काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा सोमबार पूर्व क्लब युभेन्टस फर्किएका छन् ।
युनाइटेडसँगको सम्झैता समाप्त भएपछि पोग्बाले ‘फ्री–ट्रान्सफर’मा युभेन्टससँग चार वर्षका लागि सम्झैता गरेका छन् ।
युनाइटेडमा हुँदा लय भेट्टाउन संघर्ष गरिरहेका पोग्बा करियरको पुनरुत्थानका लागि पुनः पूर्व क्लब इटालियन क्लब युभेन्टस फर्किएका हुन् ।
पोग्बालाई युनाइटेडले करिब १० करोड ५० लाख युरोमा (तत्कालीन विश्व कीर्तिमानी शुल्क) अनुबन्ध गरेको थियो । त्यसको ६ वर्षपछि फ्रान्सका मिडफिल्डर पोग्बा नि:शुल्क युभेन्टस नै फर्किएका छन् ।
“तपाईंले देख्न सक्नुहुन्छ । म फर्किएको छु र यसमा म धेरै खुसी छु,” सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत पोग्बाले भनेका छन्, “म यस क्लबबाट ट्रफी जित्न आतुर छु । हामी सबै सँगै रंगशालाको मैदानमा हुनेछौंँ।”
पोग्बा पहिलोपटक २०१२ मा युभेन्टससँग अनुबन्धित भएका थिए । इटालियन क्लब युभेन्टसले त्यतिबेला युनाइटेडका युवा खेलाडी पोग्बालाई ८ लाख पाउण्डमा अनुबन्ध गरेको थियो । अहिले २९ वर्षे पोग्बाले पेरिस सेन्ट जर्मेन (पीएसजी)को उच्च पारिश्रमिकसहितको प्रस्तावलाई अस्वीकार गर्दै युभेन्टससँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पोग्बा शनिबार क्लबको मेडिकल सेन्टरमा पुग्दा एक हजारभन्दा बढी समर्थकले स्वागत गरेका थिए । पोग्बालाई स्वागत गर्न समर्थकहरू बिहानैदेखि भेला हुन थालेका थिए । उनीहरूको नायक पोग्बा पुग्दा त्यहाँ ठूलो भिड थियो ।
समर्थकहरूले 'कसले लुकाकुको ख्याल राख्छ । हामीसँग पोग्बा छन्' जस्ता नारा लगाएका थिए । युभेन्टसको कटु प्रतिद्वन्द्वी इन्टर मिलानले गत महिना चेल्सीबाट रोमेलु लुकाकु पुनः अनुबन्धित गरेको छ ।
पोग्बा युभेन्टसमा हुँदा समर्थकका मनपर्ने खेलाडी थिए । चार सिजनमा पोग्बाले हरेक पटक इटालियन सिरी ‘ए’को उपाधि जित्न मद्दत गरेका थिए । युनाइटेडमा फर्कनुअघि पोग्बाले युभेन्टसबाट २०१५ मा च्याम्पियन्स लिग उपविजेता पदक जितेका थिए । उक्त सिजन युभेन्टसले दुई इटालियन कप उपाधि र दुई इटालियन सुपर कप पनि जितेको थियो ।
युनाइटेडमा उनको दोस्रो कार्यकाल निराशाजनक थियो । लामो समय चोटबाट गुज्रिएका पोग्बाले युनाइटेडको ६ वर्षे करियरमा २२६ खेल खेले । पोग्बाले ३९ गोल गरे । त्यस समयमा, उनले फ्रान्सबाट २०१८ को विश्वकप उपाधि जितेका थिए ।
तर, युनाइटेडका लागि उनको प्रदर्शन कहिल्यै राष्ट्रिय टोलीबाट जस्तो हुन सकेन । युनाइटेडका प्रशिक्षकहरूले उनीबाट उत्कृष्ट प्रदर्शन पाउन सकेनन् । पोग्बाले युनाइटेडमा लिग कप र युरोपा लिग जिते । दुवै उनले युनाइटेड फर्किएको पहिलो वर्ष जितेका थिए ।
पोग्बा १६ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका थिए । त्यतिबेला पोग्बाले सिनियर टोलीबाट मात्र सात खेल खेलेका थिए । त्यसपछि उनी युभेन्टसमा अनुबन्ध भएका थिए ।
त्यसको झण्डै १० वर्षपछि पुन युभेन्टसमा अनुबन्ध हुँदा पोग्बा र प्रशिक्षक मासिमिलियानो एलेग्रीसँग पुनः सहकार्य हुनेछ । एलेग्री पनि गत वर्ष पुनः युभेन्टस फर्किएका हुन् ।
युभेन्टसले गत साता मिडफिल्डर एन्जेल डी मारियालाई पीएसजीबाट अनुबन्ध गरेको थियो ।