site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीका माग जायज छन्, सुविधा बढाउनुपर्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पछिल्लो समय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारभित्र बस्नेहरुले खेलकुदलाई बुझेनन् । यसलाई एक सामान्य क्रियाकलापका रुपमा मात्र लिन्छन् भनेर पटक पटक दोहोर्‍याए । सरकारले नयाँ खेलकुद विकास ऐन कार्यान्वयनका लागि नियमावली सैद्धान्तिक रुपमा पास गरेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट गण्डकी प्रदेशमा गर्ने भनेर घोषणा गरिसकेको छ । यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसँग बाह्रखरीका सुजन श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नै ‘सिंहदरबार भित्र बस्नेहरुले खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र लिन्छन्’ भन्ने आरोप लगाउनु भएको छ । के नेपाली खेलकुद सामान्य क्रियाकलाप मात्र हो त ? 

यसलाई त्यस हिसाबले मात्र हेर्नुहुँदैन । मन्त्रीज्यूले हाम्रो बजेट सानो भएका हुनाले बजेटको साइज बढाएर यसको क्रियाकलापहरु बढाउँ भन्ने हिसाबले भन्नुभएको हुनसक्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसको स्पष्टता त उहाँसँग नै बुझ्नुपर्छ । तथापी खेलकुद एक महत्वपूर्ण विधा हो । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय तहमा हाम्रो पहिचान वृद्धि गर्छ ।

यसले अर्थतन्त्र, उद्योग, पर्यटनलगायत समग्र क्षेत्रमा सम्बन्ध राख्न सक्छ । यसले देशको साँस्कृतिक विकासमा पनि सहयोग गर्नसक्छ । त्यसकारण यो एक महत्वपूर्ण विधा हो र यसलाई त्यसै हिसाबले स्वीकार्नुपर्छ । यसलाई अन्य विभिन्न क्षेत्रसँग जोडेर अघि बढ्नुपर्ने आवशयकता छ । 

Royal Enfield Island Ad

यदि त्यसो हो भने खेल क्षेत्रमा बजेट किन यति कम विनियोजन गरिन्छ त ? 

यसमा दुई तीनवटा कुरा छन् । एक, खेलकुद कहिले कुन मन्त्रालयसँग त कहिले कुन मन्त्रालयसँग आवद्ध हुँदै आएको छ । पहिले शिक्षा मन्त्रालयसँग थियो । अहिले युवा मन्त्रालयसँग टाँसिएर आएको छ । सुरुका दिनमा यसको स्थायित्व नहुँदा पनि त्यो समस्या आएको हुनसक्छ ।

दुई, हाम्रो पूर्ण बजेट नै सानो भएको सन्दर्भमा खेलकुदको मात्र होइन, अन्य सामाजिक क्षेत्रसँग सम्बद्ध मन्त्रालयको बजेट पनि कम नै छन् । जस्तो महिला मन्त्रालयको पनि बजेट कम छ । अन्य मन्त्रालयहरुका बजेट पनि कम छन् । त्यसकारण पनि हाम्रो बजेट कम भएको हो । 

तेस्रो, हामीले बजेट बढी पाउन पनि सक्छौं । बजेट बढी पाउनका लागि हामीले बजेट खर्च पनि गर्न सक्नुपर्छ । विगत केही वर्षहरुलाई हेर्ने हो भने खेलकुद क्षेत्रको बजेट त्यतिधेरै खर्च गर्न सकेका छैनौं । 

बजेट माग्ने बेलामा हामीले बढी बजेट माग्छौं । तर, कार्यान्वयन पक्ष भने अलि फितलो देखिन्छ । आर्थिक वर्षको अन्त्य हुँदा बजेटको ठूलो रकम खर्च हुन सक्दैन । यदि हामीले बजेट खर्च गर्ने क्षमता बढाउने हो भने बजेट प्राप्त हुन सक्छ । त्यसकारण अब हामीले बजेट प्राप्त गर्न बजेट माग्ने मात्र होइन, बजेट खर्च गर्ने क्षमता पनि बढाउनुपर्छ । 

खर्च नहुने कारण चै के हो ? यहाँ कतिपय ठुला योजनाहरु निर्माणको चरणमा छन् । उनीहरुले बजेट पर्याप्त भएन भनेर गुनासो गर्छन् ? नपाएको हो कि खर्च गर्न नसकेको हो ?

यस्तो हो, एउटा हाम्रो लागत अनुमान पनि सही हुँदैन । कहिलेकाँही लागत अनुमान बढी बनाउछौं र बजेट पाउँदैनौं । जुन रकम प्राप्त गरेका छौं, त्यो रकमलाई पूर्ण रुपमा कसरी खर्च गर्ने हो त ?

१२ महिनामा हामीले पाएको रकम कसरी खर्च गर्ने भनेर योजना बनाउनुपर्छ । बजेट अनुमान कहिले बनाउने,  त्यसको टेन्डर कहिले निकाल्ने, टेन्डर अवार्ड कहिले गर्ने र सुरुआत कहिले गर्ने हो ? भनेर विजनेस प्लान बनाएर जानुपर्छ । धेरै जसो हाम्रो आयोजनाहरु विजनेस प्लान बनाउन नसक्दा सम्पन्न गर्न गाह्रो भएको छ ।

एकाध ठाँउमा रकम अभाव भएको पनि हुन सक्छ । केही ठाँउमा जग्गाको मुआब्जा विवाद तथा अन्य विवादले गर्दा समयमा सम्पन्न गर्न कठिन भएको पनि हुन सक्छ । तर, मलाई के लाग्छ भने खर्च गर्न नसक्नुमा व्यावसायिक योजना बनाउन नसक्नु बढी जिम्मेवार छ ।

त्यसो हो भने खेलकुद क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ भन्न खोज्नु भएको हो ?

होइन,  यो मन्त्रालयको मात्र कुरा होइन । हामीले समग्रमा हर्ने हो भने अरु मन्त्रालयको हातल पनि त्यही छ । 

एउटा, हाम्रो जग्गाको समस्या छ । दोस्रो यहाँले भन्नुभएको जस्तो बजेट पूर्ण दिन सकेनौं होला । त्योभन्दा बढी त हाम्रो खर्चको जुन परिपाटी छ । त्यसमा एक्सन प्लान चाहिन्छ ।

तपाईं हामीले घरमा गर्ने बजेट खर्च त एक्सन प्लान बनाएर गर्छौं । हामीले सीमित आम्दानीकोबीचमा योजना बनाएर खर्च गरिरहेका हुन्छौं । हामीले वर्षौँदेखि योजना राखिरहेका छौं । त्यसमा खर्च गर्न सकेका छैनौं । खर्च गर्न नसक्ने योजना काटिदियौं । आयोजनालाई निरन्तरता पनि दिइराख्ने तर, खर्च पनि गर्न नसक्ने ।

त्यसरी सम्पन्न गर्न नसकेको आयोजनालाई केही वर्ष ड्रप गरौं । ठुलो आयोजना जहाँ रकमको अभाव भइराखेका छन् । त्यसमा रकमान्तर गरौं । विजनेस प्लान बनाएर अघि बढ्नुपर्छ । यी खेलकुदमा मात्र होइन, समग्र सार्वजनिक प्रशासनिक कमजोरी हुन् । अन्य मन्त्रालयमा पनि यस्ता कमजोर पर्याप्त देखिन्छ ।

खेलाडीको सधैँ गुनासो हुनेगर्छ, राम्रो सामाजिक सुरक्षाको व्यवस्था हुन सकेन भनेर । त्यसको समाधान कहिले हुने ? 

खेलाडीका गुनासा जायज छन् । हामीले खेल क्षेत्रलाई केही अघिसम्म एउटा हविको रुपमा मात्र लिएका थियौं । मनोरञ्जनका रुपमा लिएका थियौं । अहिले आएर यसले व्यावसायिक रुप लिएको छ । ती खेलाडीको पनि आफ्नो जीवन हुन्छ । उसले आफ्नो जीवन धान्न पर्छ । जसरी हामी आ–आफ्नो पेशा व्यवसायमा लागेका छौं ।

उहाँहरुको पेशा व्यवसाय खेल हो । त्यसकारण खेलाडीलाई तीन चार वटा काम गर्नुपर्छ । एक, उनीहरुको यो पेशा हो । व्यवसाय हो । त्यसको अनुभूत हुने काम गर्नुपर्छ । हामी कर्मचारीले बिदा पाउँछौैं । हामीले विमाको सुविधा पाउँछौं । अस्पतालमा सुविधा पाउँछौं । अरु विभिन्न सुविधा पाउँछौं । अब खेलाडीलाई पनि सामाजिक सुरक्षाका यी आयामहरुमा सुविधा बढाउनुपर्छ । 

अब हामीले त्यसका लागि के गर्यौं त ? हामीले एउटा स्पोर्टस युनिभर्सिटी अवधारणा अघि बढायौं । खेलाडीको बिमा गर्ने कुरा गरिरहेका छौं । खेलाडीको अस्पतालका कुरा गरिरहेका छौं । अब खेलाडीलाई सानै भए पनि मासिक रुपमा वृत्ति दिनुपर्छ भनेर अघि बढेका छौं । खेलाडीका गुनासा जायज छन् । त्यसलाई हामी क्रमशः समाधान गर्दै अघि बढ्नेछौं । 

तपाईं वित्तीय क्षेत्रमा पनि राम्रो दखल राख्नुहुन्छ । खेलकुदलाई उद्योगका रुपमा विकास गर्न के–के गर्नुपर्छ ? 

खेलकुदमा तीन चार वटा कुरा चाहिने रहेछन् । पहिलो कुरा त खेलाडी उत्पादन हुनुपर्‍यो । खेलाडी उत्पादन कसले गर्छ त ? या त शिक्षण संस्थाले या क्लबहरुले गर्छ । खेलाडी उत्पादन भएर मात्र पनि भएन । खेलाडीलाई अभ्यास गर्न खेल पूर्वाधार चाहियो ।

पूर्वाधार पनि भयो अभ्यास पनि भयो । अब उसले प्रतिस्पर्धामा भाग लिनु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ।

त्यसकारण हामीले खेलकुद प्रतियोगिता धेरै भन्दा धेरै आयोजना गर्नुपर्छ । हाम्रो १८० जति खेल संघ छन् । उहाँहरुले देशभित्र र बाहिर आयोजना हुने प्रतियोगितामा खेलाडीलाई सहभागिता गराउनुहुन्छ । सरकारले त्यसमा सहयोग गर्नुपर्छ । 

खेलकुदमा समान्यतः तीन प्रमुख निकाय छन् । नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालय । बेला बेला यी तीन निकायबीच ‘टसल’ हुनेगर्छ । त्यसको मारमा खेलाडी पर्छन् । यो समस्यालाई दीर्घकालीन रुपमा कसरी समाधान गर्ने ?

समस्याको समाधान गर्ने निकाय पनि यिनै हुन् । कहिलेकाँही यिनीहरुबीच समन्वय नहुँदा समस्या पनि उत्पन्न भएका छन् ।

मन्त्रालयले नीतिगत व्यवस्था गर्नुपर्छ । त्यस्तै बजेटको व्यवस्था, योजनाको व्यवस्था, खेलाडी तथा  खेल संघहरुको उन्नतीका लागि आवश्यक व्यवस्था गरिदिनुपर्यो । खेलकुद परिषद्को काम के हो भने, खेल पूर्वाधार निर्माणदेखी लिएर खेल संघहरुलाई समन्वय र सहजीकरण गरिदिनुपर्यो । ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय प्रतियोगिता बढी ल्याउन सक्नुपर्यो । र अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो खेलाडीहरु सहभागि हुनसक्ने असल वातावरण बनाइदिनुपर्यो । 

यी तीन निकायले एक अर्कालाई दोष देखाएर हुँदैन । अबको दायित्व भनेको यी तीन निकायबीच नियमितरुपमा सम्पर्क र समन्वयमा हुनुपर्छ । 

नयाँ खेलकुद विकास ऐन कार्यान्वयनको कुन चरणमा पुगेको छ ? 

हामीले २०७७ मा नयाँ ऐन ल्यायौं । त्यो ऐन संघियताको सन्दर्भमा आएको हो । केही कारणले गर्दा समयमा कार्यान्वयन हुन सकेन । समयमा नियमावली आउन सकेन । नियमावली नआएपछि यसको कार्यान्वयनमा समस्या आयो । अहिले हामी कुरा गरिरहेको अवस्थामा खेलकुद विकास नियमावली पास हुने अवस्थामा छ । खेलकुद विकास ऐनले केन्द्रिय संरचनालाई चिन्यो । तर तल्लो संरचनालाई चिनेन । त्यसका लागि नियमावलीमा व्यवस्था गरेका छौं । 

राष्ट्रिय खेलकुद परिषद्मा रहनु भएका लगभग एक हजार जति कर्मचारी अहिले संघिय संरचनामा रहनु भएको छ । उहाँहरु रहनुभएको छ, जिल्लामा । जिल्लामा हाम्रो संरचना छैन । भए पनि ती कर्मचारी संघीय कर्मचारीकै रुपमा रहेका छन् । अब आउने नियमावलीले उहाँलाई समायोजन गरेर तत् तत् स्थानमा जानुहुन्छ । नियमावली आएसँगै कर्मचारीको समस्या समाधान हुन्छ । साथै संघीय र प्रदेशमा रहेका पूर्वाधारहरुको पनि व्यवस्थापन हुन्छ । संघिय, प्रदेश र स्थानीय तहबीच पनि समन्वय हुन्छ । र खेल संघहरु पनि तलबाट उत्पन्न हुँदै आउने अवस्था निर्माण हुन्छ । 

नयाँ ऐन जारी भएपछि कतिपय सरोकारवाला निकायले व्यवहारिक रुपमा समस्या छन् भनेका थिए । त्यसलाई यो नियमावलीले सम्बोधन गर्छ त ?

नियमावलीले त ऐनमा भएका व्यवस्थालाई थप व्याख्या गर्ने काम गर्ने हो । ऐनमै असन्तुष्टि छ भने त त्यसलाई नियमावलीले सम्बोधन गर्ने कुरा भएन । तर, हामीले अहिले आउने नियमावली बनाउँदा सबै सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेका छौं । त्यसो हुनाले ऐनको कार्यान्वयनमा सहज बनाउने र त्यसमा भएका केही कमि कमजोरीलाई सच्याएर राम्रो बनाउने प्रयास गरेका छौं ।


खेलकुदमा अभिलेखालयको एकदम कमि देखिन्छ । जसले गर्दा खेलकुदका इतिहासबारे थाहा पाउन निकै कठिन हुन्छ । तपाईंले आफ्नो कार्यकालमा यसका लागि केही कदम चाल्नुहुन्छ ?

हामीले यसबीचमा एक दुई वटा देशको खेलकुद मन्त्रलय तथा खेलकुद अभिलेखालय घुमेर आयौं । त्यहाँ घुम्दा धेरै पुराना खेलाडीको चित्रहरु, उहाँले प्राप्त गरेको मेडलहरु, उहाँहरुले प्रयोग गरेका खेल समाग्रीहरु देख्न पायौं । त्यस्तै अन्य अभिलेखहरु पनि संग्रह गरेको देखियो । वास्तवमा खेलकुद अभिलेखालय चाहिन्छ । स्पोर्टस् म्युजियम हामीलाई चाहिने देखियो । 

यस वर्षको कार्यक्रममा हामीले स्पोर्टस् म्युजियमको अवधारणा ल्याएका छौं । कति सक्छौं थाहा छैन । तथपी यस वर्षबाट हामी स्पोर्टस् म्युजियमको काममा अघि बढ्छौं । यो आर्थिक वर्षको अन्त्यमा सानो रुपमा भए पनि तपाईंहरुले स्पोर्टस् म्युजियम पाउनेहुनेछ । 

सरकारले दुई ठुला पर्व दशैं र तिहारको बीचमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यसको तयारी कस्तो भइराखेको छ ? तोकिएकै समयान हुने सम्भावना कत्तिको छ ?

अहिलेको लागि त्यो मितिमात्र उपयुक्त देखियो । सुरुमा हामीले जेठमा गर्ने भनेका थियौं । विविध कारणले गर्न सकेनौं । असोजमा सार्‍यौं । असोजको पहिलो सातासम्म पनि वर्षा रहने भन्ने मौषस विज्ञान विभागको रिपोर्ट आयो । त्यसपछि चाडवाड हुन्छ । र ढिला भयो भने प्रदेश र संघको चुनाव हुन्छ । त्योभन्दा पछाडि गर्दा अहिलेको राजनीतिक नेतृत्व सहभागी हुन पाउँदैन । त्यसकारण त्यो सन्दर्भमा अहिलेको मन्त्रिपरिषद्बाट सञ्चालन गर्नु पर्ने भएका कारण दशैं तिहारको बीचमा गर्नुप¥यो । त्यो हाम्रो बाध्यता पनि हो । 

अब समयमा हुन सक्छ कि सक्दैन भन्ने कुरामा, हामीले सातै प्रदेशसँग समन्वय गरिसकेका छौं । 

केही दिनभित्र प्रदेश समन्वय परिषद्को बैठक फेरि बस्छ । सातै प्रदेशका खेलकुद मन्त्रालय र परिषद्लाई एक्टिभ पनि बनाइसकेका छौं । 

केही दिनअघिमात्र मूल समारोह समितिको पनि बैठक बस्यो । र हामी पोखरामा केही दिनभित्र सचिवालय स्थापना गर्नेछौं । ढुक्क हुनुस् त्यो मितिमा खेल सम्पन्न हुन्छ ।

यस मन्त्रालयमा तपाईंको झन्डै ९ महिनाको अनुभवमा खेलकुद विकासमा बाधक के रहेछ ? यसको संरचना वा दृढ इच्छाशक्ति ? 

यसको बाधक भनेको एउटा, खेलकुद परिषद्मा बेला बेला हुने अस्थिरता । सदस्यसचिवको नियुक्ति हुन्छ । त्यसमा कहिलेकाहीँ प्रश्न खडा हुन्छ । केहिलेकाहीँ सदस्यसचिवको पद रिक्त रहन्छ । सदस्यसचिव नहुँदा त्यहाँकोे कर्मचारी पनि डिमर्फ भएर बस्दो रहेछ । त्यकारण हाम्रो खेलकुदको विकास गर्नलाई खेलकुद परिषद एकदम चलायमान हुनुपर्छ । एकदम प्रभावकारी हुनुपर्छ । 

अहिले हामीसँग खेलकुद संघहरु १८० भन्दा धेरै हुनुपर्छ । उनीहरुसँगको समन्वय सहकार्य राखेपले बढाइदिनुपर्छ । समन्वय सहकार्य पनि उचित रुपमा हुन सकेको छैन । त्यो पनि एउटा समस्या हो । 

यसलाई हामी उद्योग बनाउने, व्यवसाय बनाउने, पर्यटनसँग जोड्ने भनिरहेका छौं । अब हामीले निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्छ । निजी क्षेत्रसँगको सहकार्य पनि उचित मात्रमा हुन सकेको छैन । 

कर्मचारीतन्त्रलाई स्थायी सरकार भनिन्छ । त्यो सही हो भने विकासको बाधक त त्यही रहेछ भन्न मिल्ने कि नमिल्ने ? 

कर्मचारीतन्त्र विकासको एक सम्वाहक हो । राजनीतितन्त्रले नीति बनाउने काम गर्छ । कर्मचारी संयन्त्रले त्यसलाई कार्यान्वयन गर्ने काम गर्छ । यो दुई बीच मिलन भैदिएन भने फेरि हाम्रो नीति पनि राम्रो बन्दैन । नीति बनाउने काममा राजनीतितन्त्र दुरदर्शी भईदिनु पर्‍यो । कर्मचारीतन्त्रले बनेका नीतिलाई हाम्रो कानुन तथा संयन्त्रअनुसार कार्यन्वयन गर्न सक्छ की सक्दैन त्यसको राम्रो फिडब्याक दिनुपर्‍यो । 
त्यसकारण नीति बनाउने बेला दुबै पक्षको सहकार्य हुनुपर्‍यो । कार्यान्वयन गर्ने सवालमा पनि राजनीतितन्त्रले त्यसमा सहयोग गरिदिनुपर्‍यो । यी दुईको मिलन भएर अघि बढ्यो भने नीति राम्रो बन्छ । कार्यान्वयन पनि राम्रो हुन्छ । नीति बनाउने रुपमा एकाध रुपमा समस्या छन् । अब कार्यान्वयन गर्ने क्रममा पनि कर्मचारीतन्त्र अघि प्रो–एक्टिभ हुनुपर्‍यो । एक्सन प्लानमा आधारित हुनुपर्‍यो । रिजल्ट ओरिएन्टेड हुनुपर्‍यो । त्यसकारण कर्मचारीतन्त्र विकासको एक संवाहक हो । उ बाधक बन्नु हुदैन । उ सहजकर्ता बन्नुपर्छ । सहजकर्ता बन्यो भने विकासका सम्भावना बढ्दै जान्छ । 

समस्या एकाध ठाँउमा नीति तर्जुमामा पनि समस्या देखिन्छ । कहिलेकाँही हाम्रो क्षमताभन्दा बढी नीति बनाउँछौं । क्षमताभन्दा बढी नीति पनि बनाउनु हुँदैन । त्यसकारण नीति बनाउने काममा राजनीतिक संयन्त्र दुरदर्शी हुनुपर्‍यो । कर्मचारीले नीति बनाउँदा सही फिडब्याक दिनुपर्‍यो । समग्र रुपमा साझा प्रयासबाट अघि बढ्नुपर्छ । एकाध ठाँउमा दोष दिएर पनि हुँदैन । 

तपाईंले संघीयताको कार्यान्वयन, मानव संसाधान परिचालन तथा वित्तीय सम्बन्धमा धेरै कलम चलाउनु भएको छ । पछिल्लो समय संघीयताको आवश्यकताको विषयमै धेरै प्रश्न उठ्न थालेका छन् । अर्थतन्त्रलाई भार भयो भन्ने कुरा आएका छन् । के यो साँच्चै अनावश्यक नै हो त ? 

संघीयता हामीले ल्याएको प्रणाली हो । नेपालको राजनीतिक परिवर्तन हुँदै जाँदा जनताले ल्याएको शासन प्रणाली हो । यो बहुसरकारमा आधारित प्रणाली हो । यो उच्चतम प्रजातान्त्रिक आदर्शयुक्त प्रणाली हो । यसले सरकारलाई जनताको नजिक पुर्‍याउँछ । जनता सेवाको मागकर्ता हो । सरकार सेवाको आपूर्तिकर्ता हो । जब जनता र सरकारको दुरी कम हुन्छ । सेवा प्रवाह राम्रो हुन्छ । यो अवधारणमा संघिय शासन प्रणाली आएको हो । यी यसका राम्रो पक्षहरु छन् । 

तर, कहिलेकाँही पक्ष राम्रो भइदिएन भने असन्तुष्टि आउन सक्छ । संघीयता कार्यान्वयनमा आएको भर्खर पाँच वर्ष भयो । दोस्रो चरणमा प्रवेश गर्दैछ । 
यो नयाँ अवधारणा थियो । हामीले पनि सिक्दै गयौं । तीन तहका सरकारले पनि सिक्दै गए । हिजो संरचना थिएन । कानुन थिएनन् । जनशक्ति थिएन । यो सबै सन्दर्भमा विगतका दिनमा हाम्रो एकाध कमिकमजोरी पनि रह्यो होलान् । त्यस सन्दर्भमा आएको गुनासो ठिक हो । 

तस्बिर : सुनिल प्रधान
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro