काठमाडौं । अमेरिकी सार्वजनिक मामिलासम्बन्धी कार्यवहाक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा दुई दिनसहित १२ दिन लामो यात्रामा उनले यूएई, उब्जेकिस्तान र कीर्गिज रिपब्लिकको भ्रमण गर्नेछिन् ।
विश्वव्यापी सार्वजनिक मामिला हेर्ने ट्रुडो चीनका सभामुख ली चान्सु फर्केको दुई हप्तामै नेपाल भ्रमणमा आउन लागेकी हुन् । उनको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारहरूले अर्थपूर्ण रूपमा हेरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको हो ।
ट्रुडोले सरकारी अधिकारीहरू, नागरिक समाज, प्रभावशाली व्यक्तित्व, विद्यार्थी र अमेरिकी सार्वजनिक कूटनीति क्षेत्रका व्यक्तित्वहरूसँग भेट गर्ने कार्यतालिका छ । उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनमा अमेरिकाको भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्ने बताइएको छ ।
नेपाल बसाइँमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गर्दै आएका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ । उनको भ्रमण क्रममा नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको बताइएको छ ।