काठमाडौं। नेदरल्यान्ड्सकी २५ वर्षीया लौरा बस बुबाविना नै हुर्किइन् । एकल अभिभावकको रुपमा आमासँग हुर्केकी उनले आफ्ना नजिकका मानिसहरुबाट अक्सर आमाको लागि नराम्रा टिकाटिप्पणी सुन्ने गर्थिन् ।
जस्तोः ‘कामकाजी महिला असल आमा हुन सक्दिनन् ।’ तर लौरा खुशी थिइन् । कामकाजी आमा भए पनि उनलाई कुुनै गुनासो थिएन ।
उनले चाहे जतिको माया र स्नेह आमाबाट पाएकी थिइन् ।
भन्छिन्, “मेरी आमा सातामा चार दिन काम गर्नुहुन्थ्यो । उहाँ मेहनति कामदार र असल आमा हुनुहुन्थ्यो । उहाँले दुवै भूमिका राम्ररी निभाउनु भएको थियो । तैपनि मानिसहरु गुनासो गर्थे ।”
यो थियो लौराको बाल्यकालको कुरा । लौरा २० वर्ष लागेकी थिइन् । जीवनमा नाम र दाम कमाउने सपना बोकेर पहिलो जागिर खाइन् । एकदिन उनले यस्तै एउटा प्रश्नको सामना गर्नुपर्यो । अहिले काम गरेर के हुन्छ ? भोलि बच्चा भएपछि कसरी काम गर्छौँ ? काममा अझ राम्रो गर, आफ्ना सपना पूरा गर भन्नुुपर्ने ठाउँमा आमाको पालामा जस्तो अभिव्यक्ति सुनेपछि उनी छाँगाबाट खसेजस्तो भइन् । तर, उनी आँटिली थिइन्, बहादुर आमाकी छोरी जो थिइन् ! लौराले मान्छेको सोच बदल्न नेदरल्यान्ड्सको परराष्ट्र मन्त्रालयअन्तर्गत सञ्चालित युवा राजदूत कार्यक्रमा आबद्ध भइन् ।
उनले सो कार्यक्रममा रहेर यौन र प्रजनन स्वास्थ्य तथा अधिकार, लैँगिक समानता र शारीरिक स्वायत्तता विषयमा लविङ गर्नेदेखि नीतिनियम बनाउनेसम्मको काम गरिन् ।
उनले नेदरल्यान्डस्को तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामासमेत आफ्ना एजेन्डाहरु सुनाउने अवसर पाइन् ।
सन् २०१४ बाट सुरु भएको युवा राजदूत कार्यक्रमबाट नेदरल्यान्ड्सले संसारभरी आफ्ना युवा राजदूतलाई दूत बनाएर राज्यको नीति नियम बनाउने अभ्यास गराउनुका साथै सामाजिक विषयका विभिन्न कार्यक्रममा पठाउने गरेको छ ।
यौन र प्रजनन स्वास्थ्य तथा अधिकारको बारेमा काम गर्न साताअघि लौरा आफ्ना भावी उत्तराधिकारीसहित नेपाल आएकी थिइन् ।
नेदरल्यान्ड्स च्वाइस संस्थासँग मिलेर युवा र राइट हेयरसँग आबद्ध भएर नेपालका गाउँ गाउँमा गएर आफ्ना अनुभव सुनाएको उनले बताइन् ।
यो भेटघाटको अवसर नेपालका लागि नेदरल्यान्ड्सका अवैतनिक वाणिज्य दूत दीपकराज सापकोटाको संयोजनमा वाणिज्यदूतको कार्यालयमा भएको थियो ।
बच्चा हुर्काउन आमाबुबा दुवै चाहिन्छ । आमाले मात्र सन्तान हेर्न सक्दैनन् । अझ कामकाजी महिलाले मात्र त सक्दैनन् भन्ने मानसिकतालाई उनी चिर्न चाहन्थिन् ।
उनको विचारमा हरेक आमा राम्रो व्यवस्थापक पनि हो । “तर मलाई दुःख लाग्छ कि २० वर्षपछि पनि नेदरल्यान्डमा केही परिवर्तन भएको छैन । जस्तो मेरो आमाको बेलामा सोचाइ थियो । त्यही सोचाइ अहिले पनि व्याप्त छ । मान्छेहरुको सोच परिवर्तन गर्न चाहन्छु,” उनले भनिन् ।
१४ महिनाको कार्यकालमा उनले ब्राजिल, नेदरल्यान्ड्स र नेपालमा यौन र प्रजनन् स्वास्थ्य तथा अधिकारको क्षेत्रमा काम गरेको उनी बताउँछिन् ।
उनको स्थानमा अहिले २४ वर्षीय जिम मोन्केल आएका छन् । अब झण्डै डेढ वर्षको लागि जिमले यौन र प्रजनन् स्वास्थ्य तथा अधिकारबारे काम गर्नेछन् ।
लौराजस्तै जिमले पनि परराष्ट्र मन्त्रालयमा आवेदन भरेर छनौट भई युवा राजदूतमा नियुक्त भएका हुन् ।
सधैँ महिला मात्र नियुक्त हुुने गरेको यौन र प्रजनन स्वास्थ्य तथा अधिकार विभागमा पहिलोपटक पुरुषको रुपमा जिमले अवसर पाएका हुन् ।
भन्छन्, “मेरो भाइ मानसिक रुपमा अस्वस्थ छ । उसको उमेरका अरु युवाले जस्तो उसले यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको सहजै उपभोग गर्न सक्दैन । त्यसैले मेरो लागि यो विषय सम्बोधन हुन जरुरी छ । जसले गर्दा उनीहरु अर्थपूर्ण रुपमा समाजमा सहभागी हुन सकून् ।”
करिब आठ वर्षबाट सुरु भएको कार्यक्रम नेदरल्यान्ड्स सरकारले युवाहरुलाई लक्षित गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गत युथ राजदूतहरु नियुक्त गरी संसारभरिका युवाहरुमा जनचेतना फैलाउने कार्यक्रम गरिरहेको छ ।
१८ वर्षदेखि २७ वर्षका नेदरल्यान्ड्सका युवाहरुले सहभागिता जनाउन पाउने उक्त कार्यक्रममा नेदरल्याण्ड सरकारले यौन र प्रजनन् स्वास्थ्य तथा अधिकार (एसआरएचआए) क्षेत्रको लागि मात्र ५ सय मिलियन युरो बजेट छुट्याएको छ ।
लौरा भन्छिन्, “हामी नेदरल्यान्ड्सको लागि मात्र होइन, बाहिरका मानिसलाई लागि पनि नीति बनाउछौँ । तर, कार्यक्रमहरु स्थानीय युवाको आवश्यकताअनुसार उनीहरुद्वारा नै निर्माण गर्न लगाउँछौँ । त्यसको लागि चाहिने सीप, बजेट र जनशक्ति भने हामी उपलब्ध गराउँछौँ ।”
उनकाअनुसार सामाजिक विकासको लागि प्रजनन स्वास्थ्य र लैँगिक समानता तथा जीविकोपार्जनको लागि अर्थतन्त्रको बारेमा युवामा जनचेतना ल्याउन जरुरी छ ।
स्वतन्त्र रुपमा काम गर्न पाउने हुँदा आफूलाई विश्वास लागेको प्रोजेक्टमा काम गर्न पाउने जिमको विश्वास छ ।
भन्छिन्, “लौराले आफ्नो कार्यकालमा राम्रो काम गरिन् । म त्यसमा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्न चाहन्छु ।”
लौरा र जिमले च्वाइस संस्थाको कार्यक्रम संयोजक ड्याफ्ने भिसरको सहयोगमा नेपालका युवाहरुलाई यौन र प्रजनन् स्वास्थ्यबारे जनचेतनामुुलक कार्यक्रमहरु सञ्चालन गरेका छन् ।
उनीहरुले त्यसका लागि यौन र प्रजनन् स्वास्थ्यका क्षेत्रमा दशकदेखि काम गरिरहेको युवा नामक संस्थामा आबद्ध भई नेपाली युवाको वस्तुस्थिति बुझेका थिए ।
लौराले प्रजनन स्वास्थ्य संरक्षणको सामग्री भन्नेबित्तिकै नेपाली युवाहरुले गर्भनिरोधक चक्की र इमर्जेन्सी चक्की भनेर मात्र बुझेको जिकिर गरिन् ।
भन्छिन्, “नेपालमा मात्र होइन, नेदरल्यान्ड्समा पनि प्रजनन् स्वास्थ्यबारे वृहत्त शिक्षा दिन जरुरी छ । नेदरल्यान्डमा विद्यालयमा यौन शिक्षा दिइन्छ । तर जीवन उपयोगी हुन सकेको छैन ।”
उनकाअनुसार नेदरल्यान्डमा महिलाहरुमा हुने मासिक रक्तश्रावको बारेमा जानकारी दिन जरुरी छ ।
भन्छिन्, “नेदरल्याण्डमा ९ मा १ जना महिलाले मेन्सुरेसन प्रोडक्ट किन्न सक्दैनन् । मेरो लागि यो ठूलो समस्या हो, महिलाको रुपमा पनि ।”
यस्तै, लौरालाई अक्सर मानिसहरुले शिक्षाजस्ता महत्त्वपूर्ण क्षेत्र छन् तर किन एचआरएसआरमा काम गर्छौ भन्ने प्रश्न गर्छन् ।
“मेरो विचारमा शिक्षा जरुरी छ । तर मेरो देशमा केटीहरु सानै उमेरमा विवाह गर्छन्,” उनले थपिन्, “लैँगिक समानता छैन र उनीहरुले आफ्नो शरीरको लागि चाहिने निर्णय लिन पाउँदैनन्, सानैमा गर्भवती हुन्छन् भने कसरी शिक्षालाई अगाडि बढाउलान् ? त्यसैले प्रजनन् स्वास्थ्यको ठूलो प्रभाव छ समग्र विकासमा ।”
उनीहरुका अनुसार संसारभरि युवाहरुलाई नै वृहत्तर रुपमा यौन शिक्षा दिन जरुरी छ ।
लौरा भन्छिन्, “यसले दुई फरक लिंगको सम्बन्धको बारेमा पनि सिकाउँछ । यसले महिलाहरुसँग सम्बन्धको लागि सहमतिको बारेमा कुरा गर्छ र सीमा निर्धारणबारे युवाहरुमा चेतना फैलाउँछ । जुन एसआरएचआरको महत्वपूर्ण पाटो हो ।”