site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मानुषीलाई काठमाडौंबाट चुनाव लडाउने बाबुरामको प्रस्ताव, आफू प्रत्यक्षमा नउठ्ने संकेत

काठमाडौं । पूर्वमाओवादी नेता एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय निर्वाचनमा काठमाडौं–७ बाट छोरी मानुषी यमी भट्टराईलाई उमेदवार बनाउन प्रस्ताव गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले छोरी मानुषीसहित संघमा तीन सिटमा दाबी गरेका हुन् । भट्टराई नेतृत्वको नेसपा माओवादीकै चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ ।

मंगलबार दुई पार्टीका नेताहरूले निर्वाचन आयोगमा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हतौडाबाट प्रतिस्पर्धा गर्नका लागि निवेदन दिएका हुन् ।

Argakhachi Cement Island Ad

संघका तीन सिटमा बाबुरामको दाबी
स्रोतका अनुसार मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले डा. भट्टराई नेतृत्वको पार्टीले संघमा तीन सिट दाबी गरेको जानकारी गराएका थिए ।

त्यसमध्ये उनले छोरी मानुषीलाई काठमाडौं–७, पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवलाई सर्लाही र गोविन्द चौधरीलाई नवलपरासीबाट संघको प्रत्यक्षतर्फको उमेदवार बनाउन प्रस्ताव गरेका छन् ।

नेता गंगा श्रेष्ठलाई सिन्धुलीबाट प्रदेशसभामा लडाउने तयारी छ ।

बाबुरामपुत्री मानुषीले काठमाडौं–७ बाट आफ्नो उमेदवारी रहने बताइन् । बाह्रखरीसँग उनले भनिन्, “मेरो उमेदवारी काठमाडौं–७ बाट हो । म जन्मेको हुर्केको क्षेत्र पनि यही हो ।”

०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी नेत्री एवं मानुषीकी आमा हिसिला यमी काठमाडौं क्षेत्र नम्बर–७ बाट विजयी भएकी थिइन् । ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–७ बाटै उमेदवारी दिएकी हिसिला पराजित भएकी थिइन् ।

प्रत्यक्षमा नउठ्ने बाबुरामको संकेत
पार्टीका नेताहरूका लागि सिट व्यवस्थापनमा लागेका डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचनमा आफू उमेदवार नबन्ने संकेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा गरेको ‘ब्रिफिङ’लाई उद्धृत गर्दै एक नेताले भने, “बाबुरामजीले मेरो कारण माओवादीलाई समस्या हुँदैन भन्नुभएको छ । उहाँले सहकार्यका लागि बाधक बन्दिनँ भन्नुभएकाले सहकार्य सहज बन्छ ।”

डा. भट्टराईले तीन सिटमा मात्र दाबी गरेकाले उनले गोरखा माओवादीलाई छाड्न सक्ने चर्चा समेत छ ।

डा. भट्टराई ०६४ र ०७० को ०७४ सालमा गोरखाबाट निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा भट्टराई नेपाली कांग्रेसको गठबन्धनसँग मिलेर चुनाव लडेका थिए । सो क्रममा उनले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

समानुपातिकमा पनि गर्न सक्छन् दाबी
एउटै चिह्नबाट प्रतिस्पर्धा गरे पनि केही समानुपातिक सिटमा समेत बाबुराम पक्षले दाबी गर्ने सम्भावना छ ।

माओवादी नेताहरूका अनुसार भविष्यमा एउटै पार्टी बनाउने लक्ष्यसहित डा. भट्टराई आएकाले समानुपातिक सिटमा पनि केही नेताहरूलाई समेट्न सकिन्छ । बाबुरामका कारण समानुपातिकमा केही मत बढ्न सक्ने नेताहरूको बुझाइ छ । समानुपातिकमा संघभन्दा प्रदेशमा बाबुराम पक्षका नेताहरूलाई समेट्न सकिने विकल्पबारे पनि छलफल भइरहेको माओवादी नेताहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्