उद्योग–व्यवसायमा मात्र नभएर गीत, कविता र गजलमा पनि निरन्तर क्रियाशील कवि बसन्त चौधरीको पछिल्लो कविताकृति हो, ‘तिमीविनाको म’ । एक कुशल र सफल उद्योगपतिका रूपमा बसन्तको जुन उचाइ छ, त्यस्तै उचाइ साहित्यिक छविको छ ।
जतिखेर मैले बसन्त दाइलाई व्यक्तिगत रूपमा चिनेँ, उद्योगपति होइन, कला मर्मज्ञका रूपमा चिनेँ । नेपाली भाषा, साहित्य, कला, संस्कृतिलाई माया गर्ने व्यक्तिका रूपमा चिनेँ ।
त्यसपछि मात्र थाहा पाएको हुँ, उनी गीत पनि लेख्छन् भन्ने । उनको एउटा गीत ‘शान्ति लुकाऊँ कहाँ...’ मैले आफैँ पनि रेडियोमा सांगीतिक कार्यक्रम सञ्चालन गर्दा कैयन्पटक बजाएको छु ।
एफएम संस्कृतिको सुरुआती समयदेखि नै उनका गीतहरूको चर्चा–परिचर्चा हुँदै आएको छ । उनका कतिपय गीतले विभिन्न अवार्ड समेत पाएका छन् ।
तर, उनको कविता लेखनबारे धेरैपछिसम्म अनविज्ञ रहेँ । लामो समय नै । एक सहृदयी, गीतकार, भाषासाहित्यलाई माया गर्ने व्यक्तित्वका रूपमा परिचय थियो । तर, बसन्त कवि पनि हुन् भन्ने कुरा उनको कवितासंग्रह ‘मेघा’ सार्वजनिक भएपछि मात्र थाहा पाएँ ।
कविता मनको भावना हो । बसन्तले आफ्ना मनका भावलाई आकार, स्थान दिन कहिल्यै कन्जुस्याइँ गरेनन् ।
उनका अनुसार बरु व्यापारका लागि समय कम दिए । तर, कवितालाई समय दिन उनले आनाकानी गरेनन् । त्यसैले त भन्दै आएका छन्, ‘६० वर्ष पुगेपछि मेरो अधिकांश समय साहित्यलाई जान्छ ।’
उनको समर्पण देखेर लाग्छ, उनले ६० पुगेपछि मात्र नभएर त्योभन्दा अगाडिदेखि नै साहित्यलाई आफ्नो समय सुम्पिएका छन् । समय मात्र होइन, सम्पतिको अंश पनि सुम्पिएका छन् । त्यसको जीवन्त उदाहरण हो, ‘लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर’ ।
व्यापार–व्यवसायमा संलग्न व्यक्ति धेरै छन्, मुलुकमा । तिनले आर्थिक उपार्जन पनि गरेका छन् । तर, व्यापारसँगसँगै साहित्यिक समर्पण बसन्तमा मात्रै देख्न सकिन्छ । यसो भनिरहँदा अतिरञ्जना नहोला, सायद ।
डेढ दशकअघि बसन्तको पहिलो कविताकृति ‘मेघा’ सार्वजनिक भयो । छोरी मेघाको जन्मसँगै सुरु भएको उनको काव्ययात्राको महत्त्वपूर्ण मोड थियो, ‘मेघा’ । त्यसपछि उनले कविता लेखनमा पछाडि फर्केर हेरेनन् । बस्, उनी साहित्य र कलाको उन्नयनमा समर्पित भइरहे ।
‘मेघा’ पछि प्रकाशित उनको कृति हो, ‘मेरा कविताहरू’ र ‘वसन्त’ । वसन्त त उनले नेपालीसहित एकैसाथ नौ भाषामा प्रकाशित गरे । मेघापछि नै उनका हिन्दी काव्यकृति पनि सार्वजनिक भए, ‘आँसुओं की सियाही से’, ‘चाहतों के साये में’, ‘अनेक पल और मैं’ र ‘वक्त रुकता नहीं’ ।
मनका संवेदनालाई काव्यका माध्यमबाट विरेचन गर्दै जन्मिएका कृतिहरूको लहरमा उभिएको अर्को काव्यसंग्रह हो, ‘तिमीविनाको म’ ।
यस कृतिका कवितामा दृष्टि दिँदा अनुभूत हुन्छ, बसन्त नदीझैँ बगेका छन् कविताहरूमा । प्रेमका अनेकानेक लहरहरूमा उनले डुबुल्की लगाएका छन् ।
बसन्त लेख्छन्–
सखारै हाँसिरहेको देख्दा
हिलोबाट निर्लिप्त कमल
त्यही हाँसोमा
तिमीलाई पाउँदै विस्मित हुन्छु म
र आँखा चिम्लिँदा
परमानन्दमा हृदय झुमेको
अनुभूत गर्छु... (पृष्ठ ४०)
बसन्त प्रेम रसमा लछप्पै भिजेका कविता पस्कन रुचाउँछन् । कारण, उनी प्रेममा विश्वास गर्छन् । जीवनलाई सुखद बनाउने मार्ग प्रेम नै हो भन्छन् । प्रेमविना जिन्दगी सायद त्यति सहज हुन्न, जति सहजता मानिसले चाहन्छ । त्यसैले उनले यो काव्यिक बिसौनीमा प्रेमको वर्षा गरेका छन् ।
उनको कविता ‘समयको दूरीमा’ले भन्छ–
...यतै बस आँखाभित्र
यतै बस हृदयभित्र
यो दूरी,
यो विवशता र बाध्यतालाई
टाढैबाट प्रेमले
मेटाउन चाहन्छु ! (पृष्ठ ६०)
यसअर्थमा बसन्त दाइ प्रेमका पुजारी हुन् भन्दा हुन्छ । त्यसैले त उनको काव्यमा प्रेम छताछुल्ल भएर पोखिएको छ । एकपटक कविताका विषयमा कुरा हुँदा उनले भनेका थिए, ‘सिर्जनामा घृणा र युद्ध कहिले पनि रूपान्तरित हुन सक्दैन । संसार बदल्ने भनेको प्रेमले नै हो । घृणाले होइन ।’
करिब १० वर्षअघि एक अपराह्न कवितावार्तामा बसन्त दाइले भनेको यो वाक्यांशले मलाई छोएको थियो । र, आज पनि उनको कवितामा प्रेम नै प्रेम भेटिरहेको छु ।
थाहा छ ?
हामी मिलेका थियौँ
नितान्त शून्यतामा
बसेर सँगसँगै
समाएर एक अर्काको हात
दिउँसोदेखि गोधूलिसम्म
बिताएका ती अनमोल पलहरू
मीठामीठा प्रेमालापमा
मौन संवाद आँखाआँखामा... (पृष्ठ १७०)
कविले यसैगरी स्वतन्त्र बग्नुपर्छ, नदीझैँ । नदी किनारमा उभिएको पाठक पनि त्यो लहरमा, त्यो नागबेली बगाइमा बग्न खोज्छ । त्यहीँ आफ्नो भावनालाई पनि उसले खोज्छ ।
बसन्तका कवितामा प्रेम मात्र होइन, जीवनका आरोह–अवरोह पनि छन् । देशप्रतिको माया पनि छ । अनि, कतैकतै भेटिन्छ, वर्तमान परिस्थितिप्रतिको गहिरो चिन्ता । र, विकृति–विसंगतिमाथिको आक्रोश ।
‘तिमीविनाको म’मा ८५ कविताहरू संगृहीत छ । कृतिभित्र कविताहरूको लहरमा रहेको ‘ममताको मोती’ले पाठकको हृदय पगाल्छ । आमा नहुनेहरूको मन अँचेट्छ । यस कविताले पाठकलाई आमाको सम्झना गराउँछ ।
तिमी छैनौ,
र पनि छौ
हृदयको स्पन्दन बनेर ! (पृष्ठ ५२)
समग्र साहित्य र कवितालाई माया गर्ने बसन्तको यस कृतिको एउटा अर्को विशेषता छ, त्यो हो कविताको अंग्रेजी रोमनमा रूपान्तरण । जसले नेपालबाहिर रहेका नेपाली भाषा नबुझ्ने नेपालीलाई आफ्नो भाषा उच्चारण गर्न सिकाउँछ ।
यो पनि बसन्तको नेपाली साहित्य–कलाप्रतिको समर्पणको संकेत हो । उनले बितेका वर्षहरूमा विश्वका विभिन्न मुलुकमा पुगेर ‘विश्व काव्य यात्रा’ कार्यक्रमलाई निरन्तरता दिए । जहाँ रहे पनि नेपाली भाषा हाम्रो भाषा हो भन्ने सन्देश प्रवाह गरे ।
त्यति मात्र होइन, कविहरूलाई एकल कवितावाचनको प्लेटफर्म उपलब्ध गराए, ‘हामी ः कवि र कविता’का माध्यमबाट । तर, वैश्विक महामारी कोरोनाको चपेटामा यी दुवै कार्यक्रम पर्न गयो ।
तथापि, सदासर्वदा साहित्यलाई माया गर्ने बसन्तले यसलाई पुनः गति दिने छन् भन्नेमा विश्वस्त हुन सकिन्छ । साहित्य–कलाप्रतिको उनको समर्पणले त्यही सन्देश दिन्छ ।
कवितामा सरलताका हिमायती हुन्, बसन्त । कविता गम्भीर र गहिरो मात्र नभएर सरल र सहज पनि हुनुपर्छ । उनको यस कृतिका कविता जति सुन्दर र गम्भीर छन्, त्यतिकै सरल पनि छन् ।