site stats
बाह्रखरी :: Baahrakhari
खेल
एउटा शतकीय इनिङ्सको पर्खाइमा छु : आसिफ शेख
फाइल तस्बिर ।

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले आफु एक शतकीय इनिङ्सको पर्खाइमा रहेको बताएका छन् ।

आसिफले मंगलबार स्कल्यान्ड भ्रमण सकेर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शतकीय इनिङ्सको पर्खाइमा रहेको बताएका हुन् । “मैले आफ्नोतर्फबाट सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको छु । शतक बनाएपछि वा राम्रो इनिङ्स खेलेपछि थाहा हुन्छ कि कसरी इनिङ्सलाई लौजानुपर्छ भनेर,” दायाँ हाते विकेटकिपर ब्याट्सम्यान आसिफले भने, “म त्यही एक इनिङका लागि पर्खिरहेकाे छु । आशा छ त्यो समय चाँडै आउँछ ।”

आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ५१४ रन बनाइसकेका छन् । जुन नेपालबाट धेरै रन बनाउने दोस्रो खेलाडी हुन् ।

Argakhachi Cement Island Ad

पहिलो स्थानमा रोहितकुमार पौडेल छन् । रोहितकुमारले एक शतक र ५ अर्धशतकसहित ८०८ रन बनाएका छन् । 

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्डमा त्रिदेशीय शृंखला खेलेर फर्किएको हो । स्कटल्यान्डमा नेपालले चारमध्ये एक खेल जित्यो भने बाँकी तीन खेलमा पराजित भयो । 

नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । उक्त खेलमा आसिफले ७१ रन बनाएका थिए । त्यसबाहेक स्कटल्यान्ड भ्रमणमा आसिफले नाबिमियाविरुद्ध पहिलो खेलमा १४ र दोस्रो खेलमा ३४ रन बनाएका थिए । आसिफले स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा ४० रन जोडेका थिए । 

आसिफले नेपाललाई ‘चेज’ गरेर लक्ष्य पूरा गर्न कठिन भएको स्वीकार गरे । उनले थपे, “खासमा चेज गर्न नसक्ने समस्या भएको छ । त्यसमा कहाँनिर कमजोरी भएको छ भनेर प्रशिक्षकलाई राम्रो थाहा होला । २५० माथिको स्कोर १, २ पटक चेज गर्न थाल्याैँ भने हामीलाई बानी पर्दैजानेछ । ओपनिङमा कसरी ब्याटिङ गर्ने, मिडल अर्डरमा कसरी ब्याटिङ गर्ने र फिनिसिङ कसरी गर्ने भनेर थाहा हुनेछ ।”

आसिफले पछिल्लो समय नेपालको ब्याटिङमा समस्या आएको बताए । त्यसको खेलाडीले आफ्नो ‘टेक्निक र माइन्डसेट’मा सुधार गर्नुपर्ने बताए । 

“समस्या हाम्रो ब्याटिङमा हो । समस्या हामीबीचमा हो । जब हामीले त्यसमा सुधार गर्दै जान्छौँ, सबै राम्रो हुँदै जान्छ । जित्न थाल्यौँ भने सबै राम्रो हुँदै जानेछ,” ओपनर आसिफले थपे, “सुधार हाम्रो टेक्निकमा र आफ्नो माइन्ड सेटमा गर्नुपर्छ भन्ने लाग्छ ।”
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्