श्यामकला खनाल
त्यहाँका ब्राह्मण साहसी बनी देशलाई सपारे
त्यो दूराडाँडा देशकै विन्दु पछाडि नपारे ।
ती तोय ब्राह्मण अग्रणी बनी राणाको शासन
चिरेर ल्याए हलोको क्रान्ति चलाए बास्ना ।।
रवाफ थियो, दबाब थियो गरिबमाथिको
वर्षको मुरी उब्जनी थियो दलित जातिको ।
अगुवाइ उनकै अगाडि बढे पण्डित कविराज
शेषकान्त लप्टन, हरिभक्त मुखिया सबैको मिल्यो साथ ।।
वसन्त बाबा, ती बद्रीनाथ धेरैले सघाए
किसान हामी जोतेरै खाऊँला भनेर रमाए ।
शासकको डर, समाजको डर मनमा धपडी
निडर थिए समाए अनौ, पल्टाए चपरी ।।
त्यो बाटेगह्रो छँदै छ हिजो उद्धार गरेको
बसेल दाइले ल्याएर गोरु त्यहीँ हो नारेको ।
हलो जोत्ने ब्राह्मणजति फसे है दलदलमा
क्रान्तिको विगुल फुकियो देशमा क्षणिक त्यो पलमा ।।
नातेदार सारा कुटुम्ब समेत भयो पानी बाराबार
बिग्रियो कति चेलीको कठै पियारो घरबार ।
वसन्त बाबा भतिजासँगै अगाडि बढ्दै थिए
जात गए जाला जोतेरै खाऊँला हाँसेर भन्दै थिए ।।
रचेर आफैँ भोलिको चित्र कोरेर देखाए
संघर्ष धेरै उत्थान नौलो गरेरै देखाए ।
देशका ब्राह्मण किसानलाई राहत दिएर
आखिर उनी ब्रह्मलिन भए सन्यास लिएर ।।
(टोखा रोड)