काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा पाँच अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा बैंकले चार अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढेको हो ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा तीन अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा कुल दुई खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने दुई खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रूपमा वृद्धि भएको छ ।
बैंकको कुल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । सो अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा दुई रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ ।
बैंकको चुक्तापुँजी १० प्रतिशतले बढेको छ । त्यसैगरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको छ ।
बैंकले आफ्नो खराब खर्जामा पनि सुधार ल्याएको छ । अघिल्लो आर्थिक वर्ष १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको छ । हाल बैंकले ७७ वटै जिल्लामा २८९ शाखा कार्यालय, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।