काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत विहीबार निधन भयो । उनको पार्थिव शरीर बेलायती परम्पराअनुुसार वेस्टमिनिष्टर एब्बेमा आगामी सोमबार राखिनेछ । उनको सम्मानमा विश्वका धेरै देशले शोक मनाएका छन् । नेपालले पनि तीनदिन शोक मनाउने घोषणा गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय महारानीको सम्मानमा शनिबारदेखि भदौ २५ देखि आज (सोमबार) भदौ २७ सम्म शोक मनाउने निर्णय गरेको थियो ।
नेपालभरका सरकारी कार्यालयहरू एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको थियो ।
नेपालले तीन दिन शोक मनाउने घोषणा गरेपछि सामाजिक सञ्जालमा यसबारे जिज्ञासा उठेका छन् । आखिर किन कसैको मृत्युमा तीनदिन कसैको मृत्युमा एक दिन ?
कूटनीतिमा हरेक चीजले अर्थ राख्छ । नेपालले तीन दिन शोक मनाउनुु भनेको बेलायत सरकारलाई दिएको उच्चतम सम्मान हो । महारानी एलिजाबेथले दुुई पटक नेपाल भ्रमण गरेकी थिइन् । पहिलोपटक वि.सं. २०१७ मा महारानी एलिजाबेथ र उनका पति फिलिप नेपाल आएका थिए भने दोस्रोपटक उनीहरूले २०४३ सालमा नेपाल भ्रमण गरेका थिए ।
बेलायत नेपालले कूटनीतिक सम्बन्ध राखेको पहिलो मुलुक हो । सन् १८१४ मा एङ्लो–नेपाल युद्ध भयो । पराजयपछि नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भयो । तर, नेपालले सन् १९३४ मा मात्र लन्डनमा आफ्नो कूटनीतिक नियोगको कार्यालय स्थापना गरेको थियो । बेलायतसँग त्रिपक्षीय सम्झौतादेखि नेपाली नागरिकले बेलायती सेनामा सामेल हुँदै आएका छन् ।
सामान्यतः मित्रराष्ट्रका प्रमुखहरूको निधन हुँदा एकदिन मात्र शोक मनाउने चलन छ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाल सरकारले एक दिन शोक मनाएको थियो । तर, बेलायतकी महारानीको निधनमा तीन दिन दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको जानकारहरू बताउँछन् ।
सुपरिचिति व्यक्तिको स्वर्गारोहण हुँदा शोक मनाउने विश्वव्यापी चलन छ । १९ जेठ २०५८ मा स्वर्गीय राजा वीरेन्द्रको वंश नाश हुँदा देश÷विदेशबाट श्रद्धाञ्जली दिइएको थियो भने शोक मनाइएको थियो । त्यसबेला नेपालको सम्मानका लागि भारतले तीन दिन शोक मनाएको थियो । बेलायतले उक्त घटनाले बेलायत त्रसित र दुखी भएको भन्दै त्यहाँको राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएको थियो ।
परराष्ट्रविद् मदनकुमार भट्टराई राष्ट्र–राष्ट्रबीचको सम्बन्धले शोक मनाउने चलनमा फरक पर्ने बताउँछन् । शोक मनाउन अन्तर्राष्ट्रिस्तरमा यही भन्ने नभएको उनी स्पष्ट पार्छन् । “सबैसँग एउटै सम्बन्ध हुँदैन । देश–देशबीचको सम्बन्धले फरक पार्छ । बेलायतसँग नेपालको कुटनीतिक सम्बन्ध सबैभन्दा पुरानो र घनिष्ट छ, त्यसैले नेपालले तीन दिन शोक मनाएको हुन सक्छ ।”
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बेलायत नेपालको पहिलो कूटनीतिक सम्बन्ध भएको राष्ट्र, स्वर्गीय महारानीले दुईपटक नेपाल भ्रमण गरेको, लामो समय शासन गरेकी व्यक्ति भएको, नेपाली नागरिकले बेलायती सेनामा काम गर्नेजस्ता महत्त्वपूर्ण कारणले सरकारले तीन दिन शोक मनाउन घोषणा गरेको उनको भनाइ छ । उनी भन्छिन्, “नेपाल र बेलायतबीच सांस्कृतिक तथा आर्थिक सुमधुर सम्बन्ध छ । उहाँको सम्मानमा र श्रद्धाञ्जली दिन तीन दिन शोक मनाएका हौँ ।”
तर, केही जानकारहरू तीन दिन शोक मनाउनुको अर्थ नेपाल कुनै बेला कमनवेल्थको सदस्य बन्न चाहेको र त्यसैले यति महत्त्व दिएको हुनसक्ने बताउँछन् । “करिब ६ वर्ष अगाडि नेपाल कमनवेल्थमा जाने हो कि भन्ने चर्चा चलेको थियो,” एक परराष्ट्रविद्ले नाम उल्लेख नगर्ने सर्तमा भने ।
कमनवेल्थ अफ नेशन्स (सीओएन) प्रायः पूर्वब्रिटिश उपनिवेश समावेश राष्ट्रहरूको समूह हो । यसको नयाँ चार्टरले नेपालजस्ता देशलाई पनि सदस्यताको लागि आवेदन दिन अनुमति दिन्छ । यो पूर्वब्रिटिस साम्राज्यको एक हिस्सा थियो ।
ती परराष्ट्रविद्का अनुसार नेपालले बेलायतसँग कूटनीतिक सम्बन्धमा पनि विशेष किसिमको सम्बन्ध दर्शाउन खोजेको, विशेष सदस्यता र विशेष श्रद्धा दर्शाउन खोजेको बताए ।
कमनवेल्थको जिकिर किन ?
नेपाल कहिल्यै पराधीन भएन । तर, नेपालमा कमनवेल्थमा सामेल हुनेबारे भने बेला–बेलामा चर्चा चल्ने गरको छ ।
तत्कालीन शाही शासन कालमा अर्थमन्त्री भएका मधुकरशमशेर राणाले सन् २०१६ मा नेपालले कमनवेल्थ राष्ट्रको सदस्यता लिनु फाइदाजनक भएको भन्दै उनले प्रस्ताव पेश गरेका थिए ।
नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा राणाको प्रस्तावलाई सहभागीबाट आलोचनासँगै समर्थन पनि मिलेको थियो ।
उनले नेपालले सन् १९९० को दशकको मध्यमा कमनवेल्थको हिस्सा बन्ने प्रस्तावलाई उल्लेख गर्दै नेपाल र बेलायतले कूटनीतिक सम्बन्धको द्विशतवार्षिकी मनाउँदै आएकाले यो विषय उठाउन सरोकारवालालाई आग्रह गरेका थिए ।
राणाले कमनवेल्थ अफ नेसन्स हरारे घोषणापत्र बमोजिम प्रजातन्त्र, मानवअधिकार र विधिको शासनजस्ता आधारभूत मूल्यमान्यतालाई अंगीकार गरेर नेपाल राष्ट्रसंघको सदस्य हुनसक्ने तर्क पेश गरेका थिए । कमनवेल्थमा सामेल भएमा हामीलाई हाम्रो चासो र कूटनीतिलाई विविधीकरण गर्ने असाधारण अवसर प्रदान गर्ने उनको तर्क थियो ।
“नेपालले कमनवेल्थको सदस्य राष्ट्र हुने मापदण्ड पूरा गर्छ,” स्वर्गीय राणाले सीओएनमा सामेल हुने नेपालको सम्भावनाबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भनेका थिए, “सीओएनको सदस्यता प्राप्त गर्न पहिलेको ब्रिटिश उपनिवेश हुनु आवश्यक थिएन । किनकि मोजाम्बिक र रुवान्डाजस्ता देश जुन बेलायतीहरूले कहिल्यै शासन गरेनन्, यसका सदस्य राष्ट्रहरू हुन् ।”
कमनवेल्थमा ५६ सदस्य–राष्ट्रहरु सामेल छन् । तर, बेलायतको उपनिवेश बनेको म्यानमारले सदस्यता लिएका छैनन् ।