धनगढी । कैलाली क्षेत्र नम्बर–४ बाट उमेदवार बनेकाहरूको मुख्य एजेन्डा प्रदेश राजधानी गोदावरीलाई नै कायम गर्ने रहेको छ ।
प्रतिनिधिसभातर्फ कैलाली–४ बाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर सत्ता गठबन्धनका साझा उमेदवार बनेका छन् । नेकपा (एमाले)बाट लेखराज भट्ट प्रतिस्पर्धामा छन् ।
उनीहरू दुवैका प्रमुख एजेन्डा अघिल्लो सरकारले तोकेको राजधानी स्थापना गर्ने नै रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीलाई राजधानी तोकेको थियो ।
तत्कालीन नेकपाको दुईतिहाइ बहुमतको सरकार हुँदा गोदावरीलाई राजधानी तोकिएको थियो । तर, भौतिक पूर्वाधार थिएन । त्यति बेला सुदूरपश्चिम सरकार लेखराज भट्टको इसारामा नै चल्थ्यो । भट्ट निवर्तमान प्रतिनिधिसभा सांसद हुन् ।
प्रदेश सरकारले हालसम्म पनि न राजधानी गोदावरी सार्न सक्यो न त तोकिएको स्थानमा कुनै संरचना नै बनाउन सक्यो । वन क्षेत्रमा राजधानी तोकेकै कारण सुरुदेखि नै प्रदेश सरकार विवादमा रह्यो ।
अहिले प्रमुख दुवै दलबाट उमेदवार रहेका बलायर र भट्टको प्रमुख एजेन्डा प्रदेश राजधानी गोदावरीलाई बनाइएको छ ।
नेता भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूले प्रदेशको राजधानी पहाडमा बनाउनुपर्ने भन्नुलाई सुदूरपश्चिमका जनताको अपमान भएको बताउँदै आएका छन् । केही व्यक्तिले भने तिनै भट्ट केन्द्रका मन्त्री हुँदा समेत केही गर्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।
अर्का उमेदवार वीरबहादुर बलयारको गृहक्षेत्र डोटी हो । गठबन्धनका कारण त्यहाँबाट उनले टिकट नपाएपछि कैलाली झरेका हुन् । बलायर यसअघि प्रदेशको राजधानी डोटी नै हुनुपर्ने भन्दै निकै कडा रूपमा प्रस्तुत भएका थिए ।
कांग्रेसका प्रदेश सभापति समेत रहेका बलायरले अहिले भने राजधानी गोदावरी नै हुनुपर्ने बताउन थालेका छन् । ०७४ सालमा डोटीबाट प्रतिस्पर्धा गर्दा उनी त्यहीँ राजधानी बनाउनुपर्ने अभियानमा थिए ।