
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले आईएमएफ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थतन्त्रको मेरुदण्डको रूपमा निजी क्षेत्र रहेको भन्दै यस्तो बताएका हुन् ।
भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरूले भोग्नु परेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायत विषयमा परिसंघ र आईएमएफबीच छलफल भएको थियो ।
परिसंघका अध्यक्ष अग्रवालले लगानीयोग्य रकमको अभाव, उच्च ब्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागु गरेको चालु पुँजी कर्जा निर्देशिकालगायतले उद्योगी व्यवसायीको आत्मविश्वासमा कमी आएको बताए ।
एकैपटक सबै सुधारका उपकरणहरू लागु गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा उनले राखेका थिए ।
आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड–१९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताए ।
यद्यपि, विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रूपमा राम्रो रहेको उनले बताए । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने बताए ।
भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशीलगायत उपस्थिति रहेको थियो ।