
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयमा भनिएको छ – वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने ।
पार्टीका महासचिव वेदुराम भुसालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेखित यो निर्णय सत्ता गठबन्धनलाई कायम राखेर सत्तारुढ दलभित्रका कम्युनिस्टहरुबीच एकता प्रयास गर्ने भएको नेताहरु बताउँछन् ।
त्यसलगत्तै मंगलबार तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यहरु छलफलमा जुटे ।
नेकपा विभाजन पश्चात भएको दोस्रो पटकको छलफलले नेताहरुबीच सत्ता गठबन्धनलाई कायम राख्ने र वाम दलहरुबीच एकताको प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
“कांग्रेसले गठबन्धन गरेर जाने निर्णय गरेको छ । त्यसबारे चर्चा गर्यौं । एमालेको निर्णय आइरहेको छ, त्यसबारे पनि चर्चा ग¥यौं । र, गठबन्धनलाई कायम राखेरै जानुपर्छ भन्नेमा हाम्रो कसैको विमति छैन । तर, स्थानीय चुनावको अनुभवलाई ध्यान दिएर अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा भइरहेको छ,” बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, “अर्कोतिर नेकपा त एउटै पार्टीवाला पनि भयौं । हिजोको नेकपाको बहुमत सचिवालय सदस्यहरु हौं । विचार मिल्नेहरूको बीचमा एकताको सम्भावनाको बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन । पार्टी एकीकरणको बारेमा चर्चा गरेका छौं ।”
मंगलबार साँझ सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रचण्डसँगै (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकताका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
त्यसअघि प्रचण्डले पूर्वनेता बाबुराम भट्टराईसँग पनि वार्ता गरेका थिए ।
नेकपा एमालेका पूर्वनेता वामदेव गौतम त पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएर पुगेका थिए भने अर्का नेता डा. बाबुराम भट्टराई पनि अहिले दलविहीनको अवस्थामा छन् ।
संयोजन समिति बनाउन वामदेवको सक्रियता
वामदेव गौतमले तत्कालीन नेकपा राजनीतिक रुपमा विभक्त भएपछि नै नेकपा एकता अभियान सञ्चालन गरिरहेका छन् ।
उनले नेकपा ब्यूँताउने भन्दै पार्टी नै घोषणा गरेका छन् । जुन पार्टी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् ।
उनले तत्कालीन नेकपा ब्यूताउँनका लागि संयोजन समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु त्यो समितिमा रहने उनको प्रस्ताव छ ।
“तत्कालीन नेकपा व्यूँताउने हो । त्यसका लागि शीर्ष ५ जनाको संयोजन समिति बनाउने र त्यसको नेतृत्व वामदेवजीले गर्ने भन्ने हो । अहिलेलाई पार्टीहरु अलग–अलग अस्तित्वमा रहन्छ । त्यसलाई संयोजन गर्ने मात्र भनिएको छ । औपचारिकता दिन बाँकी छ,” एक नेताले भने ।
तर केही नेताले पार्टी एकताको पहल भएको, सके चुनावअघि नै नभए चुनावमा गठबन्धन गर्ने तयारीस्वरुप भेला भएको बताएका छन् ।
छलफलमा सहभागी वामदेवबाहेक सबै दल सत्ता गठबन्धनमा आवद्ध छन् ।
सोही प्रस्तावमाथि आइतबार गौतमले माधव नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए ।
उनीहरुबीच वामदेव निवास भैँसेपाटीमा छलफल भएको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
“पार्टी एकताको पहल नै हो । एकता सम्बन्धमा नै भेटघाट हो । सकेसम्म पार्टी एकता गरेर जाने, आ– आफ्ना अडान कायम रहने भए वाममोर्चा बनाएर जाऔं, त्यो पनि सक्दैनौं भने एकता समन्वय समिति बनाएर जाऔं भन्ने कुरा हो,” छलफलमा गौतमले राखेको प्रस्तावबारे उनले भने ।
छलफल सकारात्मक भएको उनले बताए । तत्कालका लागि संयोजन समिति बनाउने विषयमा नेताहरु सकारात्मक रहेको उनले बताए ।
तत्कालीन नेकपाको बहुमत सदस्यले समिति बनाएर दबाब दिएपछि त्यसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आउने दाबी गौतमको रहेको छ । अरु नेताहरु भने ओलीसँगै सहजै रुपमा एकता हुने देख्दैनन् ।
“वामदेवजी केपी ओलीलाई पनि ल्याउन सकिन्छ भन्नेमा बढी नै आशावादी हुनुहुन्छ,” एकीकृत समाजवादीका नेता बलराम बास्कोटा भन्छन्,“तर, हामीलाई उहाँसँगै हुनुहुन्छ भन्नेमा छैनौं । आत्मालोचना हुनुपर्यो । त्यसमा लागि उहाँ तयार हुनुहुन्न । इमान्दारितका साथ आउनुभो भने पुराना कुरा बिर्सेर जाऔं भन्ने हो ।”
समाजवादी केन्द्र बनाउनुपर्नेमा बाबुरामको जोड
बिहान प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि भेटघाट भयो । सिंहदरबारमा भएको भेटमा प्रचण्डले उनलाई माओवादीमा आउन प्रस्ताव गरेका थिए । तर, जवाफमा बाबुरामले आफू कम्युनिस्ट पार्टीमा नआउने र नाम बदलेर एक हुन सकिने बताएको प्रचण्ड निकट नेताले बताए ।
“प्रचण्डजीले पार्टीमा आउनुस् मिलौं भनिरहनुभएको छ । तर, बाबुरामजी मान्न तयार हुनुहुन्न । समाजवादी केन्द्र बनाएर जाऔं भन्ने उहाँको कुरा छ,” ती नेताले भने ।
नेताहरुबीच जसपाका अध्यक्ष उपेन्द्र यादवसहित माओवादी, एकीकृत समाजवादीको समाजवादी, एकता राष्ट्रिय अभियान सहितको समाजवादी केन्द्र बनाउने समेतको छलफल समेत भइरहेको बताइन्छ ।
हाल भने चुनावी गठबन्धलाई कायम राखेर सत्तारुढ दलभित्रको कम्युनिस्ट पार्टीबीच एकताको प्रयास भइरहेको छ ।