काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब रुपैयाँ रहेको आरोप लगाउनेलाई कहाँ छ भन्ने प्रमाणित गर्न चुनौती दिएका छन् ।
बुधबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो ‘सम्पति नै आफ्नोबाट अन्त्य गरेकालाई आरोप लगाइएको’ बताए ।
“केपी ओलीले यसपटक २० अरब कि खरब चुनावमा खर्च गर्छ भन्दैथ्यो । २० अरब कि खरब कति हो, उही जानोस् । कति हुन्छ, उसले देख्या होला । त्यति त मैले हिसाब पनि गर्न जान्या छैन,” ओलीले भने ।
उनले २० अर्ब कहाँ छ भनेर देखाए उसैलाई सो रकम दिइने समेत बताए । “टेलिभिजनमा फत्फताउँदैथ्यो, दुई अरब छ रे केपी ओलीसँग । २० अरब केपी ओलीसँग छ, कहाँ छ भन्दा रिजर्ब बैंकमा छ भन्छ । उसले देख्याजस्तो,” उनले भने, “यदि, त्यो मान्छे सद्दे भए त्यो पत्ता लगाइदिए हुन्छ । त्यो सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत होइन, सय प्रतिशत उसैको नाममा गर्दिन्छु । २० अरबको मालिक त एकैपटक पाउने भो नि, किन अरू गरिरहनुपर्यो ?”