site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकमा जोखिम थप्दै शाखारहित बैंकिङ, निक्षेपकर्तालाई पैसा डुब्ने त्रास !

काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा माछापुच्छ्रे बैंकले सञ्चालन गरेको शाखारहित बैंकिङ सेवाबाट एक करोड रुपैयाँ ठगीको घटना बाहिर आयो । 

माछापुच्छ्रे बैंकले त्यहाँ रोइनिहवाका निरञ्जन पाठकलाई शाखारहित बैंकिङ सेवा सञ्चालन गर्नको लागि एजेन्ट बनाएको थियो । 

पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राखेका थिए ।

Argakhachi Cement Island Ad

स्थानीयले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेका एजेन्टलाई पैसा दिने र उनले बैंकको भौचर दिने गरेका थिए । 

जबकि शाखारहित बैंकिङमा बैंकको शाखाजस्तो निक्षेपको भौचर दिन मिल्दैन । 

गत स्थानीय निर्वाचनमा सम्मरीमाई गाउँपालिको अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका पाठकले शाखारहित बैंकिङ सेवा अन्तर्गत समानान्तर रुपमा बैंकिङ सेवा चलाएका थिए ।

व्यावसायिक प्रतिनिधि निरञ्जन पाठक र सिकन्दर ठाकुरले विभिन्न निक्षेपकर्ताबाट लिएको रकम लिएर भौचर दिने गरेका थिए । 

मेसिनमार्फत रिसिप्ट दिनुपर्नेमा भौचर दिएर समानान्तर रुपमा बैंकिङ सेवा उनीहरुले नै चलाएको पाइयो । 

त्यो क्षेत्रका जनताले विश्वास गरेर पैसा दिने र लिने काम गरेका थिए । 

राष्ट्र बैंकले वित्तीय पहुँच बढाउनको लागि बैंकको शाखा स्थापना हुन नसक्ने ठाउँमा शाखारहित बैंकिङको व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले स्मार्ट कार्डको माध्यमबाट निक्षेपकर्ताको पैसा जम्मा गर्न, झिक्न तथा ऋण तिर्नको लागि शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने सक्ने जनाएको छ । 

अहिले सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमा स्टान्डर्ड चार्टर्ड बैंकबाहेक २५ वटा बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेका छन् । 

दुई हजारभन्दा बढी शाखारहित बैंकिङ एजेन्टको भरमा बैंकहरुले चलाइरहेका छन् ।  १५ अर्ब हाराहारीको निक्षेप शाखारहित बैंकिङबाट सञ्चालन भइरहेको छ । 

बैंकिङ विज्ञ बीएन घर्ती रुपन्देहीको घटनाले बैंकहरुले सञ्चालन गरेको शाखारहित बैंकिङमा जोखिम देखिएको घटना बाहिर आएको बताए । 

“बैंकहरुले एजेन्टले गरेको कामको नियमन र सुपरीवेक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ,” घर्तीले भने,“ अनुगमन प्रणाली नबढाउने हो भने जोखिम थप बढाउने छ ।”

बैंक तथा वित्तीय संस्थामा कर्जा, ब्याजदर, बजार, तरलता तथा सञ्चालनको जोखिम हुन्छ । 

सञ्चालन जोखिम अन्तर्गत बैंकले सञ्चालन गरेको शाखारहित बैंकिङमा एजेन्टको मात्र भर भर्दा जोखिम बढेको हो । 

“बैंकमा विभिन्न जोखिम हुन्छन्, एजेन्टको भरमा चलाएको शाखारहित बैंकिङमा बैंक थप जिम्मेवार हुनुपर्ने देखिएको हो,” विज्ञ घर्तीले भने, “एजेन्टले गर्ने गल्तीले बैंकको विश्वसनीयतालाई समेत कमजोर बनाउछ ।”

शाखारहित बैंकिङमा जोखिम भएपछि केही बैंकहरुले यसको सेवासमेत बन्द गरेका छन् । 

माछापुच्छ्रे बैंकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निरञ्जन पाठकलाई दिएको एजेन्टको अनुमति खारेज गरिसकेको छ । यस्तै एभरेष्ट बैंकसहित केही बैंकले ५० वटाजति शाखारहित बैंकिङ सेवा बन्द गरिसकेको छ । 

माछापुच्छ्रे बैंकले सम्मरीमाई गाउँपालिकामा एजेन्टले समानान्तर बैंकिङ चलाएको जेठ महिनामा नै पत्ता लगाइसकेको थियो । 

माछापुच्छ्रे बैंकका कर्मचारीहरु अनुगमनमा गएको बेला बैंकको भौचर शाखारहित बैंकिङमा भेटिएको थियो । 

यसको जानकारी बैंकका कर्मचारीले केन्द्रीय कार्यालयलाई गरेका थिए । केन्द्रीय कार्यालयले नियम विपरीत शाखारहित बैंकिङ सञ्चालन गरेको भेटिएपछि आफ्नो तर्फबाट थप अनुगमन गर्न पठाउने तथा यसको उजुरी प्रहरीलाई समेत दिएको थियो । 

तर ठगिने व्यक्ति नभेटिएको कारवाहीको प्रक्रिया अगाडि बढेको थिएन । 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला शाखारहित बैंकिङमा जोखिम बढेको स्वीकार गर्छन् । 

“माछापुच्छ्रे बैंकको मात्र नभएर अन्य बैंकलाई समेत यसले जोखिम हुने सन्देश दिएको छ,” कोइरालाले भने, “जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीहरुले काम गरिरहेका छौं, बद्मासी गर्नेले भने सजाय पाउनुपर्छ ।” 

कोइराला रुपन्देहीको सम्मरीमाईमा भएको घटनामा बैंकको गल्ती नभएको बताउँछन् । 

“शाखारहित बैंकिङमा एजेन्टले समानान्तर बैंकिङको काम गरेको भेटिएपछि बैंकले जानकारी पाउनासाथ कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो,” कोइरालाले थपे, “एजेन्टको गल्तीमा बैंकलाई पूरै दोष भने दिन मिल्दैन ।”

राष्ट्र बैंकले भने शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा बैंक धेरै नै जिम्मेवार हुनुपर्ने जनाएको छ । 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट शाखारहित बैंकिङसँगै बैंकले वित्तीय साक्षरताको कार्यक्रम थप बढाउनुपर्ने बताउँछन् । 

“शाखारहित बैंकिङमा बैंकको निक्षेप भौचर प्रयोग गर्न मिल्दैन,” भट्टले भने, “मेसिनमार्फत् कारोबारको स्लिप दिनुपर्छ, बैंकले निक्षेपकर्ताको सुरक्षा गर्नु पहिलो दायित्व हो ।”

बैंक तथा वित्तीय संस्थाले शाखा नपुगेको ठाउँमा त्यो क्षेत्रका प्रभावशाली व्यक्तिलाई शाखारहित बैंकिङ सेवा सञ्चालन गर्नको लागि एजेन्ट नियुक्त गरेको छ । 

एजेन्टलाई कार्यालय चलाउनको लागि केही रकम दिनेबाहेक निक्षेपको आधारमा बैंक तथा वित्तीय संस्थाले कमिसनसमेत दिने गर्छन् । 

पछिल्लो समय सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् वितरण हुँदै आएको छ । 

बैंकको शाखा नपुगेको ठाउँमा सामाजिक सुरक्षा भत्ताको कार्यक्रमसमेत एजेन्टबाट सञ्चालन हुने गरेको छ । 

यस्तोमा बैंकहरु जिम्मेवार नभएमा शाखारहित बैंकिङले जनताको पैसा जोखिममा पर्ने र बैंकको इमेजलाई नै कमजोर बनाउने देखिन्छ । 

राष्ट्र बैंकले भने डिजिटल बैंकिङ बढ्दै गएपछि शाखारहित बैंकिङलाई क्रमशः घटाउनुपर्ने नीति लिने जनाएको छ । 

“शाखारहित बैंकिङको नीतिलाई पुनरवलोकन गर्नुपर्नेमा हामीहरु छलफलमा छौं,” राष्ट्र बैंकका प्रवक्ता भट्टले भने, “नीति समय आएपछि परिवर्तन भए पनि बैंकहरु भने एजेन्टमा आधारित काममा धेरै संवेदनशील हुनुपर्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्