site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
मेरा ‘फादर फिगर’ कट्टर अनुशासित दुर्गा प्रकाश पाण्डेय

काठमाडौं । यो कुरो हो २०३५ सालको, नेपालका कूटनीतिज्ञहरुले बाहिरबाट ल्याएको सामान विभिन्न कारणले विमानस्थलको भन्सारमा धेरै वर्षदेखि रोकिएका थिए । 

ती सामान भन्सारको गोदामबाट क्लियर गर्नुपर्‍यो भनेर सरकारले एउटा समिति बनाएको थियो । 

त्यो समितिको अध्यक्षता महानिर्देशकको रुपमा दुर्गा प्रकाश पाण्डेयले गरेका थिए । उनले विभिन्न मन्त्रालयमा उपसचिव सरहको मान्छे पठाइदिनुपर्‍यो भने पनि भर्खरै परराष्ट्र मन्त्रालयमा जागिरे भएका सेक्सन अफिसर भएका मदन भट्टराईले अवसर पाए । 

जीवनमा भेटिएका सबै सम्बन्ध आत्मीय हुँदैनन् । तर कति सास टुटे पनि स्मृतिमा रहिरहन्छन्  । सामान्य दिनजस्तो उनी दुर्गा प्रकाश पाण्डेयलाई भेट्न गए । 

दुई महिना विमानस्थलमा सँगसँगै काम गरे । ती सामानको व्यवस्थापन गरे । त्यसपछि यदाकदा बैठकमा उनीसँग भेट हुने गर्थ्यो । तर उनीसँग ४४ वर्षसम्म लामो आत्मीय सम्बन्ध होला, घनीभूत सम्बन्ध होला भनेर यी अवकाशप्राप्त कूटनीतिज्ञले पनि सोचेका थिएनन् । 

Global Ime bank

अनामनगरको तेस्रो तलामा भावुक हुँदै उनी भन्छन्, “उहाँ मेरो लागि फादर फिगर जस्तै हुनुहुन्थ्यो । उहाँबाट मैले धेरै कुरा सिकेको छु  ।” 

कामको सिलसिलमा भट्टराई कलकत्ताको वाणिज्य दूतावासमा पुगे । पहुँच हुनेहरु युरोपतिर सरुवा भए । उतिबेला सुरुमा उनलाई खासै मन नपरे पनि अहिले त्यो सबैभन्दा राम्रो निर्णय लाग्छ । काठमाडौंपछि कलकत्ता उनलाई विश्वकै दोस्रो मनपर्ने ठाउँ हो । हो, त्यही कलकत्तामा उनले पुनः भेटे दुर्गा प्रकाशलाई । उनी कलकत्तामा परराष्ट्र मन्त्रालयको तर्फबाट नियुक्त भए भने दुर्गा प्रकाश सामान्य प्रशासन मन्त्रालयबाट त्यहाँ कन्सुलर नियुक्त भए । भन्छन्, “म २०३८ माघ १७ आइतबार कलकत्ता अफिस गएँ भने उहाँ माघ १८ मा । आइतबार सार्वजनिक बिदा भएपछि दुवैले सोमबारबाट सँगै कार्यालय काम सुरु गरेका थियौँ ।”

यहीँबाट पारिवारिक सम्बन्ध सुरु भएको उनी सम्झन्छन् । “मेरो छोरो एक वर्षको मात्र थियो, छोरी त्यहीँ जन्मिएकी हुन् । उहाँको जेठो छोरा ज्योती कलेज जाने, छोरी श्री भर्खरै कलेज जान सुरु र कान्छो छोरा दीप स्कूल पढ्दै थिए ।”

उमेर र कामका हिसाबले दुर्गा प्रकाश वरिष्ठ भएको उनी बताउँछन् । कलकत्ताको वाणिज्य दूतावासमा तीनवटा दर्जा थियो । दुर्गा प्रकाश महावाणिज्य दूत, हाकिम थिए । उनी दर्जामा तेस्रो भए पनि प्रशासन र कूटनीतिक हेर्ने भएकाले महत्वपूर्ण नै थियो ।

भन्छन्, “उहाँको लागि कूटनीतिक नयाँ विषय थियो । म पनि मन्त्रालयमा तीन वर्षमात्रै काम गरेकाले पोष्टिङको हिसाबले एक किसिमले नयाँ नै थिएँ । त्यसैले पनि हामीबीच घनिष्ट सम्बन्ध भयो ।” 

सामान्य कर्मचारीमाझ दुर्गा प्रकाश कडा प्रशासक, सितिमिति मान्छेलाई नटेर्ने, कसैलाई कुनै किसिमको भेदभाव नगर्ने किसिमका व्यक्तित्व थिए । 

कतिपय कर्मचारी उनको अगाडि पर्न डराउने गरेको उनी अझै सम्झ्न्छन् । 

”तर मलाई त्यस्तो भएन, मैले उहाँलाई सरल नै पाएँ । खाली के फरक पाएँ भने पारिवारिक र प्रशासनिक हिसाबले उहाँ अलग हुनुहुन्थ्यो,” उनी थप्छन्, “सरकारी काममा दत्तचित्त भएर लाग्ने स्वभाव थियो भने घरमा केटाकेटी सबैसँग घुलमिल हुने, कुराकानी गर्ने ।”

यस्तै, उनी दुर्गा प्रकाशको स्वच्छ छविको प्रशंसा गरेर कत्ति पनि थाक्दैनन् । भन्छन्, “उहाँ यतिसम्म स्वच्छ छविको हुनुहुन्थ्यो कि उहाँको परिवारले सरकारी गाडी चढ्दैनथे । बालबच्चा स्कूल जाँदा बस चढ्थे, मेडम ट्याक्सी चढ्नुहुन्थ्यो ।” 

उनकी पत्नी इन्दिरा पाण्डेय राणा र पञ्चायत कालमा नाम चलेका प्रशासक मुख्य सचिव चन्द्रबहादुर थापाकी छोरी थिइन् । उनी पद्मकन्या क्याम्पसमा संगीतको प्राध्यापक थिइन् । उनको सफलतामा उनकी पत्नीको हात उतिकै रहेको भट्टराई बताउँछन् । 

भन्छन्, “पण्डित नेहरुको भनाइमा कूटनीतिमा पत्नी भनेको मासिक तलब दिनेमा उल्लेख नभएको पूर्ण दर्जाको कर्मचारी हो । मेडमले उहाँका हरेक काममा साथ दिनुभयो ।” 

कलकत्तामा नेपालबाट आयात भएका सामानको क्लियरेन्स गर्नु, नेपालबाट निर्यात हुने सामान (जुन सीमित नै हुन्थ्यो) समुद्र पार पठाउने हो भने त्यसलाई सहजीकरण गरिदिनु, कोइला चलाउनु पर्ने, त्यसको लागि रेलको टिकट बुक गर्ने लगायतका तमाम काम पर्थे । 

कामको प्रकृतिले भन्सार, कस्टमसँग सम्पर्क राख्नुपर्ने । धेरैजसो व्यापार र उद्योग, कच्चा पदार्थको काम पर्थ्यो । कलकत्ता महत्वपूर्ण भएकाले अन्य देशका कन्सुलरसँग सम्बन्ध बढाउनु पर्थ्यो । 

त्यस्ता २०–२५ थिए । पारस्परिक सम्बन्ध बढाउन महिनाको एक पटक कूटनीतिज्ञहरुसँग ‘लन्च’ गर्ने चलन थियो । त्यहाँ भएका वाणिज्यदूत कति पछि नेपाल राजदूत भएर पनि आउने हुँदा कूटनीतिक सम्बन्ध राख्नु जरुरी थियो । 

यसका अलावा कलकत्तामा ठूलो नेपाली समुदाय र विद्यार्थी समुदाय थियो । 

उनीहरुको हित पनि हेर्नुपर्थ्यो । ब्रिटिश एरामा लण्डनपछि दोस्रो ठूलो हो कलकत्ता । उपचारको लागि थुप्रै नेपाली आउने गर्थे । 

भन्छन्, “तमिल नाडुस्थित भेलोरमा जान्थे त्यहाँ क्रिष्टियन अस्पताल थियो । उपचार सस्तो थियो । त्यसको लागि पनि सहजीकरण गरिदिनुपर्थ्यो ।”

उनलाई अझै पनि कतिपय राजदूतावासभन्दा कलकत्ताको वाणिज्य दूतावास महत्वपूर्ण लाग्छ । 

“हाम्रो गेटवे नै त्यही हो,” उनले भने, “उहाँको पालामा त्यहाँ राम्रो काम भएको थियो ।” 

उनी कलकत्ता दुर्गा प्रकाशसँग झण्डै पाँचवर्ष बसे । अफिसमा अनुशासन कायम थियो । गर्मी धेरै भएकोले त्यहाँ धोती लगाउने चलन भए पनि दूतावासका कर्मचारीका रुपमा अफिसमा सफारी सुट नै लगाउनुपर्थ्यो । दुर्गा प्रकाश समयमा नै  आउने र समयमै जाने बानी थियो । उनी भन्छन्, “सम्पर्क राख्नुपर्ने कार्यालयहरुमा नियमित राख्ने गर्नु हुन्थ्यो ।” 

रेलवे, भन्सार, ट्रेड युनियनसँग, कलकत्ता बन्दरगाहसँग निरन्तर सम्बन्ध राखिएको थियो । त्यहाँ भएका विद्यार्थी संगठन भेट्ने, मेडिकल र ईञ्जिनियररिङ कलेजका प्रमुखलाई भेट्ने गर्नुहुन्थ्यो ।

नेपालबाट समस्या परेर आएका विद्यार्थीलाई उहाँले तुरुन्तै कलेज भर्नालगायतका समस्या समाधान गरिदिनुहुन्थ्यो ।
त्यसबेला नेपालमा प्रजातन्त्रको लागि आन्दोलन सुरु भएको थियो । 

तर उहाँको नेतृत्वमा हामीले दूतावासलाई जुनसुकै विचारधाराको लागि पनि खुल्ला राखेका थियौँ । त्यसैले पनि कहिले कुनै समस्या भएन । 

त्यहाँ हुँदाहुँदै दुर्गा प्रकाशको सहसचिव र अतिरिक्त सचिवमा बढुवा भयो । 

उनी वीरगन्ज चिनी कारखानामा अध्यक्षको रुपमा सरुवा भए भने त्यसपछि  आपूर्ति मन्त्रालय र वाणिज्य मन्त्रालय पुगे । वाणिज्यबाटै अवकाश पाए । त्यसअघि उनले भन्सारमा काम गरेर पनि स्वच्छ छवि राखेरै बिदा हुनु ठूलो कुरा रहेको उनी औँल्याउँछन् ।

कलकत्तामा उनी हुँदा प्रधानमन्त्री इन्दिरा गान्धीको दिल्लीमा हत्या भयो । उत्तरी भारतमा धेरै समस्या भए पनि पश्चिम बंगालमा त्यति धेरै नराम्रो नभएको उनी बताउँछन् । तर त्यही भ्रमणले स्वर्गीय राजा वीरेन्द्र र ऐश्वर्यको निजी भ्रमण रोकिएको थियो । राजा वीरेन्द्रको कान्छी फूपुको विवाह उडिसाको रैरंगपुरमा त्यहाँको राजपरिवारसँग भएको थियो ।

फुपूले छोराको विवाहमा राजपरिवारलाई बोलाइएको थियो । तर भारत सरकारले प्रधानमन्त्रीको हत्या भएको बेला विदेशी राष्ट्राध्यक्षको भ्रमण नगर्ने भनेपछि त्यहाँ नेपालका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र कोमलले भ्रमण गरेका थिए । त्यो भ्रमण दुर्गा प्रकाशकै नेतृत्वमा सञ्चालन गरिएको थियो । 

दुर्गा प्रकाशले कलकत्तामा राम्रो काम गरेबापत राजा वीरेन्द्रको जन्मोत्सवमा २०४३ पुसमा तक्मा पाए । तक्मा पाएपछि दुर्गाप्रकाशले लेखेको पत्र स्मरण गर्दै भट्टराई भन्छन्, “महाराजधिराजबाट तक्मा पाएको छु । यो पाउनमा तपाईँको योगदानलाई पनि स्मरण गरेको छु, यो लेख्न जरुरी थिएन तर पनि सम्झिनुभयो । उहाँ त्यति सरल मान्छे हुनुहुन्थ्यो ।” 

२०४५ मा भारतले नेपालमा नाकाबन्दी लगाएको बेला भट्टराई वाणिज्य मन्त्रालयमा थिए भने दुर्गा प्रकाश आपूर्ति मन्त्रालयमा कायम मुकायम सचिव थिए । 

त्यसपछि उनी भैरहवामा सरुवा भए । वाणिज्य सचिव भएर दुर्गा प्रकाश वाणिज्यमा आएपछि उनी पनि वाणिज्य मन्त्रालयमा सरुवा भए ।  

त्यसबेला गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा भैरहवाका व्यापारी गोपालमान श्रेष्ठ वाणिज्यमन्त्री थिए । २०५८ मा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कुरा भयो । त्यसबेला उनी बरखी बारेर बसेका थिए । प्रधानमन्त्रीको भ्रमणमा तपाईँ जानुपर्छ भनेर दुर्गा प्रकाशले उनलाई भने । तर बरखी बारेको पहिरनमा औपचारिक भ्रमणमा जान उनी चाहेनन् । 

यसैबीच, चक्रप्रसाद बास्तोलाले झापामा चुनाव हारेपछि भारतमा राजदूत नियुक्त गरिएको थियो  । 

तर २०३०  मा उनले भारतीय जहाज कब्जा गरेर आरोप सहितको उजुरी विहारको कोर्टमा मुद्दा चलिरहेको थियो । प्रधानमन्त्रीको भ्रमणमा चक्रप्रसादको नाम देखेपछि भारतले भ्रमणमाको स्वीकृति दिन सकेन । 

त्यसपछि जेठदेखिको औपचारिक भ्रमण मंसिरमा पुग्यो । त्यसबेला उनको बरखी सकिन लागेको थियो । बरखी सकेको भोलिपल्ट उनी भारत गए सहायक सचिवको रुपमा । दुर्गा प्रकाश वाणिज्य सचिवको रुपमा अघिल्लो दिनमै पुगिसकेका थिए । त्यो भ्रमणमा नेपालमा केही महत्वपूर्ण सम्झौता ग¥यो । जसमा टनकपुरको सम्झौता विवादास्पद भई कोर्ट केस भएको भट्टराई बताउँछन् । तर भारतसँग व्यापार र पारवहानका दुईटा छुट्टाछुट्टै सन्धीलाई उनी महत्वपूर्ण उपलब्धि मान्छन् । भन्छन्, “मलाई गर्व लाग्छ कि उहाँको नेतृत्वमा यो सम्झौता भयो । कुनै विवादबिना टुंगो लाग्यो ।”

“उहाँलाई सचिव भएको बेला हृदयघात भएको थियो । छोराछोरीलाई याद नहुन सक्छ,” उनले भने, “तत्कालीन मन्त्रीले हाम्रो सचिवलाई हृदयघात भएर अस्पताल लगियो भन्दा प्रधानमन्त्री कोइरालाले भन्नुभयो लौन नि मैले कसरी चलाउने ? मैले विश्वास गरेको २,४ सचिवमध्ये हो एक उहाँ । उहाँले त्यस्तो विश्वास कमाउनु भएको थियो ।”

बीपी कोइरालादेखि नै जागिर खाएको, राजा महेन्द्रको शासन, जनमत संग्रह र बहुदलीय व्यवस्था पनि देखेको उहाँलाई सबैले कुशल प्रशासक भएको भट्टराई स्मरण गर्छन् ।

मिर्गौलाका बिरामी दुर्गा प्रकाशको केही दिनअघिसम्म पनि डायलिस गरिरहँदा वाणिज्य मन्त्रालय, कहिले भन्सार विभाग छोराहरु लिएर जाने गरेको भट्टराई सम्झिन्छन् । भन्छन्, ”अंकल ड्याडी आउँदै हुनुहुन्छ भनेर छोराहरु भन्थे, अनि म यहीँ तल गाडीमा भेट्थेँ । कहिले तल आँगनमा कुर्सीमा बस्थ्यौँ । ४४ वर्षको हाम्रो आत्मीय सम्बन्ध थियो ।“

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu