काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को ट्रेलर मुम्बईमा रिलिज गर्ने तयारी गरिएको छ । भारतका ओटीटी र थिएटरमा समेत रिलिज हुने भनिएको चलचित्रको ट्रेलर भारतमा रिलिज गर्ने तयारी गरिएको हो ।
“भारतमा वितरणको जिम्मा लिएको कम्पनीले ट्रेलर पनि भारतमा रिलिज गर्नुपर्छ भनेको छ । पूर्व निर्धारित कार्यक्रममा फेरबदल भएन भने हामी भारतमै यो सिनेमाको ट्रेलर रिलिज गर्नेछौं,” निर्देशक समेत रहेका सन्तोष सेनले भने, “यदि भारतको वितरकले यो प्रस्ताव नगरेको भए हामी अघिल्लो हप्ता भारतमा प्रेम गीत–३ को टिजर रिलिज गर्नेथियौं । तर, दुई महिना अगाडि नै टिजर रिलिज गर्यो भने निरन्तर पब्लिसिटी कन्टेन्ट दिन सकिँदैन भनेकाले टिजर रिलिजमा केही ढिलाइ भयो ।” टिरजर रिलिजका लागि सन्तोष आउँदो साता मुम्बई जाँदैछन् । भारतमा ‘प्रेम गीत–३’ ‘विश्वजितम’का नाममा रिलिज हुनेछ ।
चलचित्रको आक्रामक पब्लिसिटी डिजाइन अन्तरगत उनले काठमाडौंमा ओपन स्पेसमा ट्रेलर सार्वजनिक गर्ने तयारी गरेका थिए । “हामी यो पटक टुँडिखेलमा आम दर्शकले हेर्न पाउने गरी ट्रेलर लञ्च गर्ने योजनामा थियौं । भारतीय वितरकलाई पनि यहीँ बोलाउने योजना थियो,” सन्तोष भन्छन्, “भारतकै वितरकसँग आउने त्यहाँका लोकप्रिय मिडियाबाट लाइभमार्फत भारतीय अडियन्स सामु पनि पुग्ने हाम्रो लक्ष्य थियो ।”
फिल्मको क्यारेक्टरमा घोडामा सवार हुने क्यारेक्टर शिव श्रेष्ठ र सुनील थापालाई ट्रेलर सार्वजनिकस्थल टुँडिखेलमा पनि फिल्मी शैलीमा घोडामै इन्ट्री गराउने आफ्नो योजना रहेको उनी बताउँछन् । यद्यपि, भारतमा ट्रेलर लञ्च हुन नसके आफूले टुँडिखेलमा नै ट्रेलर सार्वजनिक गर्ने सन्तोषको योजना छ । भारतमा भने ओपन स्पेसमा ट्रेलर सार्वजनिक गर्न आफू त्यहाँका लागि नयाँ भएकाले असहज महसूस गरेको सन्तोषको भनाइ छ ।
अहिले होर्डिङ बोर्ड लगाउन सुरु गरेका सन्तोषले यसलाई देशका ठूला सहर र महलसम्म पुर्याउने योजना रहेको सुनाए । “हाम्रोमा पब्लिसिटी नै हुँदैन । चलचित्र रिलिज भएको नै थाहा हुँदैन । चलचित्र रिलिज भयो भनेर दर्शकले जानकारी पाउँदा सिनेमा उत्रिसकेको हुन्छ,” उनी भन्छन्, “चलचित्रमा के छ र केका लागि हेर्ने भनेर पनि मैले दर्शकमा कौतुहल सिर्जजना गर्नुछ । चलचित्रमा जे छ, त्यो म कुनै न कुनै माध्यममार्फत जानकारी गराएर दर्शक हलसम्म आउने वातावरण बनाउँछु ।”
होर्डिङबोर्ड पछि उनले टिजर रिलिज गर्नेछन् । त्यसपछि उनले सार्वजनिक गर्नेछन् चलचित्रको गीत । गीतपछि प्रोमोसनल ओएसटी सार्वजनिकको तयारी गरेका छन् । यसका लागि उनले र्यापर प्रयोग गर्नेछन् । आफ्नो चलचित्रको कन्टेन्ट र्यापमार्फत केही भन्नेछन् र किन हेर्ने भनेर जानकारी दिनेछन् । यसका लागि उनले भिटेनसँग एक चरणमा कुरा गरिसकेका छन् । यदि, भिटेन कुनै कारणबस उनीसँग जोडिएनन् भने विकल्पमा अरु र्यापर प्रयोग गर्ने उनको भनाइ छ ।
सन्तोष ‘प्रेम गीत–३’को प्रचारकै लागि सांगीतिक टुरमा पनि निस्किने छन् । टुरमा चलचित्रका मुख्य कलाकारका साथै उनको चलचित्रमा गीत गाउने गायक÷गायिका पनि हुनेछन् । र, यही टुरमा ओएसटीमा स्वर दिने र्यापर पनि हुनेछन् ।
भारतमा त्यहाँको वितरकले सिनेमाको सम्पूर्ण प्रचार गर्नेछ । नेपाली भाषी रहेका मुख्यमुख्य सहरमा आफू कलाकारसहित पब्लिसिटीका लागि पुग्ने सन्तोषको भनाइ छ ।
यीसँगै सन्तोषले डिजिटल प्रोमोसन पनि गर्नेछन् । यसमा उनले सोसल मिडिया, रेडियो, टेलिभिजन, युट्युबको प्रयोग गर्नेछन् । यो चलचित्रका लागि उनले प्रमोसनका लागि मात्रै ५० लाख रुपैयाँ छन् ।
सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।
प्रेमगीत असोज ७ गते नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ । भारतमा व्यवसायिक रूपमा नेपाली चलचित्र थिटएरमा रिलिज हुन लागेको यो पहिलोपटक हो ।