(अभिनेता रणवीर कपुरका लागि यो वर्ष विशेष छ । चार वर्षपछि उनीद्वारा अभिनीत दुई ठूला चलचित्र ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ रिलिज हुँदै छ । छिट्टै नै उनी बुवा पनि बन्दै छन् । यसै सिलसिलामा रणवीरले फिल्मी करियर, बक्सअफिस, ओटीटीलगायत विषयमा नवभारत टाइम्ससँग कुराकानी गरेका छन् ।)
तपाईंका दुई ठूला चलचित्रहरू आउँदै छन् । चाँडै बुवा पनि बन्दै हुनुहुन्छ । यो वर्ष कत्तिको महत्त्वपूर्ण छ ?
म कृतज्ञ छु कि जीवनमा यो सबै भइरहेको छ । किनकि, पछिल्ला केही वर्षहरूमा मेरो परिवारमा धेरै कुरा भएका छन् । दुर्घटनाहरू भएका छन् । मैले मेरो बुबा गुमाएँ । तर, यो वर्ष निकै विशेष रह्यो । मेरो बिहे भयो । मेरा दुई ठूला चलचित्र आउँदै छन् । म भगवान् र जीवनप्रति आभारी छु ।
अहिलेसम्मको करियरमा जीवन र यथार्थवादी फिल्महरू धेरै रोज्नुभएको छ । तर, हालै ‘लार्जर देन लाइफ फिल्म गर्न चाहन्छु वा नायक त्यो हो जसको प्रवेशमा सिटी बज्छ’ भन्नुभयो । यो सोचाइको पछाडि के कारण छ ?
हेर्नुस्, राम्रो फिल्म बनाउन सजिलो छ । तर, कमर्सियल मनोरञ्जनात्मक हिन्दी फिल्म, जुन भारतभर पुग्छ, त्यो बनाउन निकै कठिन छ । तपाईं यसो पनि भन्न सक्नुहुन्छ कि मैले पनि यस्ता फिल्म गर्नेछु । त्यसमा यस्तो इन्ट्री गर्छु कि मान्छेले सिटी बजाओस् । तर, त्यसलाई सफल बनाउन निकै गाह्रो छ । जब मलाई शमशेराको अफर आयो, मलाई लाग्यो कि यो यस्तो कथा हो, जसबाट मेरो सपना पूरा हुनेछ । मलाई यस्ता फिल्मको अफर आइरहेको थिएन । मलाई निर्देशकले यस्ता पात्रमा हेरिरहेका थिएनन् । उनीहरूलाई मैले यस्तो पात्र निभाउन सक्छु भनेर थाहा थिएन । तर, म भाग्यमानी छु, मेरो राम्रो कर्मले यो फिल्म पाएको हुँ ।
अचेल कमर्सियल फिल्महरू मात्र हलमा चल्छ भनिँदै छ । यसमा तपाईं कत्तिको सहमत हुनुहुन्छ ?
यो राम्रो कुरा हो कि अब हामीसँग ओटीटीका रूपमा एउटा अर्को माध्यम आएको छ । जहाँ एक किसिमका बजेटका चलचित्र वा कथा, जुन सायद सिनेमा हलमा चल्दैन, त्यो तपाईंले घरमै हेर्न सक्नुहुन्छ । र, यसैमार्फत चलचित्रले पनि पैसा कमाउन सक्छ । पहिले ओटीटीका कारण सिनेमा हल बन्द हुने चर्चा धेरै थियो, ‘अब हलमा को जान्छ र !’ भन्थे । तर, त्यस्तो होइन । दर्शकमा रहेको ‘राम्रो चलचित्र हेर्ने भोक’लाई तपाईंले पूरा गर्न सक्नुभयो भने दर्शकले तपाईंलाई हातहातै लिन्छन् ।
म आफ्नै कुरा गरूँ, ‘तमाशा’ वा ‘रकेट सिंह’ बनाएँ र मलाई थाहा छ कि ती फिल्म हलमा चल्ने खालका होइनन् । त्यस अवस्थामा एक कलाकार र निर्माताका रूपमा मेरो यो जिम्मेवारी रहन्छ कि म यी चलचित्रहरूलाई ओटीटीमा राखूँ । यो आर्थिक रूपले राम्रो निर्णय हुनेछ । किनभने, फिल्मको निर्माण गर्नु केटाकेटीको खेल होइन । यसमा धेरै पैसा लगानी हुन्छ । धेरै मानिसको समय खर्च हुन्छ । त्यसैले यो हाम्रो लागि फाइदाजनक नै हुन्छ । किनकि, अब हामीसँग दुईवटा माध्यमहरू छन्, सिनेमा हल र ओटीटी ।
‘शमशेरा’मा पहिलोपटक १८औँ शताब्दीताकाको पात्र, ठेट गुन्डा र क्रान्तिकारीको दोहोरो भूमिका गरिरहनुभएको छ । यो तपाईंका लागि कति चुनौतीपूर्ण रह्यो ?
यसमा मैले धेरै काम गर्न पाएँ र त्यहीअनुसार मिहिनेत पनि गर्नुपर्यो । पहिला त करण (निर्देशक करण मल्होत्रा)ले मलाई सो पात्रको चरित्र बुझाउन धेरै मिहिनेत गरे । एक कलाकारका रूपमा, ममा भएको एउटा ठूलो कमजोरी भनेको मभित्र रिस अलिकति नहुनु हो । म विरलै रिसाउँछु । तर, करणले अत्यन्त धैर्यताका साथ मभित्र रिसाउने प्रवृत्तिलाई जगाए । किनकि, यस पात्रका लागि रिस अति नै महत्त्वपूर्ण थियो । यसबाहेक पनि यी दुवै पात्रमा धेरै तहहरू छन् । एक्सन, रोमान्स, कमेडी, इमोसन, जनताको स्वतन्त्रताको भावना, सबैसबै भरिएको छ । यस्ता कठिन दिनहरू पनि थिए, जतिखेर म ऐनाअगाडि आफैँलाई सोध्थेँ– म यो गर्न सक्छु ?
अचेल चलचित्रहरू हलमा त्यति राम्रो चल्न चलेका छैनन् । यसको कारण के होलाजस्तो लाग्छ ?
मेरा लागि दर्शक राजा हुन् । दर्शक सधैँ सही हुन्छन् । तपाईं यो भन्न सक्नु हुन्न कि हाम्रो चलचित्र आफ्नो समयभन्दा धेरै अगाडिको थियो वा दर्शक गलत छन् । दर्शक कहिल्यै गलत हुन सक्दैनन् । चलचित्र राम्रो छ भने दर्शक आउँछन् र माया दिन्छन् । यदि, चलचित्र राम्रो भएन भने दर्शकले तपाईंको ट्राउजर पनि फुकाल्नेछन् । तपाईंले केही गर्न सक्नु हुन्न ।
तपाईंका बुवा ऋषि कपुरसँग ‘शमशेरा’बारे केही कुराकानी भएको थियो ?
म करण (निर्देशक करण मल्होत्रा)सँग काम गरिरहेको छु भनेर बुवा निकै उत्साहित हुनुहुन्थ्यो । बुवाले उनलाई निर्देशकका रूपमा चिन्नुहुन्थ्यो । उहाँले करणसँग ‘अग्निपथ’मा काम गरिसक्नुभएको थियो । तर, बुवाले मलाई ‘अब तँ गइस् बच्चु’ भन्दै चेतावनी पनि दिनुभएको थियो । करणले धेरै मिहिनेत गराउनेछन्, त्यसका लागि तयार रहनू भन्नुभएको थियो । दुर्भाग्यवश ! उहाँ चलचित्र हेर्न यस लोकमा हुनु हुन्न । तर, मलाई थाहा छ, जब फिल्म रिलिज हुनेछ, बुवा हाम्रो काम देखेर माथि मुस्कुराइरहनुभएको हुनेछ ।
हालै तपाईंले अब धेरै चलचित्र गर्ने, परिवारका लागि काम गर्नुपर्ने कुरा बताउनुभयो । थप जिम्मेवार हुनुभएको हो ?
त्यो त ठट्टा मात्रै थियो । जब हाम्रो सन्तान आउनेछ, त्यसपछि घरमा नै धेरै समय बिताउनेछु । यसअर्थमा मैले अझै कम काम गर्नेछु । हालै बुवा बनेका करणबाट मैले यो सिकेको हुँ, । तर हो, एउटा जिम्मेवारी पनि छ ।
म कम काम गर्छु भन्दा पनि मलाई एउटा समयमा एउटा मात्र काम गर्ने तरिका मात्रै थाहा छ । किनभने, चलचित्र निर्माणमा समय लाग्छ । तपाईं कुनै छोटो चलचित्र गर्नुहुन्छ भने त्यो ४० दिनमा सकिन्छ । तर, शमशेरामा मैले १४० दिन छायांकन गरेँ । ब्रह्मास्त्रमा १६० दिन छायांकन गरेँ । यस्ता चलचित्रको रिहर्सलमा पनि थुप्रै समय लाग्छ । यसरी हेर्दा म धेरै काम गरिरहेको हुन्छु । तर हो, प्रशंसकहरूबाट म एकदमै कम चलचित्र गर्छु भन्ने गुनासो आइरहेको हुन्छ । अहिले मेरा तीन चलचित्र तयार छन् र ‘एनिमल’ सुरु गरिसकेको छु । त्यसैले अर्को वर्ष तपाईंले मलाई भेट्नुभयो भने भन्नुहुनेछ, ‘भाइ, तिमीले धेरै काम गर्यौ, अब घर बस ।’