काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मंगलबार टिमको नतिजा नराम्रो आउनुमा प्रशिक्षकको भन्दा खेलाडीको गल्ती भएको बताएका छन् । सन्दीपले नेपाली क्रिकेटको भविष्य जोगाउनका लागि भए पनि बाँकी खेलमा राम्रो नतिजा निकाल्नुुपर्ने बाध्यता रहेको बताएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्ड भ्रमण सकेर फर्किएपछि त्रिभुवन विमानस्थानमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले प्रशिक्षकले राम्रो योजना बनाए पनि खेलाडीले त्यसलाई कार्यान्वयन गर्नमा चुकेको बताए ।
“टिमले राम्रो खेल्दा जसरी साथ दिनुहुन्छ । नराम्रो खेल्दा गालि खानु पनि स्वाभाविक हो । हामीले तालीलाई स्वीकार्छौं भने गालीलाई पनि स्वीकार्नै पर्छ । प्रशिक्षकको विषयमा जे कुरा आएको छ । हामी अहिले जहाँ छौँ, जुन स्थानमा छौँ, यसमा प्रशिक्षकको पनि महत्वपूर्ण भूमिका छ । हाम्रो ब्याटिङमा लामो समयदेखिको समस्या हो । अहिले नतिजा नआउँदा धेरै देखिएको मात्र हो,” सन्दीपले भने, “यसमा हामी खेलाडी नै सबैभन्दा जिम्मेवार हौँ । प्रशिक्षकले आउटसाइट प्लानहरू एकदम राम्रो बनाएका छौँ । तर, खेलाडीमै समस्या देखिएको छ ।”
स्कटल्यान्ड भ्रमणमा नेपालले चारमध्ये एक मात्र जितेको थियो । बाँकी तीन खेलमा पराजित भएको थियो । नेपालले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा पाँच विकेटको विजय हासिल गरेको थियो । त्यसबाहेक स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । नामिबियाविरुद्ध पहिलो खेल ४० रनले हारेको नेपाल दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । स्कटल्यान्ड भ्रमणको चारै खेलमा नेपालको ब्याटिङ पक्ष फितलो देखिएको थियो ।
कप्तान सन्दीपले एक टिमका रूपमा स्कटल्यान्ड भ्रमण असफल भएको स्वीकार गरे ।
“हामीले पछिल्लो समय लगातार क्रिकेट खेल्न पाएका छौँ । जुन हाम्रो लागि राम्रो हो । सकारात्मक पक्ष हो । तर हामीले त्यसलाई क्यापिटलाइज गर्न सकेका छैनौँ । धेरै राम्रो टिमसँग तयारी गर्न नपाए पनि यो एक वर्षको बिचमा धेरै राम्रो टिमसँग लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छौँ,” सन्दीपले भने, “हामी जुन सोचका साथ त्यहाँ गएका थियौँ र जुन अनुभव बटुलेका थियौं । त्यसअनुसार एक टिमका रूपमा हामी असफल भयौँ ।”
स्कटल्यान्ड जानुअघि कप्तान सन्दीपले चारमध्ये कम्तीमा तीन खेल जित्ने लक्ष्य रहेको बताएका थिए । तर, नतिजा भने ठिक उल्टो आएको छ । नेपाल तीन खेलमा पराजित भएको छ भने एक खेलमा मात्र जित निकाल्न सफल भएको छ ।
नेपालले स्कटल्यान्ड जानुअघि क्यानडामा अभ्यास खेल खेलेको थियो । क्यानडामा नेपालले त्यहाँको स्थानीय टिमसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो । त्यस्तै क्यानडासँग एक एकदिवसीय क्रिकेट खेलेको थियो ।
त्यसअघि नेपालले अमेरिका भ्रमणमा पनि चार खेलमध्ये दुई खेल हारेको थियो भने एक खेल बराबरी टुंगिएको थियो । एक खेलमा नेपाल विजयी भएको थियो । कप्तान सन्दीपले टिमको नतिजा नराम्रो आउनुमा खेलाडीको ‘माइन्डसेट’ प्रमुख विषय भएको बताएका छन् ।
‘हाम्रो टिममा प्रशस्त क्षमता भएका खेलाडी छन् । क्षमता नभएको भए राष्ट्रिय टिममा पर्ने कुरा पनि भएन । तर, माइन्डसेटको कुरा हो । विस्तारै विस्तारै परिवर्तन होला । फेरि त्यही कुरा आउँछ । युवा टिम छ । नयाँ कन्डिसनमा भिज्न पनि टाइम लाग्छ । स्कटल्यान्ड सबै खेलाडीको लागि नयाँ कन्डिसन थियो,” सन्दीपले थपे, “नयाँ कन्डिसनमा खेल्नु चुनौतीपूर्ण हो । तर, जबसम्म त्यो चुनौतीका बिचमा पनि राम्रो गर्न सक्नुपर्छ । नभए अर्को स्तरमा पुग्न गाह्रो छ । हामीले आफ्नो क्षमताअनुसारको खेल खेल्न सकेका छैनौँ ।”
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को २० खेलबाट १७ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने २४ खेलबाट ३४ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । २२ खेलबाट २६ अंक जोडेको यूएई तेस्रो स्थानमा छ भने अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौँथो स्थानमा छ ।
यस प्रतियोगतामा नेपालले अब १६ खेल खेल्न बाँकी छ । कप्तान सन्दीप लामिछानेले नेपाली टिमको भविष्य जोगाउन पनि बाँकी खेलमा राम्रो नतिजा निकाल्नुपर्ने बताए ।
“पछि पछुताउनुभन्दा आहिले नै सुधार गर्नु राम्रो हो । हामीले कहाँ गल्ती गरिरहेका छौँ । किन राम्रो भइराखेको छैन । त्यस विषयमा हामी आफैँले अहिले नै सुधार गर्नुपर्छ,” सन्दीपले थपे, “अब १६ खेल बाँकी छ । त्यसमा राम्रो गर्नु पर्ने छ । विश्वकपका लागि मात्र होइन । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि राम्रो गर्नुपर्नेछ । नेपाली क्रिकेटको भविष्य जोगाउन पनि राम्रो गर्नुपर्नेछ ।”