site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थीको रोजाइमा कृषि संकाय

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि संकायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै आएको विश्वविद्यालयका कृषि संकायका डिन लालप्रसाद अम्गाईले बताए । “कृषि विषय विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ”, उनले भने, “कृषि संकायका लागि छुट्याइएको ३८० बिघा जग्गा नाममा आउन सकेको छैन, यसका लागि पहल गरिरहेका छौँ ।”

कृषि विषय (कृषि र पशु)मा अहिले स्नातक तहसम्म मात्रै पठनपाठन हुँदै आएकामा आउँदो शैक्षिक सत्रदेखि स्नातकोत्तरका कक्षा सञ्चालनका लागि तयारी भइरहेको उनले बताए । “वन विज्ञानतर्फको स्नातक तहका कक्षा सञ्चालन गर्नका लागिसमेत काम अगाडि बढाएका छौँ”, उनले भने, “वन विज्ञान र कृषि विषयको ५० प्रतिशत कोर्ष मिल्ने भएकाले सँगसँगै लैजाने प्रयासमा रहेका छौँ ।”

कृषि पढ्ने विद्यार्थीलाई किसानको घरदैलोमा पठाएर ओजिटी कक्षा सञ्चालन गरी किसानलाई उन्नत खेती र प्रविधिबारे जानकारी दिने प्रयासमा लागेको उनले बताए । कृषिको आयातलाई प्रतिस्थापन गरी निर्यातमुखी कृषि प्रणालीको विकास गर्न किसानको घरदैलोमै विद्यार्थी पठाएर उत्पादकत्व बढाउने कार्यमा लागेको उनको भनाइ छ ।

“विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने प्रयासमा लागेका छौँ”, उनले भने, “किसानलाई सँगै राखेर शिक्षा दिइयो भने त्यसले दीर्घकालीन समयसम्म असर गर्छ, किसान देशका गहना भएकाले तिनको सम्मान गरिनुपर्छ ।” भौतिक पूर्वाधार निर्माणतर्फ विश्वविद्यालयको आफ्नै लगानीमा रु २० करोडको एकेडेमिक भवन निर्माणको काम अगाडि बढाइएको छ ।
 
भैँसीको अनुवांशिक स्रोत केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गोठ निर्माणको कार्य गरिएको छ । घाँसखेतीसमेत गरिएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाका तर्फबाट माछा पोखरी निर्माण गरिएको छ । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कक्षाका लागि माछापोखरीमा माछापालन गरिएको छ । आयोजनाका तर्फबाटै प्रविधि प्रचार प्रसारका लागि समेत सहयोग गरिएको कृषि संकायका डिन अम्गाईले बताए ।

सामाजिक विकास मन्त्रालयका तर्फबाट कुखुरापालनका लागि खोर निर्माणसँगै तरकारी घर निर्माण गरिएको छ । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कृषि र पशु पठनपाठन गर्दै आएका विद्यार्थीका लागि माटो परीक्षण प्रयोगशाला, पशु र रोगकिरा परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
 
विद्यार्थीलाई अवलोकन, अध्ययन अनुसन्धानका लागि एक ठाउँबाट अर्को ठाउँमा जान र ल्याउनका लागि बसको आवश्यकता पर्ने भए पनि हालसम्म बस खरिद गर्न नसकिएको उनले बताए । “आउँदो शैक्षिक सत्रदेखि वन विज्ञानको स्नातक तहमा पठनपाठनका लागि तयारी गरेका छौँ”, डिन अम्गाईले भने, “त्यसका लागि विभिन्न विषयका लागि जिल्लासमेत छनोट गरिएका छन् ।”

उनका अनुसार जडीबुटीका लागि बझाङ, बाजुरा र दार्चुला, वन शिक्षाका लागि डडेल्धुराको जोगबुडा, कञ्चनपुर र कैलाली तथा वन्यजन्तुका लागि कैलालीको टीकापुर एवं घोडाघोडी क्षेत्रलाई छनोट गरिएको छ । यसका लागि पाठयक्रम निर्माण गर्ने कार्य भइरहेको छ ।

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी स्वच्छ ढङ्गबाट विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइनुपर्ने उनको भनाइ छ । “पर्याप्त बजेट नहुँदा शैक्षिक गतिविधि विस्तार गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणमा निकै चुनौती छ”, उनले भने, “शिक्षा क्षेत्रको विकासका लागि तीनवटै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी बजेटको व्यवस्था गर्नुपर्छ, योसँगै विश्वविद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro