site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिककाे आवश्यकताअनुसार भिजन तयार हुन्छ : विराजभक्त श्रेष्ठ

काठमाडौं । अहिलेका ठूला दलहरू विकासको मामिलामा असक्षम भएको भन्दै आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि नयाँ पार्टी दर्ता गरेर वा स्वतन्त्रहरूले उमेदवारी दिएका छन् । उनीहरूको एउटै एजेन्डा छ, ‘पुराना पार्टीले व्यवस्था परिवर्तन गरे, अब हामी अवस्था परिवर्तन गछौँ ।’ यसरी अवस्था परिवर्तन गर्न भन्दै स्वतन्त्र र नयाँ पार्टी दर्ता नै गरेर चुनावी मैदानमा उत्रिँदै गर्दा उनीहरू संगठित भने हुन सकेका छैनन् ।

यसैसन्दर्भमा यसअघि वैकल्पिक शक्ति भनेर आएको विवेकशील साझा पार्टीबाट वाग्मती प्रदेशकाे समानुपातिक सांसद बनेका र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडाैं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा सदस्य उमेदवार बनेका विराजभक्त श्रेष्ठसँग बाह्रखरीका बलराम बुढाथाेकीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीकाे संपादित अंश :

चुनावको दिन नजिकिँदै गर्दा घरदैलो पनि सकियो होला, मतदाताको प्रतिक्रिया कस्तो पाउनु भयो ?

Himalayan Bank
Dabur nepal
Agni Group

अहिले मतदाताहरू पुराना दलका नेतासँग सन्तुष्ट छैनन् । नेताले देखाएका सपनाहरू पूरा गर्न सकेका छैनन् । उहाँहरूले व्यवस्था परिवर्तन गर्नुभयो । तर, इमानदारीता देखाउन सक्नुभएन । युवा आउनु पर्छ । युवाले नै परिवर्तन गर्नुपर्छ । युवा इमानदार पनि हुनुपर्छ । अहिलेका नेता जस्तो बोलीको बेठेगान हुनुहुँदैन भन्ने कुराहरू जनताबाट आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी भिजनसहितको वैकल्पिक शक्ति हो कि नेताहरूप्रतिको आक्रोशबाट जन्मिएको पार्टी हो ?

Global bank

यो पार्टी जनताको पार्टी हो । जति पनि बेथितिहरू छन्, त्यसको विरूद्धमा उभिएको पार्टी हो । भिजन भनेको कुरा तयार गरेर हुने हैन । काम गर्दै जाँदा आउने कुरा हो । नागरिकहरूको आवश्यकताअनुसार भिजन तयार हुने हो । हामी नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने भिजनसहित आएका हाैँ । आगामी दिनमा नागरिक कै आवश्यकता अनुसार भिजन बनाउँछौँ ।

राजनीतिमा उद्योगी र व्यवसायीहरूको हाबी भयो भने देशको नीतिमा प्रभाव पर्छ भन्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीमा प्राय व्यवसायीहरूकै वर्चश्व छ नि ?

अहिलेका पार्टीहरूमा व्यवसायी नभएको कहाँ छ र ? हामी केही गरौँ देश र जनताको लागि भनेर आउँदै गर्दा हामीलाई प्रतिबद्ध गर्न लगाए जस्तो लाग्छ । यो त प्रतिबन्धको राजनीति भएन र ? अहिलेको राजनीतिमा सीमित व्यापारिक घरानाको हालीमुहाली छ । यसलाई चाहिँ के भन्ने नि ? आफ्ना राजनीतिक एजेन्डा बोकेर जो पनि आउन सक्छन् ।

हामीसँग अहिले दुईवटा विकल्प छन् । कि हातमा राहदानी बोकेर विदेशिनुपर्ने, कि यो कुसंस्कारको विरूद्धमा डटेर लाग्ने । अहिले आरामसँग व्यवसायीलाई काम गर्न दिएको अवस्था छ र ? छैन नि । त्यही भएर हाम्रो जन्म भएको हो । राजनीति बुझेको र परिवर्तन चाहानेहरू एक हुनैपर्छ । अब पनि हामी हातमा राहदानी बोकेर जीविका चलाउन २०/२५ हजार कमाउनकै लागि विदेशिनु नपरोस् ।

अहिले अधिकांश युवाहरूले परिवर्तन चाहेका छन् । तपाईंहरू वैकल्पिक शक्तिको रूपमा स्थापना भएको भन्दैगर्दा परिवर्तन चाहने स्वतन्त्र उमेदवारलाई किन समेट्न सक्नुभएन ?

स्थानीय तहको स्वतन्त्र र संसदीय स्वतन्त्र फरक छ । यो स्पष्ट हो । देश नै दलीय व्यवस्थामा छ भने त्यो त बुझ्नु पर्‍याे नि । अहिले स्वतन्त्रको लहर चलेको छ हुलमुलमै भएपनि सांसद बनिहालौ न भन्ने पनि केही पात्र देखिए । यस्ता पात्रहरूका कारणले यो पवित्र अभियानलाई कमजोर बनाइरहेको छ ।

पार्टी दर्ता गरेर स्वतन्त्र भन्ने पनि गरिएको पाइयो । यस्तो स्वतन्त्र प्रवृत्ति घातक हो । मैले पनि स्वतन्त्रबाट नै उमेदवारी दिने सोचेको थिए । पछि शक्ति निर्माण गर्ने पनि सोचेको थिए । तर, हामीले पहिले नै दल गठन गर्‍याैँ । दल भएपछि दलको उमेदवार हुँ भन्न सक्नुपर्छ । पार्टीमा टिकट नपाएर उठेका चाहिँ स्वतन्त्र हुन् । तिनीहरूलाई सम्मान छ । हामीले झुट बोल्नु हुँदैन । जे हो त्यही भन्नु पर्छ ।

वैकल्पिक शक्ति भनेर विवेकशील साझा पार्टी पनि आएकै हो, फेरि पनि वैकल्पिक शक्ति भनेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो । यसले त राजनीतिक अस्थिरता निम्त्याउँदैन र ?

अहिले वैकल्पिक शक्तिप्रति प्रश्न त उठ्छ । तर, हामीले परिवर्तन चाहिन्छ भन्ने ठानेर आएपछि यसलाई संगठित गर्नुपर्छ । एउटा पार्टी नै सबै कुरा हैन । यहाँ पनि आफ्नो विचार मिलेन भने अर्काे विकल्प रोज्न सकिन्छ । अहिलेका पार्टी पनि कहाँ नराम्रा हुन र ? त्यहाँ भएका अधिकांश नेताहरू सक्षम हुनुहुन्छ । केही असक्षम नेताहरूले ओगटेर पो उहाँहरू ओझेलमा पर्नु भएको छ । परिवर्तन भनेको समयसँगै हुनु पर्छ । एउटैले सबै कुरा गर्नसक्छ भन्ने हुँदैन । अबको अवश्यकता भनेको नागरिकको जीवन स्तर सुधार गर्नु नै हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय