लन्डन । यो वर्ष ७० वर्ष नाघेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्यमा खराबी सम्भवतः क्यान्सर हुन सक्ने अपुष्ट मिडिया अनुमानबीच अमेरिकाले प्रतिक्रिया जनाएको छ । सीआईए प्रमुख विलियम बर्न्सले पुटिनको स्वास्थ्य खराब छ भन्ने कुनै स्पष्ट सूचना नभएको बताएका हुन् ।
उनले पुटिनको स्वास्थ्य अवस्था अस्थिर वा खराब रहेको कुनै सूचना नभएको बताए । “यहाँ कुनै प्रमाण छैन, जसले यो कुरालाई पुष्टि गर्छ कि उनी बिरामी छन् । बरु, पुटिन धेरै स्वस्थ देखिन्थे,” उनले ठट्टा गर्दै भने ।
अमेरिकाले युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउने घोषणा गरेपछि उनको यस्तो टिप्पणी आएको हो ।
यसअघि, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमा मुलुकले युक्रेनलाई त्यस्ता हतियारहरू उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको बताएका थिए ।
नियन्त्रणमा विश्वास
“राष्ट्रपति पुटिनको स्वास्थ्यको बारेमा धेरै अफवाहहरू छन् र जहाँसम्म हामी भन्न सक्छौँ कि उनी पूर्ण रूपमा स्वस्थ छन्,” बर्न्सले कोलोराडोको एस्पेन सुरक्षा फोरममा भने ।
मस्कोका लागि राजदूतका रूपमा काम गरेका बर्न्सले दुई दशकभन्दा बढी समयदेखि रुसी नेतालाई अवलोकन गर्दै आएको बताए । “पुटिन ‘नियन्त्रण, त्रास र बदला लिनेमा ठूलो विश्वास’ गर्छन् । र, यी लक्षणहरू विगतका अन्तिम दशकमा झनै कडा रूपमा प्रकट भई उनको सल्लाहकारहरूको घेरामा संकुचित भएको छ,” सीआईए प्रमुखलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
“पुटिन विश्वस्त छन् कि रुसको नेताका रूपमा आफ्नो भाग्य रुसलाई ठूलो शक्तिका रूपमा पुनःस्थापित गर्नु हो । यसका लागि साँचो भनेको आफ्ना छिमकीको क्षेत्रमा प्रभाव पुनः जगाउनु हो र युक्रेनलाई नियन्त्रणमा नलिई यो सम्भव छैन,” उनले भने ।
बर्न्स गएको नोभेम्बरमा मस्को गएका थिए । युक्रेनमा आक्रमण गर्ने रुसको योजनाबारे अमेरिकाले संकलन गरेको गुप्तचर जानकारीपछि रुसलाई गम्भीर नतिजाहरूबारे उनले चेतावनी दिएका थिए । आफूले छोड्दाताका भन्दा अहिले अवस्था धेरै बिग्रेको उनको भनाइ छ ।
“पुटिनले आफ्नो बयानबाजीलाई साँच्चै विश्वास गर्छन् । मैले उनलाई युक्रेन वास्तविक देश होइन भनेर वर्षौँदेखि निजी रूपमा भनेको सुनेको छु,” बर्न्सले थपे, “ठिक छ, वास्तविक देशहरू लड्छन् र यो युक्रेनीहरूले गरेका छन् ।”
युक्रेनमा हालसम्म रुसी आक्रमणमा परी १५ हजार मानिस मारिएको र ४५ हजार घाइते भएका अमेरिकाको अनुमान छ ।
युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसीभाषीहरूले नरसंहार भोगेका थिए । उनीहरूलाई मुक्त गर्न आवश्यक भएको ‘झुटो’ दाबी गर्दै रुसले गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्न सुरु गरेको थियो ।
पाँच महिनासम्म रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ । तर, किभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा सफल भएको छैन । रुसले आफ्नो मुख्य उद्देश्य डोनबासको मुक्ति भएको जिकिर गर्दै आएको छ । बीबीसीबाट ।