site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलिउडका ठूला चलचित्र बक्स अफिसमा किन फ्लप भइरहेका छन् ?

निखिल इनामदार/बीबीसी हिन्दी । बर्सेनि सबैभन्दा धेरै चलचित्र निर्माण गर्ने विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग बलिउड कोरोना महामारीको दुई वर्षपछि पनि कठिन समयबाट गुज्रिरहेको छ ।

महामारीले बलिउड फिल्म उद्योगलाई नमज्जाले पछारेको छ । पहिलेजस्तै खचाखच भरिने हल हेर्ने अपेक्षा चकनाचुर भएको छ र फिल्म उद्योगले हालसम्म करोडौँ रुपैयाँ राजस्व गुमाएको छ ।

अहिले दर्शकहरू आफ्नो पैसा कहाँ खर्च गर्दैछन् भन्ने कुरामा सचेत भएका छन् । यो वर्षको पहिलो ६ महिनामा रिलिज भएका २० उल्लेखनीय हिन्दी चलचित्रहरूमध्ये १५ वटा बक्स अफिसमा नराम्रोसँग पछारिएको बक्स अफिसको तथ्यांकले बताउँछ ।

Dabur Nepal
NIC Asia

जसमा देशका ठुला सुपरस्टारका चलचित्र पनि पर्छन् । जस्तै, रणवीर सिंहको ‘८३’ र ‘जयेशभाइ जोरदार’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ र कंगना रनौतको ‘धाकड’।

चलचित्रको व्यापारलाई नजिकबाट नियाल्ने जोगिन्दर टुटेजाकाअनुसार यी फ्ल्प चलचित्रहरूले करिब सातदेखि नौसय करोडको घाटा बेहोर्नुपरेको छ । यदि स्याटलाइट र डिजिटल राइट्सबाट नआएको भए त्यो पनि कभर गर्न गाह्रो हुन्थ्यो ।

टुटेजा भन्छन्, “यदि परिस्थति यस्तै भइराख्ने हो भने यो वर्ष हलको कुल राजस्व ४५० मिलियन डलरभन्दा माथि जाँदैन ।"

जुन सन् २०१९ मा बक्स अफिसमा हिन्दी चलचित्रहरूले बनाएको ५५० मिलियन डलर भन्दा सय मिलियन डलरले कम छ । 

बक्स अफिसमा किन नराम्रोसँग पछारिरहेका छन् चलचित्रहरू ?
चलचित्रहरूले कमजोर प्रदर्शन गर्नुका धेरै कारणहरूमध्ये एउटा कारण कमजोर विषयवस्तु पनि हुन सक्छ । एमके ग्लोबल फाइनान्सियल सर्भिसेजको रिपोर्टअनुसार, “कुनै समय थियो, कन्टेन्ट कमजोर भएपनि ठुला स्टारहरूले आफ्ना फ्यान फलोइङको आधारमा दर्शकलाई हलसम्म ल्याउन सफल हुन्थे र चलचित्रले राम्रो कमाइ गर्थे । तर समयसँगै, दर्शकको प्राथमिकता फेरिएको छ, अहिले उनीहरू चलचित्रको विषयवस्तुमा बढी ध्यान दिइरहेका छन् ।”

तर कोभिडअघि बक्स अफिसमा चल्ने मिड–बजेट र गम्भीर विषयका चलचित्रहरू कोभिडपछि किन राम्रो कमाइ गरिहेका छैनन भनेर निर्माताहरूले बुझ्न सकेका छैनन् । 

भारतका ठूलो फिल्म स्टुडियोहरूमध्ये एक टी–सिरिजका प्रमुख भूषण कुमारकाअनुसार दर्शक अहिले कुनैपनि चलचित्रमा राम्रो विषयवस्तु र कलाकार दुवै एकैसाथ हेर्न चाहन्छन् । 

निर्माताहरूमा द्विविधाको स्थिति 
भूषण कुमार निर्मित हरर कमेडी ‘भूल–भूलैया २’ यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रमा पर्‍यो । 

तर पनि फिल्मकर्मी (निर्माता) अन्योलमा रहेको उनी स्वीकार्छन् । बक्स अफिसमा ठुला चलचित्रहरू लगातार एकपछि अर्को गर्दै कमजोर हुँदै गएसँगै दर्शकको रोजाइमा कस्ता चलचित्रहरू पर्छन भन्ने कुरा निर्माताहरूले ठम्याउन सकिरहेका छैनन् ।

भूषण कुमारजस्ता धेरै निर्माता दर्शकको बदलिँदो रुचिका कारण संघर्ष गरिरहेका छन् । स्ट्रिमिङ प्लेटफर्मको पहुँच र हलहरूसँग दर्शकको बढ्दो दुरीका कारण बक्स अफिसमा चलचित्रलाई सफल बनाउन पहिलेभन्दा धेरै गाह्रो छ । त्यसमाथि कोभिडले स्थितिलाई अझै खराब बनाइदिएको छ । 

बढ्दो रिलिज डेट, क्यान्सिलेसन र कोभिड प्रोटोकलका कारण चलचित्रको औसत बजेट १० देखि १५ प्रतिशतले बढेको कुमारको विश्वास छ । यता टिकट महँगो भएका छन्, थिएटरको क्षमता घटेको छ र महामारीको समयमा धेरै स्क्रिनहरू स्थायी रूपमा बन्द भएका छन् ।

एमके ग्लोबलकाअनुसार नातावाददेखि धार्मिक भावनालाई चोट पुर्‍याउने आरोपकाबीच बलिउड विरोधी सामाजिक सञ्जाल क्याम्पियनले पनि चलचित्र उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ । यद्यपि यो क्षति कतिको भयो अनुमान गर्न गाह्रो छ ।

दक्षिण भारतीय चलचित्रले बक्स अफिसलाई सम्हाल्यो
परम्परागत रूपमा दक्षिण भारतमा बनेका चलचित्रहरूले आ–आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गर्छन् । तर, पछिल्लो समय हिन्दी क्षेत्रमा यी चलचित्रको हिन्दी डब संस्करणको लोकप्रियता बढेको छ ।

यी चलचित्रहरूले यहाँ धेरै राम्रो प्रदर्शन गरेका छन् र बक्स अफिस कलेक्सनको हिसाबले बलिउड चलचित्रहरूको बराबरीमा उभिएका छन् । जस्तै, साउथका ‘आरआरआर’, ‘केजीएफ च्याप्टर–२’ र ‘पुष्पा’जस्ता एक्सन प्याक फिल्महरू छन् ।

विज्ञहरूकाअनुसार, मुम्बईका स्टुडियोहरूमा बन्ने हिन्दी चलचित्रहरूमा दक्षिणका ब्लकबस्टर चलचित्रहरू जस्तो भव्य सेट, आकर्षक गीतहरू र स्लो मोसन सिक्वेन्सको अभाव भएको महसुस हुन्छ ।

भारतमा दक्षिण चलचित्रहरूको बढ्दो लोकप्रियताबारे चलचित्र समीक्षक सुचरिता त्यागी भन्छिन्, “यदि म अहिले हलमा जान्छु भने मलाई फरक अनुभव चाहिन्छ, जस्तो कि म कुनै रोमाञ्चक यात्रामा छु । महामारीमा घरमा बसेकाहरूले स्ट्रिमिङ प्लेटफर्ममा धेरै गैर–हिन्दी, दक्षिण भारतीय चलचित्रहरू खोजे, किनभने जब तपाईं घरमा हुनुहुन्छ, तपाईंलाई केही समयपछि हिन्दी फिल्महरू देखेर बोर हुन्छ ।”

तर, विश्लेषकहरूले यो प्रवृत्तिलाई भरपर्दो भनेका छैनन् । एमके ग्लोबलको रिर्पोटअनुसार, “क्षेत्रीय चलचित्रहरू (दक्षिणी र गैर–दक्षिणी) ले सामान्यतया तिनीहरूको परम्परागत बजार बाहिर कम प्रभाव पारेको छ ।”

अब के हुन्छ ?
पछिल्लो दोस्रो हाफमा भएको नोक्सानी पूर्ति गर्न बलिउड अहिले ‘फोरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ र रणवीर कपूरको एक्सन ड्रामा ‘शमशेरा’ जस्ता बहुप्रतीक्षित रिलिजको तयारीमा छन् । 

वर्षको पहिलो हाफको तुलनामा दोस्रो हाफमा धेरै चलचित्रहरू रिलिज हुँदैछन्, यस्तोमा बक्स अफिस कलेक्सन प्रि–कोभिड लेभलमा पुग्ने अपेक्षा गरिएको छ ।

अब ठूलो पर्दामा चलचित्र हेर्ने दिन सकियो भनेर कसैले लेख्न चाहँदैनन् । तर विश्लेषकहरू मान्छन् कि मानिसहरूमाझ स्ट्रिमिङ प्लेटफर्मको बढ्दो लोकप्रियता र दर्शकको बदलिँदो स्वभावले व्यवसायमा नि:सन्देह प्रभाव पारेको छ । 

एमके ग्लोबलको रिपोर्टअनुसार दर्शक चलचित्र हेर्न हलमा जानुको सट्टा ओटीटी प्लेटफर्ममा रिलिजका लागि पर्खनेछन्, विशेषगरी जब चलचित्रहरू औसत हुन्छन् ।

एमकेकैअनुसार भारतमा ओटीटी प्लेटफर्ममा ओरिजिनल कन्टेन्टका लागि पाँचसय मिलियन डलरको लगानी गरिएको छ, जुन सब्सक्राइबरको बढ्दो संख्याको तुलनामा धेरै हो । र, चलचित्र उद्योगका लागि यो राम्रो खबर भएको बताइएको छ । किनभने स्ट्रिमिङबाट हुने नाफाको तुलनामा निर्माताहरूमाथि दर्शकलाई हलसम्म ल्याउने दबाब पनि बढ्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro