काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब तीन दशकदेखि पार्टीको नेतृत्वमा छन् ।
पछिल्लो १५ वर्षदेखि मुलुककै राजनीति कुनै न कुनैरुपमा आफ्नै वरिपरि केन्द्रित रहेको दाबी गर्छन् प्रचण्ड । त्यतिमात्रै होइन उनले एमालेका तीन, कांग्रेसका एक जनालाई आफूले नै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको सार्वजनिक अभिव्यक्ति दिइरहन्छन् ।
तर पार्टीभित्र भने उनमाथि लागेको आरोप हो– नेतृत्वमा आफूबाहेक कसैलाई स्थापित हुनै नदिने !
तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईबाहेक अरु कसैले प्रचण्डविरुद्ध बोल्न पनि सकेनन् । ०७२ मा संविधान जारी भएसँगै बाबुरामले माओवादी परित्याग गरे । मोहन वैद्य पनि माओवादीबाट बाहिरिएपछि प्रचण्डलाई टक्कर दिने नेता नै माओवादीमा रहेनन् ।
यो त भयो शान्ति प्रक्रियामा आइसकेपछिको सन्दर्भ । प्रचण्ड नेतृत्वमा भएको सशस्त्र संघर्षमा समेत उनकाविरुद्ध अभिव्यक्ति दिने प्रभावशाली नेतासमेत कारबाहीमा परेका घटना सार्वजनिक भएका थिए ।
आफु अनुकूल पार्टी चलाइरहेका प्रचण्डलाई पछिल्लो समय परिवारवादको आरोप पनि निरन्तर लाग्दै आएको छ ।
६ महिनाअघि माओवादीको महाधिवेशन भयो । तर पदाधिकारी चयन अझै हुन सकेको छैन । प्रचण्डलाई अध्यक्ष चुनेर सकिएको महाधिवेशनले केन्द्रीय समिति टुङ्ग्याएको छ । पदाधिकारी टुङ्गो लगाउन केन्द्रीय सदस्यहरुले माग गर्दै आएका छन् । तर प्रचण्ड मौन छन् ।
अहिले माओवादीभित्र प्रचण्डपछि पश्चिम नेपालका दुई नेता शक्तिशाली छन् । ती हुन् वर्षमान पुन र जनार्दन शर्मा । दुवै नेता महासचिवका दाबेदार हुन् । सार्वजनिक रुपमै उनीहरुले यसबारे बोलेका पनि छन् । वर्षमानले त आवश्यक परे निर्वाचनको विधि प्रयोग गर्नुपर्नेसमेत बताएका थिए ।
प्रचण्डका विश्वासपात्र यी दुई नेता माओवादी युद्धबाटै स्थापित भएका हुन् । प्रचण्डले पटक–पटक सत्तामा जाने अवसर दिने नेतामा पनि यी दुई नै पर्छन् ।
पछिल्ला केही वर्षयता पार्टीभित्र दुई गुटका नेतासमेत रहेका वर्षमान र जनार्दनको सम्बन्ध बिग्रँदो छ । माओवादीकै नेताहरुकाअनुसार दुई नेताहरुको सम्बन्ध पानी बाराबारकै तहमा छ ।
माओवादी नेताहरुको बुझाईमा दुई नेताहरुको बीचमा दुरी बढ्दै जानुको कारण भने प्रचण्ड नै हुन् । दुई नेता आपसमा मिलेमा आफुलाई टिम व्यवस्थापन र पार्टी चलाउनसमेत गाह्रो हुने प्रचण्डको बुझाई छ । जानकारहरुका अनुसार युद्धकालसम्म वर्षमान र जनार्दनको सम्बन्ध त्यति बिग्रिएको थिएन । तर शान्ति प्रक्रियामा आएपछि यी दुई नेताको सम्बन्धमा दरार उत्पन्न हुँदै गयो ।
पटक–पटक मन्त्री पाउने भाग्यमानी वर्षमान–जनार्दन
०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीका सबैजसो शीर्ष नेता निर्वाचित भए । तर ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा जनार्दन शर्मा रुकुमबाट निर्वाचित भए भने मोरङबाट उमेदवार बनेका वर्षमान पराजित भए ।
रोल्पाका वर्षमान र रुकुमका जनार्दनबीच विवाद त्यहीबाट सुरु हुँदै गयो ।
निर्वाचनमा पराजित भएसँगै वर्षमानको भूमिका कमजोर देखियो । तर त्यसअघि वर्षमान ०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्री तथा ०६८ अर्थमन्त्री बनेका थिए । वर्षमान उर्जामन्त्री समेत भइसकेका छन् । वर्षमानले हार्दा जनार्दनले आफुनिकटलाई प्रचण्डको उत्तराधिकारी बताउँदै आए ।
जनार्दन अहिले अर्थमन्त्री छन् । उनी यसअघि उर्जा, गृह र शान्ति तथा पुनर्निर्माण मन्त्री भइसकेका छन् । शर्माको सबैभन्दा चर्चा प्रधानमन्त्री प्रचण्ड नै भएको बेला उनी ऊर्जामन्त्री हुँदा हो । उनकै कार्यकालमा लोडसेडिङमुक्त भएको थियो । लोडसेडिङ मुक्तको श्रेय जनार्दनले मात्रै लिन खोजेको भन्दै प्रचण्ड त्यसबेला रुष्ट भएको नेताहरु बताउँछन् ।
पार्टीको विवाद जे भएपनि पटक–पटक मन्त्री पाउने भाग्यमानीमा रुपमा वर्षमान–जनार्दनलाई लिने गरिएको छ । यसबाहेक गिरिराजमणि पोखरेल पनि माओवादीमा पटक–पटक मन्त्री हुने भाग्यमानीमा पर्दछन् ।
पार्टी विभाजनपछि बलिया बनेका वर्षमान–जनार्दन
माओवादी युद्धबाट चर्चामा आएका नेताहरु वर्षमान र जनार्दन २०५२ मा युद्ध सुरु गर्दा केन्द्रीय समितिमा थिएनन् । ०५५ मा वर्षमान केन्द्रीय सदस्य बन्दा शर्मा ०५६ मा केन्द्रीय सदस्य बने ।
युद्धकालीन समयमा पुन राजनीतिक कमिसार थिए भने शर्मा जनसेनाका कमान्डर थिए । उनले पश्चिम क्षेत्रका धेरै ठाउँमा सैन्य मोर्चाको कमाण्ड गरेका थिए । पुनले पनि पूर्व र पश्चिममा सैन्य मोर्चा सम्हालेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आउने भएपछि ०६२–०६३ को जनआन्दोलनमा वर्षमान उपत्यका कमान्डको इन्चार्ज भए ।
प्रचण्डले वर्षमानलाई अगाडि बढाए । त्यो कुरा नेक्रविक्रम चन्द ‘विप्लव’लाई पनि मन परेको थिएन । जनार्दन पनि त्यो कुरामा सन्तृष्ट नभएको नेताहरु बताउँछन् । विप्लव अहिले छुट्टै पार्टीका महासचिव छन् ।
दोस्रो जनआन्दोलनको सफलतासँगै शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले ११ सदस्यीय सचिवालय गठन ग¥यो । अन्तरिम संसद् गठन भयो । जनार्दन माओवादी संसदीय दलको सचेतक बने । प्रचण्डको सचिवालयमा परेपछि वर्षमानको राजनीतिक उचाई बढेको नेताहरु बताउँछन् ।
त्यतिबेलासम्म माओवादी विभाजन भएको थिएन । त्यसैले सबैको प्रचण्डसँग पहुँच थिएन । तर २०६९ मा तत्कालीन एकीकृत माओवादी फुट्यो ।
वरिष्ठ नेता मोहन वैद्य, रामबहादुर थापा, सिपी गजुरेल, देव गुरूङ, नेत्रविक्रम चन्द, पम्फा भुसाललगायतका नेताहरु पार्टीबाट बाहिरिए । ०७२ मा संविधान जारी भएसँगै बाबुराम भट्टराईले पनि नेपालमा कम्युनिष्ट पार्टीको औचित्य सकिएको भन्दै माओवादी परित्यागको घोषणा गरे ।
युद्धकालका अधिकांश शीर्ष नेताहरुले पार्टी छाडेपछि पुन र शर्मा प्रचण्डसँग रहे । दुवै नेताको मध्य र पश्चिममा बलियो प्रभाव छ । त्यसपछि प्रचण्डले दुवै नेताहरुलाई सँगसँगै लैजान खोजेको देखिन्छ । तर अन्तिममा प्रचण्डले वर्षमानकै कुरा सुन्ने नेताहरु बताउँछन् ।
जहाँबाट वर्षमान र जनार्दनको विवाद उत्कर्षमा पुग्यो
०७४ भदौमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भयो । त्यही सम्मेलनबाट वर्षमान जनार्दनको विवाद उत्कर्षमा पुगेको नेताहरु बताउँछन् । त्यसअघि आन्तरिक रुपमा रहेको विवाद विद्यार्थीको सम्मेलनले सतहमै ल्याइदियो ।
सुरुमा प्रचण्डले रामचन्द्र अधिकारीलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन खोजेका थिए । तर उनको पक्षमा माहोल देखिएन । अध्यक्षमा जनार्दनका भाई अनिल शर्मा, रञ्जित तामाङ र वीरेन्द्र बस्नेतको दाबी थियो ।
सर्वसम्मतिबाट अध्यक्ष बन्ने सम्भावना देखिएन । चुनावबाटै नेतृत्व चयन गर्ने अवस्था बनेपछि वीरेन्द्र बस्नेतले रञ्जितलाई समर्थन गरे । मैदानमा बाँकी रहे अनिल शर्मा र तामाङ । तामाङको पक्षमा वर्षमान र उनको समूहका नेताहरु खुलेरै लागे । प्रचण्डको परिवारका सदस्य पनि तामाङ जिताउन सक्रिय भए । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्,“प्रचण्डले पनि अनिल शर्मालाई नेतृत्वमा ल्याउन चाहेनन् । जनार्दनको बढ्दो महत्वाकांक्षा रोक्न हेडक्वार्टर नै तामाङलाई जिताउन सक्रिय भयो । आफ्नै भाइलाई हराउन वर्षमान लागेपछि दुई नेताहरुबीचको विवाद उत्कर्षमा पुग्यो ।”
निर्वाचनमा अनिल शर्मा पराजित भए । माओवादीभित्र नेतृत्व चयनका लागि त्यसअघि कुनै पनि संगठनमा निर्वाचन भएको थिएन ।
त्यहीँबाट वर्षमान र जनार्दनको दुरी बढ्यो । दुवै नेताहरुले तल्लो तहसम्म गुट विस्तार गर्दै गए । प्रचण्डले भने नियुक्तिदेखि हरेक कुरामा उनीहरुलाई भागवण्डा गर्दै गए ।
पार्टीमा दुई नेताबीच प्रचण्डको नजिक को बन्ने भन्ने प्रतिष्पर्धा छ ।
प्रचण्डले खेल्दैछन् दुवैविरुद्ध कार्ड !
कहिले शर्मा त कहिले पुन प्रचण्डसँग निकट देखिन्छन् । उनी खुलेर कसैको समर्थन गर्दैनन् । नेताहरुको बुझाईमा प्रचण्डले कहिले वर्षमानलाई त कहिले जनार्दनलाई च्याप्दै आएका छन् । माओवादी नेताहरु प्रचण्डले शर्मा त कहिले पुनविरुद्ध कार्ड प्रयोग गर्दै आएका छन् ।
दुई नेतामध्ये एकलाई मात्र प्रचण्ड नजिक ल्याउन सक्दैनन् । तर दुवै मिलाउने भूमिका पनि प्रचण्डले खेल्दैनन् । दुवै नेता मिलेमा प्रचण्डले आफुलाई नै समस्या पर्नसक्ने आकलन गरेको नेताहरु बताउँछन् । एक नेताले भने, “दुवै पश्चिमका नेताहरु हुन् । दुवैको पकड पार्टीमा बलियो छ । उनीहरु मिलेमा प्रचण्डलाई नै कतिपय अवस्थामा गाह्रो हुनसक्छ । त्यसैले उहाँ दुवैविरुद्ध कोही पनि बोल्नुहुन्न ।”
माओवादी महाधिवेशनले बहुपदमा जाने निर्णय गरिसकेको छ । अध्यक्ष प्रचण्ड दोहोरिएका छन् भने अन्य पदबारे टुङ्गो लागेको छैन ।
कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव महत्वपूर्ण पद हो । यो पदका लागि वर्षमान र जनार्दन नै बलिया दाबेदार हुन् । अहिले महासचिव बन्न सके यसअघि पार्टी नेतृत्वमा पुग्न सकिने दुवै नेताहरुको बुझाई छ ।
माओवादी केन्द्रीय समितिमा दुवै नेताहरुको हाराहारी नै पकड छ । तर प्रचण्ड जता खुल्छन् उनै महासचिव हुने सम्भावना बढी छ ।
दुई नेतालाई आपसमा नभिडाउने तर मिल्न पनि नदिने रणनीति उनको छ । दुई नेताकै कारण पदाधिकारी चयन अन्योलमा छ । दुई नेताहरु पार्टीका औपचारिक भेटघाटबाहेक अन्य समयमा संवाद गर्दैनन् । जनार्दन अर्थमन्त्री भएपछि वर्षमानले उनको आलोचना गर्दै आएका छन् । माओवादीभित्र अर्थमन्त्री फेर्ने कसरतमा पनि वर्षमान समूह सक्रिय रहेको बताइन्छ ।
अहिले पनि वर्षमान एमालेसँग मिलेर चुनावमा जानुपर्ने पक्षमा देखिएका छन् भने जनार्दन अहिलेकै सत्ता गठबन्धन अगाडि बढाउनुपर्ने लाइनमा छन् ।
महासचिवबारे प्रचण्डले मुख खोलेका छैनन् । तर प्रचण्ड निकट नेताहरुका अनुसार उनले वर्षमानलाई महासचिवमा ल्याउन खोजेका छन् । यस्तो अवस्थामा जनार्दन उपाध्यक्षमा जानुपर्ने हुन्छ ।
तर उनी महासचिव नभए उपाध्यक्ष हुने सम्भावना पनि न्युन रहेको एक नेताले बताए । उपाध्यक्षमा कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, मातृका यादव, पम्फा भुसाल, हरिबोल गजुरेललगायतका नेताहरुको दाबी छ । वर्षमान र जनार्दनको तनावका बीच प्रचण्डले अर्को व्यक्तिलाई महसचिव प्रस्ताव गर्नसक्ने सम्भावना पनि छ । तर त्यो निकै पेचिलो हुनसक्छ । कर्णाली प्रदेशमा बलियो बन्दै गएका जनार्दनलाई पाखा लगाउन प्रचण्डलाई सहज भने छैन । माओवादीको सबैभन्दा बलियो आधार नै कर्णाली प्रदेश हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमविक्रम भाट भने प्रचण्डकै हातमा सबै कुरा रहेको बताउँछन् । सबै कुराको केन्द्र नै प्रचण्ड रहेकाले उनकै वरिपरि पार्टी रहेको उनको भनाई छ ।
माओवादी पार्टीमा फरक विचार राख्दा निषेधको प्रवृत्ति बढेको उनी बताउँछन् । उनले प्रचण्ड व्यक्ति नभई संस्था भएको बताउँदै उनमा केन्द्रित हुँदा सबै समस्याको हल हुने बताए ।
महराको जोखना
दुई नेताबीचको टकरावमा मौकामा चौका कृष्णबहादुर महराले हान्न सक्ने सम्भावना छ । यौन दुर्व्र्यवहारमा मुछिएपछि महराको राजनीतिक उचाई घटेको थियो । हाल उनी पार्टीको प्रवक्ता छन् । महरा वर्षमान र जनार्दन दुवैभन्दा सिनयर हुन् । दुवै नेतालाई महासचिवको दौडबाट बाहिर राखेर महरालाई अगाडि सार्ने सम्भावना रहेको नेताहरु बताउँछन् । यसका लागि महराले पनि सक्रियता बढाएको बताइन्छ ।
माओवादी केन्द्रमा पछिल्लो समय तीन गुट छन् । एक गुटको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने बाँकी दुई गुटको नेतृत्व जनार्दन शर्मा र वर्षमान पुनले गर्छन् । शर्मा र पुनको तुलनामा श्रेष्ठको गुट कमजोर छ । उनको देशव्यापी गुट छैन । महराको गुट छैन । तर उनले प्रचण्डबाट आफ्नो काम भने सहजै गराउन सक्छन् ।
पार्टीभित्र वर्षमान र जनार्दनको टसलका बेला महरा प्रभाव जमाउन सफल हुँदै गएको माओवादीकै नेताहरु बताउँछन् । महरा अहिले प्रचण्डका विश्वासपात्र समेत रहेको एक नेताको दाबी छ ।
प्रचण्डले महरा, पुन र शर्मालाई विश्वासमा लिएपछि केही नेताहरुले पार्टी छाड्ने अवस्था आएको अहिले केन्द्रीय सदस्यहरु नै बताउँछन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् । युद्धकालीन समयमा माओवादीभित्र रवीन्द्र श्रेष्ठ, वर्षमान र विप्लवलाई प्रचण्डपछिका नेताका रुपमा हेरिन्थ्यो । कालान्तरमा रवीन्द्रले पार्टी छाडे । विप्लव र वर्षमान प्रचण्डसँगै रहे । तर पछि विप्लवले पनि प्रचण्डलाई छाडिदिए ।
पछि मोहन वैद्यसहित उनले प्रचण्डको पार्टीबाट विद्रोह गरे । विद्रोह गरेकामध्ये रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङलगायतको समूह फेरि प्रचण्डकै पार्टीमा फर्कियो । विप्लवले मोहन वैद्यको साथ छाडेर अर्को पार्टी गठन गरे नेकपा । तर उनको पार्टीका नेताहरु पनि लगातार माओवादी केन्द्रमै फर्किन थालेका छन् । केहीले छुट्टै पार्टी समेत गठन गरेका छन् ।
यस्तोमा उनी कमजोर बन्दै गएका छन् । तर महराले विप्लवलाई माओवादीमा फर्काएर प्रचण्डपछि बलियो नेता बन्ने रणनीति बनाउन थालेका छन् ।
विप्लव माओवादीमा आए उनलाई महासचिव बनाएर आफु वरिष्ठ उपाध्यक्ष बन्ने महराको रणनीति छ । यस्तो अवस्थामा विप्लव–महरा र प्रचण्डको नयाँ समीकरण बन्नसक्छ । तर विप्लव नआएको अवस्थामा भने त्यो सम्भव छैन ।
विप्लव आउँदा महरालाई फाइदा हुनेछ । सभामुखबाट राजीनामा दिनुअघि माओवादीबाट सबैभन्दा बढी लाभ लिने नेता हुन् महरा ।
महरा ०४८ सालमा नेकपा (मशाल) बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । ०५३ सालमा माओवादी केन्द्रीय सदस्य बने ।
त्यसपछि महराले पछाडि फर्केर हेर्नुपरेन । सभामुख बन्नेबेलासम्म महरा पार्टीभित्र पनि शक्तिशाली मानिन्थे । ०६९ को एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशनबाट महरालाई प्रचण्डको उत्तराधीकारीको रुपमा हेरिन थालिएको थियो ।
प्रचण्डले त्यतिबेला बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई उपाध्यक्ष बनाए । पोष्टबहादुर बोगटी महासचिव बने । माओवादीभत्र आर्थिक विचलनलगायतका आरोप महरामाथि युद्धकालदेखि नै लाग्दै आएका थिए । तर प्रचण्डले सधैं उनको बचाउ गरेको नेताहरु बताउँछन् ।
यौन प्रकरणमा सभामुखबाट हटेपछि कारागार पुगेका महराले सफाई पाए । तर उनी औपचारिक कार्यक्रममा कम देखिन्छन् । तर उनी फेरि शक्तिमा आउन विप्लवलाई महासचिव बनाउने लाइनमा लागेको पार्टीकै नेताहरु बताउँछन् ।
विप्लव महासचिव बनाउँदा वर्षमान र जनार्दन कमजोर हुने विश्लेषण माओवादी भित्र छ । जसले महरालाई फाइदा पु¥याउने छ । विप्लव र महराको मित्रता पुरानै हो । युद्धकालदेखि नै महरा–विप्लव सम्बन्ध मित्रतापूर्ण थियो । प्रतिबन्ध फुकुवा भएपछि विप्लव महरालाई भेट्न उनकै निवास पुगेका थिए ।