site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सधैँ एउटैले जित्छ भन्ने हुँदैन, घरेलु दर्शकलाई निराश पार्दैनौँ’
SkywellSkywell

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपालले चिरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । प्रायः उपाधिका लागि प्रतिस्पर्धा गर्ने नेपाल र भारत योपटक फाइनलमा स्थान बनाउनका लागि आमने–सामने हुँदै छन् ।नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल र भारत दोस्रोपटक सेमिफाइनलमा भिड्न लागेका हुन् । यसअघि, सन् २०१६ मा पनि यस्तै भएको छ । योपटक फरक छ त केवल स्थान । त्यति बेला प्रतियोगिता भारतको सिलिगुढीमा भएको थियो । अहिले काठमाडौंमा जारी छ ।

सेमिफाइनलका प्रतिद्वन्द्वी पनि लगभग उही छन् । फरक छ त केवल माल्दिभ्सको स्थान भुटानले लिएको छ । भुटानले अर्को सेमिफाइनलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

KFC Island Ad
NIC Asia

संयोग, त्यति बेला नेपाली टोलीको प्रशिक्षक कुमार थापा थिए । अहिले पनि नेपाली टोलीको जिम्मेवारी उनै थापाको काँधमा छ । त्यति बेला नेपाल भारतसँग ३–१ ले पराजित भएपछि पहिलोपटक फाइनल खेल्नबाट वञ्चित भएको थियो । नेपालले फाइनल नखेलेको त्यही एकपटक हो । अरू सबै संस्करणमा नेपालले र भारतसित फाइनल खेलेको छ ।

‘‘प्रतियोगितामा खेल्दै जाँदा एउटा न एउटा प्रतिद्वन्द्वीसँग भेट हुन्छ । अहिले भारतलाई प्रतिद्वन्द्वी पाएका छौँ,’’ नेपालका प्रशिक्षक कुमार थापाले भने, ‘‘यसअघि, २०१६ मा पनि यस्तै भएको थियो । तर, यस ६ वर्षबीचमा धेरै परिवर्तन भइसकेको छ । दुवै टिमले धेरै प्रगति गरिसकेका छन् । त्यति बेला ६ जनाले डेब्यु गरेका थिए । अहिले तीनजनाले डेब्यु गरेका छन् । त्यति बेला भारतको होम ग्राउन्ड थियो । अहिले नेपालको होम ग्राउन्ड छ ।’’

Royal Enfield Island Ad

प्रशिक्षक थापाले भनेजस्तै त्यति बेला भारतले आफ्नो घरेलु मैदानमा खेलेको थियो । अहिले नेपालले आफ्नो घरेलु मैदानमा खेलिरहेको छ । हुन त अघिल्लो संस्करणको फाइनल पनि नेपालले आफ्नै घरेलु मैदानमा खेलेको थियो । तर, २०१९ को उक्त प्रतियोगिता विराटनगरमा भएको थियो ।

प्रशिक्षक थापा काठमाडौंमा घरेलु दर्शकलाई निराश नबनाउने बताउँछन् । ‘‘काठमाडौं देशको मात्र होइन, फुटबलको पनि राजधानी हो । यहाँको फुटबल माहोल गज्जबको हुने गर्छ । र, हामी एउटा क्लबको होइन, देशको प्रतिनिधित्व गरेर खेलिरहेका छौँ,’’ भारतविरुद्ध सेमिफाइनल खेलको अघिल्लो दिन थापाले बाह्रखरीसँग भने, ‘‘त्यसमाथि भारत भनेपछि माहोल अझ फरक हुन्छ । त्यो माहोलमा हामी इन्जोय गर्न चाहन्छौँ । खेलका लागि उत्साहित छौँ । उत्तिकै सचेत पनि छौँ । यहाँको वातावरणमा खुसी भएर खेल्नेछौँ र दर्शकलाई पनि खुसी बाँड्नेछौँ । हामी काठमाडौंका दर्शकलाई निराश बन्न दिँदैनौँ ।’’

थापाले खेलाडी करियरमा मनाङ–मर्स्याङ्दी क्लबबाट दशरथ रंगशालामै थुप्रैपटक लिगको उपाधि उचालेका छन् । त्यही रंगशालामा थापाले राष्ट्रिय जर्सी लगाएर थुप्रै खेल जितेका छन् । त्यसकारण उनलाई रंगशालाको माहोल थाहा छ । त्यहीअनुसार खेलाडीलाई तयार पनि पारेका छन् । नेपाल प्रतियोगितामा अपराजित छ ।

समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो । दोस्रो खेलमा श्रीलंकामाथि ६–० को विजय हासिल गरेको थियो । भारत भने समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो । त्यो हारसँगै भारत समूह ‘ए’को उपविजेता बन्यो । नेपालको प्रतिद्वन्द्वी भयो । प्रतियोगितामा भारत पराजित भएको त्यो नै पहिलोपटक हो ।

नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । तर, प्रशिक्षक थापा सधैँ एउटै नतिजा नआउने बताउँछन् । थापालाई ६ वर्षअघि हारेको बदला लिने राम्रो अवसर पनि जुरेको छ ।

‘‘बदलाभन्दा पनि त्यति बेला हामी अवेमा हारेका थियौँ । अब होममा हार्न चाहँदैनौँ । र, सधैभरि एउटै टिमले जित्छ भन्ने पनि हुँदैन,’’ थापाले भने, ‘‘फुटबलको रोमाञ्चकता पनि त्यही त हो । हामी आनन्दले आफ्नो शैलीको फुटबल खेल्छौँ । नकआउट खेल हो भन्ने पनि थाहा छ । पेनाल्टीसम्म पुग्छ । हामी सबै अवस्थाका लागि तयार छौँ ।’’

भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्समाथि ९–० को विजय हासिल गरेको थियो । तर, समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भयो । त्योसँगै भारतको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

“त्यो राम्रो नतिजा थिएन । बंगलादेशसँगको हारपछि हामी सबै निराश थियौँ । मैदानमा गोल गर्ने भोक हाम्रो तर्फबाट हराइरहेको थियो । तर, आयोजक नेपालविरुद्ध एक भएर खेल्नुपर्छ । हामी बलियो भएर फर्कनुपर्छ,’’ भारतका मुख्य प्रशिक्षक सुरेनकुमार क्षेत्रीले सेमिफाइनलको एक दिनअघि भनेका छन्, ‘‘पछिल्लो खेल हाम्रा लागि राम्रो पाठ थियो । यदि, हामीले प्रयास गरेनौँ भने कसैले हामीलाई हराउन सक्छ ।’’

बंगलादेशसँग हारेपछि भारत ‘घाइते बाघ’जस्तै भएको छ । त्यसकारण आज नेपाललाई भारतविरुद्धको खेल सहज भने हुने छैन । त्यसमाथि डेंगीका कारण मुख्य स्ट्राइकर सावित्रा भण्डारी आजको खेलमा पनि उपलब्ध हुनेमा शंका छ । सुरुमै डेंगीबाट थलिएकी मिडफिल्डर मञ्जलीकुमारी योञ्जन पनि उपलब्ध हुनेमा शंका छ ।

‘‘मञ्जली अस्पताल भर्ना भएर आएका कारण उनको सम्भावना न्यून नै छ । तर, सावित्राको अहिले भन्न सक्ने स्थिति छैन । हामीले मेडिकल टिमसँग छलफल गरिरहेका छौँ । सबै परीक्षण गरेका छौँ । त्यसको नतिजा आउन बाँकी छ । भोलि (आज) पुनः एकपटक सबै परीक्षण गर्नेछौँ । त्यसपछि खेलाउने/नखेलाउने थाहा हुन्छ,’’ प्रशिक्षक थापाले बिहीबार बाह्रखरीसँग भने ।

नेपाल र भारत विराटनगरमा सम्पन्न २०१९ को साफ च्याम्पियनसिप र पोखरामा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि आमने–सामने भएका थिए । दुवै खेल भारतले जितेको थियो । साफमा ३–१ ले नतिजा आफ्नो पोल्टामा पारेको भारतले सागमा २–० को विजय हासिल गरेको थियो ।

‘‘नेपाल बलियो टोली हो । उनीहरूसँग राम्रा खेलाडी छन् । उनीहरूले १० गोल गरेर आफ्नो आक्रमण पक्ष देखाएका छन् । तर, उनीहरूको रक्षापंक्ति कति राम्रोसँग छ भनेर हेर्न बाँकी छ । नेपाललाई हामीसँग खेल्ने विगतको अनुभव छ । हामी विगतमा जस्तै आफ्नो क्षमता प्रमाणित गर्नमा केन्द्रित हुनेछौँ,’’ भारतका प्रशिक्षक क्षेत्रीलाई उद्धृत गर्दै भारतीय फुटबल संघको वेबसाइटमा लेखिएको छ, “हामीले प्रशिक्षणमा आक्रमण र रक्षापंक्ति दुवै क्षेत्रमा काम गरेका छौँ । अघिल्लो खेलमा ठूलो कम्युनिकेसन ग्याप थियो । फेरि त्यही गल्ती दोहोर्‍याउने छैनौँ ।’’

भारतले जारी प्रतियोगितामा १२ गोल गरेको छ । तीन गोल खाएको छ । त्यसको तुलनामा नेपालले १० गोल गरेको छ । गोल खाएको छैन । तर, नेपालले समूह चरणमा एक खेल कम खेलेको छ ।

भारतका प्रशिक्षक क्षेत्री नेपालको घरेलु समर्थकको दबाबबाट सचेत रहेको बताउँछन् । ‘‘फुटबल भनेको प्रशंसक र भिडको सामना गर्नु पनि हो । हामीले उनीहरूलाई देखाउन आवश्यक छ कि हामी यहाँ केका लागि छौँ । उनीहरूविरुद्ध नेपालमा खेल्नु हाम्रा लागि महत्त्वपूर्ण हुनेछ । यदि, हामीले तिनीहरूलाई मैदानभित्र र बाहिर राम्रोसँग सामना गर्‍यौँ भने हामीसँग तिनीहरूलाई हराउन सक्ने क्षमता छ,’’ प्रशिक्षक क्षेत्रीले थपे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro