site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
मेरो ९० वर्षे उमेरमा नेपालमा घुस नखाने एक/दुईजना देखेकोमध्ये थिए दुर्गा प्रकाश 

काठमाडौं । दुर्गाप्रकाश पाण्डे र हाम्रो परिवारको नजिकको नाता सम्बन्ध पनि छ । हामी उमेरले पनि एउटै एउटै हौँ । मभन्दा दुर्गाप्रकाशजी केही महिनामात्रै जेठो हुनुहुन्छ ।

उहाँ सानैदेखि संघर्षरत मानिस हुनुहुन्थ्यो, ‘सेल्फमेड’ । उहाँलाई कसैले बनाइदिएको होइन, आफ्नो संघर्षले नै अघि बढ्नुभएको हो ।

उहाँको प्रगतिमा उहाँको आमाकोबाहेक कसैको हात छैन । उहाँ आफैं संघर्ष गरेर पढ्नुभएको हो । आफ्नै मेहनतले अघि बढ्नुभएको हो ।

हामी १२–१३ सालतिर भारतमा सँगै पढ्न गएका थियौं । केही समय हामी सँगै पनि बस्यौँ । म अलि छिटो फर्किएँ । उहाँ केही समय त्यहाँ नै रहनुभयो ।

म नेपाल आइसकेपछि योजना आयोगमा जागिर खाने तयारीमा थिएँ तर मेरो बुबाले जागिर खाने मेरो इच्छामा खासै रुचि देखाउनुभएन ।

म २०१५ सालमा नै एमए सकेर नेपाल आएको थिएँ । सुवर्णशमशेरले मलाई योजना आयोगमा काम गर्न आग्रह गर्नुभएको हो तर मेरो बुबाले भन्नुभयो– तिमी पढेर आएको मान्छे जागिर खाने होइन शिक्षा दान गर्नुपर्छ ।

त्यसपछि हामी कलेज खोल्नुपर्छ भनेर लाग्यौँ । सरस्वती कलेज मेरै पहलमा खोलिएको हो । सरस्वती कलेज खोल्दा हामी तीनजना थियौँ– पछि चौथो व्यक्तिका रुपमा दुर्गाप्रकाशजी आउनुभयो ।

उहाँ त्यसबेला भारतमा पढेर आउनुभएको थियो । त्यसबेला सरस्वती कलेजमा पहिलो ब्याचमा भर्ना भएका अहिले केही राजनीतिज्ञ सक्रिय छन् ।

दुर्गाप्रकाशजी पनि पढेर आउनुभएको थियो, अनि मैले नै बोलाएँ– आउनूस् क्याम्पस पढाउन भनेर ।

उहाँ आउनुभयो हामीले केहीसमय सँगै पढायौँ पनि । उहाँले पछि सरकारी जागिर खाने विचार गर्नुभयो । लोकसेवाको तयारी पनि गर्नुभयो । जाँच दिनुभयो पास पनि हुनुभयो । उहाँ धेरै समय पर्यटन डाइरेक्टर भएर काम गर्नुभयो । पछि अर्थमन्त्रालयमा जानुभयो । त्यहाँ पनि विभिन्न विभागमा रहेर काम गर्नुभयो ।

उहाँ भन्सार विभागमा पनि लामो समय रहनुभयो । ‘यो देशमा घुस नखाने मान्छे हो’ भनेर भनियो भने अहिले कसैले पत्याउँदैन ।

तर मेरो ९० वर्षको उमेरमा घुस नखाने कर्मचारी देखेको एक–दुई जनामध्ये उहाँ नै हो । उहाँको इमान्दारिताको जति बयान गरे पनि सकिँदैन ।

उहाँ पछि वाणिज्य मन्त्रालयको सचिवबाट अवकास लिनुभयो । उहाँ निष्ठावान व्यक्ति हो । घुस खाने कुरा उहाँबाट कहिल्यै सम्भव नै भएन । यो देशमा घुस नखाने मान्छे देखेको मैले उहाँ नै हो भनेर अघि पनि भनेँ फेरि पनि दोहोर्‍याउँछु ।

मैले यो कुरा किन पनि दाबीका साथ भनिरहेको छु भने म पछि अञ्चलाधीश भएँ । 

अनुसन्धान गर्ने निकाय मेरै मातहतमा हुन्थे । कति कर्मचारीहरुले को कोसँग रकम लिएका छन्, कसलाई बुझाएका छन् भन्नेसमेत जानकारी हुन्थ्यो । तर उहाँका बारेमा कसैले केही भन्न सकेन । उहाँ त्यति निष्ठावान हुनुहुन्थ्यो । 

उहाँसँग मेरो सम्बन्ध भनेको बीचको केही समयमात्रै होइन, सानैदेखि अन्तिम समयसम्म थियो । उहाँको विहेदेखि चौरासी पूजासम्म म सहभागी भएको छु । मेरो परिवार सहभागी भएको छ । 

दुर्गाप्रकाशजी कन्सुलर भएर कलकत्तामा पनि बस्नुभयो । उहाँले बेला बेला मलाई बोलाउनु पनि हुन्थ्यो । म एक–दुईपल्ट गएको पनि छु ।

मेरो श्रीमती तिर्थ जान मन गर्ने भएकाले पनि त्यहाँ पुगेका हौँ । उहाँले भनेको कुरा मैले कहिल्यै नाइँ भनिन, मैले भनेको कुरा पनि उहाँले कहिल्यै नाइँ भन्नुभएन । 

उहाँ काउन्सिलर भएर जानुभयो मलाई लाग्छ उहाँ त्यहाँ करिब पाँच वर्ष बस्नुभयो होला फर्किएर आएपछि उहाँले भन्नुभयो– म काठमाडौं बस्दिनँ । 

त्यसपछि उहाँ वीरगन्ज जानुभयो । वीरगन्ज चिनी कारखानामा उहाँ अध्यक्ष तथा महाप्रबन्धक भएर जानुभयो । 

त्यो बेला म वीरगन्ज जाँदा पनि सँगै बस्ने भन्नुहुन्थ्यो तर मैले पनि उहाँलाई अप्ठेरो पार्ने काम गर्थिन । उहाँ त्यहाँ कसरी बस्नुभएको छ, भोलि फेरि साथी पनि ल्याएर राख्यो भन्ने आरोप लाग्न सक्छ भनेर म त्यहाँ गए पनि उहाँसँगै बसिनँ । 

हामी भारतको अलाहवादमा पनि सँगसँगै पढेका हौँ तर बसाई फरक फरक थियो । 

उहाँ होस्टलमा बस्नुहुन्थ्यो म कोठामा । बेला बेला उहाँ सुन्तला लिएर म कहाँ आउनुहुन्थ्यो । त्यसबेला सँगै बसेर सुन्तला खाएको मैले अहिलेसम्म भुल्न सक्दिनँ । 

उहाँको एउटा बानी कस्तो थियो भने–कसलाई कसरी कुन व्यवहार गर्नुपर्छ सबै थाहा थियो । उहाँको इमान्दारिताका विषयमा अहिलेसम्म कसैले प्रश्न उठाएका पनि मलाई थाहा छैन ।

उहाँ संघर्षशील व्यक्ति हुनुहुन्थ्यो, सधैँ सबैका लागि राम्रो गर्नुभयो । त्यसैले पनि होला उहाँको काम, व्यवहार, इमान्दारिताले उहाँका छोराछोरीले असाध्यै राम्रो प्रगति गरेका छन् । मलाई निकै खुसी पनि लाग्छ । 

बाह्रखरीसँगको कुराकानीका आधारित 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro