
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा गैरकानुनी आप्रवासी पक्राउ गर्न छापा मारेपछि प्रदर्शनकारीहरूले तेस्रो दिनसम्म विरोध जारी राखेका छन् । कानुन कार्यन्वयन इकाई (आईसीई) विरुद्धको प्रदर्शन तीव्र भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेको राष्ट्रिय गार्डले अश्रु ग्यास प्रयोग गरेर प्रदर्शनकारीहरूलाई पछि हटाउँदै गरेको बीबीसीले जनाएको छ ।
लस एन्जलस सहरको प्रमुख १०१ फ्रिउ मार्गमा प्रदर्शनकारीहरूले अवरोध गर्दा कानुन कार्यान्वयन इकाईका सुरक्षाकर्मीहरूले उनीहरूलाई हटाउन प्रयास गरिरहेका छन् ।
ट्रम्पले राष्ट्रिय गार्ड पठाउने आफ्नो निर्णयको बचाउ गर्दै यसले राज्यमा कानुन र व्यवस्था कायम गर्न सक्षम हुने बताएका छन् । तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले राष्ट्रपति ट्रम्पलाई सैनिक तैनाथी फिर्ता लिन आग्रह गरेका छन् । यसलाई अन्य डेमोक्र्याटिक गभर्नरहरूले शक्तिको दुरुपयोग भनेर आलोचना गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको यो विरोध प्रदर्शन हिंसात्मक बनेको छ । दर्जनौंलाई गिरफ्तार गरिएको छ । केही प्रहरी घाइते भएका छन् ।
यसैबीच, राष्ट्रिय गार्डका सैनिकहरू लस एन्जलसमा रहेको अवैध आप्रवासीहरूलाई पक्राउ गरेर राखिने हिरासत केन्द्रबाहिर एकत्रित भइरहेका छन् ।
एक अधिकारीका अनुसार, अहिलेसम्म २९ जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । बीबीसी