भीमफेदी । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको सङ्ख्या तीनगुणा बढी छ । आर्थिक वर्ष २०७८-७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् ।
गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन् । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताए ।
भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालक र ३४४ बालिकाको जन्मदर्ता भएको छ । त्यस्तै, १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् । रासस