लोग्ने थियो ।’