काठमाडौं । खेल पोसाक उत्पादन कम्पनी ली निङले शुक्रबार नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा ली निङले दुई वर्षका लागि गोलरक्षक एन्जिलासँग सम्झौता गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलकिपरसमेत रहेकी एन्जिला र ली निङका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन महर्जनले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एन्जिलाले प्रत्येक वर्ष पाँच थान ट्रयाक सुट, टिसर्ट पाँच थान, पोलो टिसर्ट पाँच थान, जुत्ता पाँच थान र २० थान मोजा प्राप्त गर्नेछिन् । एन्जिलाले ली निङको ब्रान्ड एम्बेस्डर हुन पाउँदा खुसी लागेको बताइन् । उनले यस्तो सहयोगले झनै खेल्न हौसला मिल्ने बताइन् । “यस सम्झौताले खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गरिदिनुहोला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,” एन्जिलाले भनिन् ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य सरिला श्रेष्ठ, पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो ।