site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मानवीय सहयोग लिएर आएको जहाजलाई इजरायलले गाजा जान दिएन
तस्बिर : एपी ।

काठमाडौं । इजरायली सेनाले सोमबार बिहान ग्रिटा थुनबर्ग र अरू कार्यकर्तासहित मानवीय सहयोग लिएर गाजातर्फ जाँदै गरेको पानीजहाज रोकेको छ । सेनाले त्यसलाई इजरायलतर्फ मोडिदिएको छ ।

प्यालेस्टाइनी भूभागमा लामो समयदेखि इजरायलको नाकाबन्दी कायम छ । हाल हमाससँग युद्धको समयमा यसलाई अझ कडा बनाइएका बेला जहाजलाई गाजातर्फ जान नदिइएको एपीले जनाएको छ ।

इजरायलको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेको छ, “सेलिब्रिटीहरूको ‘सेल्फी जहाज’ सुरक्षित रूपमा इजरायलको तटतर्फ जाँदै छ । यात्री आफ्ना मुलुकमा फर्कने अपेक्षा छ ।”

Argakhachi Cement Island Ad

मन्त्रालयले जहाजमा रहेको मानवीय सहयोग स्थापित च्यानलमार्फत गाजा पठाइने जनाएको छ ।

मन्त्रालयले इजरायली सैनिकले ती कार्यकर्तालाई स्यान्डविच र पानी वितरण गर्दै गरेको एक भिडियो फुटेज सार्वजनिक गरेको छ । त्यहाँ उनीहरूले सुन्तला रङको लाइफ ज्याकेट लगाएका थिए ।

फ्रिडम फ्लोटिला कोअलिशनले गाजापट्टीमा मानवीय सहयोग पुर्‍याउन र इजरायली नाकाबन्दी तथा युद्धकालीन व्यवहारको विरोध गर्न यो यात्रा आयोजना गरेको थियो ।

फ्रिडम फ्लोटिलाले आफ्ना मानवअधिकार कार्यकर्ता इजरायली सेनाद्वारा अपहरण गरिएका भन्दै उनीहरूको एक पहिल्यै रेकर्ड गरिएको सन्देश जारी गरेको छ ।

जलवायु कार्यकर्ता थुनबर्ग म्याड्लिन जहाजमा सवार १२ जनामध्ये एक हुन् । उनीहरूले एक साताअघि सिसिलीबाट यात्रा सुरु गरेका थिए ।

प्यालेस्टाइनी मूलकी युरोपियन संसद्की फ्रान्सेली सदस्य रिमा हसन पनि जहाजमा सवार स्वयंसेवकमध्ये एक हुन् । उनलाई प्यालेस्टाइनीप्रति इजरायली नीतिको विरोध गरेको आरोपमा इजरायल प्रवेश गर्न रोक लगाइएको छ ।

इजरायलले हमासलाई दबाब दिन दुई महिना १५ दिनसम्म पूर्ण नाकाबन्दी लगाएको थियो । तर, गएको महिना केही आधारभूत सहयोग गाजामा पठाउन अनुमति दिएको थियो ।

मानवीय कर्मचारीले नाकाबन्दी हटाउन र इजरायले आफ्नो सैन्य आक्रमण रोक्न नसकेमा भोकमारी पर्न सक्ने चेतावनी दिएका छन् ।

गएको महिना फ्रिडम फ्लोटिलाले समुद्रमार्फत गाजा पुग्ने प्रयास गरेको थियो । तर, समूहको अर्को जहाज माल्टानजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्दा दुई ड्रोनकोे आक्रमणमा परेको थियो । समूहले उक्त आक्रमणको दोष इजरायलमाथि लगाएको छ । आक्रमणबाट जहाजको अगाडिको भागमा क्षति पुगेको थियो ।

सन् २००७ मा हमासले प्यालेस्टाइनमा सत्ताकब्जा गरेयता इजरायल र इजिप्टले गाजामा विभिन्न नाकाबन्दी लगाएका छन् । यो नाकाबन्दीको आलोचना गर्नेहरूले गाजाका लगभग २० लाख प्यालेस्टाइनी नागरिकलाई सामूहिक सजाय दिइएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्