site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थोपरिएको प्रयोगको कुनै अर्थ छैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

(साहित्यका विविध विधामा कलम चलाउने कथाकार/कवि विवश पोखरेल लामो समयदेखि यस क्षेत्रमा क्रियाशील छन् । विराटनगरमा उनको साहित्यिक र संस्थागत सक्रियता लोभलाग्दो छ । बाह्रखरी कथा प्रतियोगिता तेस्रो संस्करणको निर्णायकमण्डलका सदस्य पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश)

कथा के हो ? यसको रूप कस्तो हुनुपर्छ ?
मलाई लाग्छ, गद्य साहित्यको प्रिय विधा हो, कथा । कथाकारको मनमस्तिष्कले छोएको विषयकेन्द्रित भाव, विचार र अनुभूतिको सुन्दर, कलात्मक र आख्यानात्मक प्रस्तुति नै कथा हो । जहाँ कथाकारको सुन्दर सिर्जना शिल्पसँगै जीवन र समयको विम्ब प्रतिविम्बित हुन्छ । घटनाहरूको प्रस्तुति, पात्रहरूको चरित्रचित्रण, पाठकमनलाई प्रभाव र संवेद्य पार्न सक्ने शक्ति र सामर्थ्य नै कथाको रूप हो ।

कथा किन लेख्ने ? 
जब एउटा सर्जकको मनमस्तिष्क संवेदना, सौन्दर्य र विद्रोहले तरंगित हुन्छ, ऊ यी तीन सूत्रात्मक रचना बीजलाई कल्पना र यथार्थको सहाराले शब्दसँगै आफ्ना भाव, विचार अनि अनुभूतिसँग मन्थन गर्छ । त्यसपछि उसका सिर्जनाहरू कथा बन्छन् । समय, जीवन र प्रकृतिको एउटा चित्र कथामा आउने भएकाले र त्यसमा हामी र हामी बाँचेको परिवेश, समाज र देशको स्थिति प्रतिविम्बित हुने भएकाले पनि कथाकारहरू कथा लेखनमा आकर्षित भएका हुन् । यी विषय कवितामा सूत्रात्मक रूपमा मात्र प्रस्तुत गर्न सकिन्छ । तर, कथामा भने अलिक फराकिलो रूपमा आउँछ वा फराकिलो रूपमा अभिव्यक्त गर्न सकिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कथाले हाम्रा सामाजिक यथार्थलाई उजागर गर्ने भएकाले ती कथाहरू हामीलाई आफ्नै कथाजस्तो लाग्छ, जसको प्रभाव पाठकहृदयमा पर्छ । सामाजिक दृश्य/परिदृश्य कथामा आउने भएकाले पनि हामीलाई कथाले आनन्दित र सन्तुष्ट पार्छ । साहित्यका अन्य विधाको तुलनामा कथाका पाठकहरू अत्यधिक छन् । सामाजिक चित्रण र रूपान्तरणमा पनि कथाको विशेष भूमिका रहन्छ, सायद । त्यसैले कथाकारले अलिकति आत्मसन्तुष्टिका लागि र अलिकति पाठकका लागि कथा लेख्छन् कि !

कथा कसरी लेख्ने ?
कथा यसरी लेख्ने, यीयी कुरा कथामा हुनुपर्छ भनेर सिद्धान्तका कुरा विश्वविद्यालयका पाठ्यक्रममा पढिन्छ, पढाइन्छ । हो पनि, कथा लेखनमा ती प्रारम्भिक ज्ञान आवश्यक छ । यद्यपि, लेखकहरू आफ्नो लेखनमा स्वतन्त्र छन् । अहिले परम्परावादी धार, विधि र नियमभन्दा फरक धारमा कथाहरू लेखिँदै आइएको छ । कथामा नवीन प्रयोग भइरहेका छन् । विषय एउटै भए पनि प्रत्येक कथाकारका लेखन, शैली, शिल्प, सोच, चिन्तन, प्रस्तुति फरक छन् । आफूलाई छोएका विषयहरूलाई आफ्नो क्षमताअनुरूप तिनले लेखिरहेको पाइएको छ । तथापि, विषयचयन, पात्रको चरित्रचित्रण, कलात्मक प्रारम्भ, लेखन प्रवाह, द्वन्द्व, कुतूहल र हृदयस्पर्शित अन्त्य कथामा आवश्यक हुन्छ । कथा लेखनका आधार यिनै हुन् ।

Royal Enfield Island Ad

घटनाको वर्णन कथात्मक हुँदा के अन्तर हुन्छ ?
मात्र वर्णनले कथाको कलात्मकता र मर्मलाई ओझेल पार्छ । वर्णनात्मक कथा त्यति प्रभावशाली हुँदैन । कथामा विषयवस्तुको सतही प्रस्तुतिले मात्र कला पक्ष गौण हुन जान्छ । सफल कथाका लागि विषयप्रतिको गम्भीरता, पात्र, चरित्रको उपयुक्त चित्रण, घटनाको प्रभावशाली प्रस्तुति भयो भने त्यस्ता कथा पाठकप्रिय हुन्छ । वर्णनसँगै पात्रहरूको चरित्रअनुरूपका संवादसँगै शब्दमा, अनुभूतिमा हृदयस्पर्शित दृश्य आउनुपर्छ ।

मूलतः कथा कौशल, शिल्प, कलात्मकता, विषयवस्तु, पात्र, प्रस्तुति, अनुभव, यी सबै कुरा कथा लेखनका लागि आवश्यक हुन्छ । कथा लेखनका मूल आधारहरू पनि यिनै हुन् । आफूले लेख्ने कथाको विषयलाई गम्भीरतापूर्वक मन्थन गरेर कथालाई यसरी प्रारम्भ गर्छु र यसरी अन्त्य गर्छु भन्ने चिन्तन लेख्नुअधि नै कथाकारले गर्नुपर्छ । अनुभव भनेको कथाकारले भेट्टाएको रचनाबीज अर्थात् विषय हो, जससँग यथार्थ गाँसिएको हुन्छ । कथालाई जीवन्त र प्रभावशाली बनाउन अनुभवको विशेष भूमिका रहन्छ । प्रत्येक कथा अनुभवका विम्ब हुन् । जहाँ थोरै कल्पना र धेरै यथार्थको समागम हुन्छ ।

यसरी हेर्दा विषयवस्तु, पात्र र तिनको चरित्र, संवाद, शिल्प, शैली र उद्देश्य कथाका मूलतत्व हुन् । आफूले रोजेको विषयको प्रभावशाली र कलात्मक प्रस्तुतिले नै कथालाई जीवन्तता प्रदान गर्छ भन्ने लाग्छ ।

एकै बसाइमा कथा लेख्न सकिन्छ ? 
प्रत्येक लेखकको आ–आफ्नै स्वभाव र शैली हुन्छ । कतिपय कथाकारहरू एकै बसाइमा लेख्नुपर्छ भन्छन् । कोही एकै बसाइमा लेख्न हुन्न पनि भन्छन् । अर्थात्, कोही एकै बसाइमा लेख्छन् त कोही पटक–पटकको बसाइमा । तर, आफूलाई जे सहज हुन्छ, त्यहीअनुसार लेख्ने हो ।

कथा लेखनमा हतार गर्न हुन्न भनेर पनि हो कि ! 
साहित्यको जुनसुकै विधा लेखनमा पनि गम्भीर अध्ययन र चिन्तन आवश्यक हुन्छ । गम्भीर सोच र चिन्तनको प्रतिफल हो, असल साहित्य । तसर्थ, हतार गरेर लेखेको साहित्यभन्दा अलिकति समय दिएर लेखिएको साहित्य प्रभावशाली र पाठकप्रिय हुन्छ । तसर्थ, लेख्दा हतार गरिनु हुन्न ।

त्यसो भए के गर्ने त ?
म आफैँ पनि राम्रो लेख्ने कोसिसमा छु । राम्रो कथा लेख्न यसै गर्नुपर्छ भन्ने सल्लाह, सुझाव दिन सक्दिनँ । तर, राम्रो कथा लेख्न राम्रो चिन्तन, अध्ययन र कथा तत्वको ज्ञान आवश्यक छ ।

प्रतियोगिताका लागि शब्दलाई मानक बनाउनु सही हुन्छ ? 
लेखनमा पनि अनुशासन र विधिको पालन त गर्नैपर्छ । प्रतियोगितामा कति शब्दसम्मको कथालाई स्वीकार गर्ने, कथाको शब्दसीमा कति मान्ने, ठ्याक्कै तोक्न सकिन्न । तथापि, यति शब्दसम्मको कथा भए कथाकारले कथा लेख्न सक्छ, ऊप्रति अन्याय हुन्न भनेर आयोजकले शब्दसीमा तोकेको हुन्छ । यो नियम लेखन एकरूपताका लागि पनि हो । र, एउटा कथाकारले शब्दसीमामा रहेर कथा लेख्न सक्छ÷सक्दैन, यो उसको लेखन क्षमताको परीक्षण पनि हो । त्यसैले हरेक प्रतियोगितामा शब्दसीमा आवश्यक छ ।

कथा लेखनमा रुचि राख्नेहरूले अरूका कथाबाट कति प्रभावित हुने ?
जब एउटा पाठकले कुनै राम्रो कथा वा उपन्यास पढ्छ, पढ्दा त्यहाँभित्रका कथा, पात्र र घटनामा गहिरिएर चुर्लुम्म डुब्छ । पढ्दा उसको कल्पना र लेखकको कल्पना कहिले मिल्न सक्छ, कहिले फरक पनि हुनसक्छ । पढ्दै जाँदा ऊभित्र कथाका विविध भँगाला र हाँगा फाट्छन्, त्यसले पनि उसलाई लेख्न प्रेरित गर्छ । पढ्दै जाँदा कहीँ, कहिले, कसैसँग प्रभावित हुन पुग्नु संयोग हो । कहिलेकाहीँ लेखक प्रभावित हुनसक्छ । तर, प्रभावको नाममा जस्ताको त्यस्तै आउनु हुन्न । हाम्रा धेरै अग्रज लेखकहरूले अन्य लेखकबाट प्रभावित भएर लेखेका कृतिहरू धेरै छन्, त्यो हामी सबैलाई थाहा छ ।

त्यसो त हाम्रो जीवन र समयका भोगाइहरू समान छन् । जीवन र समयका भोगाइका स्पर्शले नै साहित्य जन्मिन्छ । भोगाइका समानताका कारणले कतिपय कथाकारका कथाहरू एकार्कासँग मिल्न पनि सक्छन् । उसले अघिल्लो कथाकारको कथा नपढेको पनि हुनसक्छ, तर उस्तै–उस्तै आइदिन्छ । तर, मैले अरूको कथा पढेँ भने अरूबाट प्रभावित हुन्छु भनेर नपढ्नु भने हुँदैन । धेरै छन् अरूका कथा नपढ्ने । तर, त्यसो गर्दा आफू परिष्कृत हुन सकिन्न । आफ्नो भाव, विचार र अनुभूतिसँग फुक्का भएर खेल्न सकिन्न ।

कथा लेखनमा सिद्धान्त आवश्यक छ ?
कथा लेखनमा यसको मूलतत्वको ज्ञान अति आवश्यक छ । केही सिद्धान्तलाई अंगीकार गर्न पनि पर्छ । तर, अचेल धेरै कथाकारहरूले पूर्ण सिद्धान्तको परिधिमा रहेर कथा लेख्ने गरेको पाइँदैन । यथार्थ र कल्पनानिकट रहेर नयाँ–नयाँ सोच, चिन्तनसँगै लेख्ने गरेका छन् ।

वादको घेरामा गतिलो सिर्जना गर्न सकिन्छ ? 
वादको परिधि र घेरामा रहेर उत्कृष्ट साहित्य सिर्जना गर्न सकिँदैन । लेखक भनेको एउटा नदी हो, ऊ स्वतन्त्र र फुक्का हुन्छ । वादको घेरामा रहेर लेखिएको साहित्यले एउटा सीमित प्रभाव पार्छ । एउटा फ्रेमभित्र रहेर लेखिएको कथाभित्र अपेक्षित सन्तुष्टि र आनन्द पाइन्न ।

कथामा प्रयोगलाई कति जरुरी मान्नुहुन्छ ? 
हरेक कुरामा नवीन प्रयोग आवश्यक हुन्छ । जसले फरक स्वाद र सन्तुष्टि  दिन्छ । समयसँगै त्यो भइरहेको छ पनि । तर, प्रयोग सरल र सर्वग्राह्य हुनुपर्छ । थोपरिएको प्रयोगको केही अर्थ छैन । अचेल साहित्यमा नयाँ–नयाँ प्रयोगहरू भइरहेका छन् । केही प्रयोगले राम्रै प्रभाव पनि पारेका छन् । केही असफल भएका छन् । प्रयोगका नाममा कथामा पनि केही अमूर्त र क्लिष्टता प्रवेश गरेको छ, जसले पाठकमनलाई छुँदैन । प्रयोग कथामा कलात्मक र सरल, सहज संरचना र केही सैद्धान्तिक तत्व आवश्यक छ ।

तपाईं बाह्रखरी कथा प्रतियोगितामा निर्णायक हुनुभयो । सैद्धान्तिक र प्रयोगका दृष्टिले प्रतियोगितामा छानिएका कथाका सबल र दुर्बल पक्ष के–के पाउनुभयो ?
बाह्रखरी कथामा परम्परावादी धारका कथाहरू पनि आए । हिमाल, पहाड तराईका, ग्रामीण र सहरी परिवेशका, सम्पन्न र भुइँमान्छेका कथाहरू पनि आए । नवीन प्रयोग र शिल्पशैलीका कथाहरू पनि आए । सबै कथाले जीवन, समय र प्रकृतिको प्रतिनिधित्व गरेका थिए । विद्रोह, संवेदना र सौन्दर्य सबैका रचनागर्भ रह्योे । विषयवस्तुको विविधता, भौगोलिक विम्ब, भिन्न–भिन्न घटना, पात्र र तिनका चरित्रचित्रण कथाको विशेषता रह्यो । केही कथा उत्कृष्ट आए, केही सामान्य पनि ।

तर, नेपाली साहित्यको कथा लेखनमा कथाकारहरू गम्भीर र जागरूक रहेछन् भन्ने संकेत यसले दिएको छ । नेपाली साहित्यमा कथा विधाको भविष्य सन्तोषप्रद रहेको छ भन्ने कुराको अनुभूतिसँगै निष्पक्ष र पारदर्शी रूपमा निर्णायक रहेर निर्णय गर्न पाउँदा एउटा बेग्लै खुसी र गर्वको अनुभूति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro