तारक धिताल
देखिएजस्तो सुनिएजस्तो हुँदैन
तैपनि, विज्ञापन नगरी सुख छैन
त्यो नहेरी, नसुनी
दिन पनि कट्दैन
खरिद–बिक्रीमा त चलेकै हो
अब संवेदनामा पनि
विज्ञापनै विज्ञापन अति भो ।
मलामी होस् कि क्रियापुत्री
आएका छन् को–को ठूलाबडा
खिच्नैपर्यो लौ अब
‘पोजिसन’ मिलाई मिलाई तिनका फोटा
‘पोजिसन’मा नहुने
खास आत्मीय त हुने भई गए खोटा
ती त हुन् नि आफ्नै फोकटका
तुरुन्तै ‘पोस्टियो’ सञ्जालमा
लौ हेर पहुँच, देखाउँदै ती फोटा
मुसुक्क मुस्कुराएका
विज्ञापन नै हावी भो
हरायो त्यो खास समयको संवेदना
विज्ञापनको यो दुनियाँ
अवसर त छाड्नै भएन
कुत्सित उपयोगविना ।
मानवीयताका कुरा गर्ने अति ठूला
फेरि मिसिने गर्छ अध्यात्मिकता
अधिकारका कुरा त भई गए तिखा छुरा
आपत् होस् कि विपत्
मानवीय संवेदनाभन्दा
आफ्नै विज्ञापनमा खर्चियो समय पूरा
फेरि पनि
यो हो, विज्ञापनको दुनियाँ
अवसर त छाड्नै भएन
कुत्सित उपयोगविना ।
विज्ञापनको यो दुनियाँमा
खोज्ने मानवीय संवेदना
मेरै मात्र हो कि यो मूर्खता
पाए हुने सुन्न अरूका पनि कुरा ।