
काठमाडौं । पछिल्लो समय नेपाली रजतपटमा पनि सफल जोडीका रुपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल पनि निर्माण गरिरहेका छन् । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भएको बताइएको छ ।
नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल कहिलेबाट सञ्चालनमा आउँछ ? दीपकराज गिरी जवाफमा भन्छन्, “अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ । अझै केही समय लाग्छ ।” इन्टेरियर डिजाइनको काम सक्न कम्तीमा छ महिना लाग्ने उनी बताउँछन् । इन्टेरियर डिजाइनको काम सुरु भएको एक महिना भएको दीपकले जानकारी दिए ।
“सकेसम्म आफ्नै सिनेमाबाट हल सञ्चालन गराैँ भन्ने हो । हेरौँ त्यो समयसम्म हल निर्माणको काम सकिन्छ कि सकिँदैन,” दीपक बाह्रखरीसँग भन्छन् ।
महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइरहेको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् । करिब १० करोड निर्माण लागत रहने दीपक बताउँछन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ टिमको लगानी रहेको छ ।
चलचित्र ‘छक्का पञ्जा–४’को करिब ७५ प्रतिशत छायांकन भइसकेको छ । हेमराज बिसीले निर्देशन गरिरहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘छक्का पञ्जा–४’ले फागुन १९ गतेका लागि रिलिज डेट लिएको छ ।