गजल — १
तिमी फूल बन्यौ म त पात मात्रै न हुँ
तिमी मुटु, कलेजी म त हात मात्रै न हुँ !
हेर्छ होला मलाई कसले तिमी पाएपछि
तिमी मीठो भुजा म त भात मात्रै न हुँ !
जे सुकैको महत्त्व नि रैछ ठूलै हुँदा
तिमी लाख हजार म त सात मात्रै न हुँ !
यस्तो लाग्न थाल्यो पूरै प्याला रित्तिँदा
तिमी मीठो आनन्द म त मात मात्रै न हुँ !
पाइएला र उज्यालो यो अन्धकारबाहेक ?
तिमी नवीन मिर्मिरे म त रात मात्रै न हुँ !
० ० ०
गजल — २
साँध सिमाना वर सार्दै छन्
आफ्नै हो भन्ने स्वाङ पार्दै छन् !
उनका कुरा पत्याउने कसरी
आकाशका तारा तल झार्दै छन् !
एक्लैएक्लै बिताउन जिन्दगी
खोजीखोजी आफन्त मार्दै छन् !
जितेको भनेर मक्ख परिराखून्
जीवनको दौडमा सधैँ हार्दै छन् !
थुनुवाझैँ अब बस्लान् कसरी
एकै प्वाल नराखी घर बार्दै छन् !
(वाग्मती, सर्लाही)