site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीमा गठबन्धनबारे दुईथरी मत, पदाधिकारी छान्न चर्को दबाब
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले खुला रूपमा आफ्नो धारणा राखे । कमलदास्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिवेदनमाथि सोमबार दिनभर छलफल भयो । 

प्रतिवेदनमा केन्द्रित रहेर छलफल गर्ने भनिएपनि नेताहरूले आफ्नो धारणा राखे । केन्द्रीय सदस्यलाई आफ्नो धारण राख्न दुई मिनेटको समय तोकिएको थियो । तर, उनीहरूले नियम नमान्दा प्रचण्डले पटक–पटक छोट्याउन निर्देशन दिनुपर्‍यो ।

माओ‌वादी बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको समीक्षा र आगामी निर्वाचनमा कसरी जाने भन्ने छलफल भइरहेको छ । शीर्ष नेताहरूले गठबन्धनको आवश्यकता रहेको र यसलाई निरन्तरता दिनुपर्ने बताइरहँदा माओवादीभित्र दुई मत देखिएको छ । 

आगामी निर्वाचनमा गठबन्धनमार्फत जाने र एक्लै जानुपर्ने भन्नेमा नेताहरूले मिश्रित धारणा राखेका छन् । 

आइतबारको बैठकमा प्रदेश अधिकांश प्रदेश अध्यक्षहरूले गठबन्धनबाट धोका भएको भन्दै एक्लै निर्वाचनमा होमिनुपर्ने धारणा राखेका थिए । आजको बैठकमा पनि कतिपय केन्द्रीय सदस्यहरूले एक्लै निर्वाचनमा होमिँदा नै पार्टी बन्ने धारणा राखे । 

केही केन्द्रीय सदस्यहरूले भने गठबन्धन नै उचित भएको बताए । 

आजको बैठकमा केन्द्रीय सदस्य शालिकराम जमरकट्टेलले गठबन्धनबाटै फाइदा भएको निष्कर्ष सुनाए । 

“आवश्यकताले गठबन्धन बनाएको हो । गठबन्धन ठिक छ । यसले पार्टीलाई फाइदा पुर्‍याएको छ । आफ्नो शक्ति पनि बढाउँदै जानुपर्छ,” उनले बैठकमा भने । 

अर्की केन्द्रीय सदस्य देवी खड्काले प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा एक्लै लड्ने कुरा मुर्खता हुने दाबी गरिन् । बरु स्थानीय तहको निर्वाचनमा पार्टी एक्लै लडेको भए उचित हुने उनको भनाइ थियो ।

“स्थानीय तहमा एक्लै लडेको भए हुन्थ्यो । तर अब प्रतिनिधि सभामा सिंगल लड्छौँ भन्नु मुर्खता हो,” उनले जिकिर गरिन् । 

माओवादीमा स्थानीय निर्वाचनमा गठबन्धनबाट धोका भएको र आगामी चुनावबारे गम्भीर भएर सोच्नुपर्ने नेताहरूले बताइरहेका छन् । 

कांग्रेसले धोका दिएको भन्ने प्रसंगमा उनले 'आफ्नैलाई भोट नदिने सबैलाई हाल्नुपर्छ भन्ने छ ?' भन्दै प्रश्न समेत तेर्साइन् । 

चुनावबाटै भएपनि पदाधिकारी टुंग्याउन दबाब 
माओवादीमा पदाधिकारी चयन पेचिलो बन्दै गएको छ । केन्द्रीय सदस्यहरूले सहजै पदाधिकारी चयन नहुने देखिएपछि दबाब सिर्जना गरिरहेका छन् । आजको बैठकमा पनि नेताहरूले पदाधिकारी यही कमिटीबाट तोक्न माग गरेका छन् । 

नेता हरिबोल गजुरेलले निर्वाचन गरेर भएपनि पदाधिकारी टुंग्याउन माग गरे । केन्द्रीय कमिटी अध्यक्ष प्रचण्डले प्रस्ताव गर्दा अरू सहमत भएको भन्दै पदाधिकारी पनि प्रस्ताव गर्नुपर्ने उनको भनाइ थियो । 

“यो पटक पदाधिकारी चयन गर्नैपर्छ । अध्यक्षले यही बैठकमा पदाधिकारी प्रस्ताव गर्नुपर्छ,” उनले भने, “अब स्थायी, पोलिटब्युरो र पदाधिकारी बनाउनुपर्छ । अध्यक्षको प्रस्ताव चित्त बुझेन भने चुनावमा जान सकिन्छ ।”

अखिल क्रान्तिकारीकी अध्यक्ष तथा केन्द्रीय सदस्य पञ्चा सिंहले जारी बैठकलाई पाँच दिनसम्म लम्ब्याएर भएपनि पदाधिकारी टुंग्याउनुपर्नेमा जोड दिइन् ।

बैठकमा अर्का केन्द्रीय सदस्य जमरकट्टेलले पनि पार्टीको पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य र पदाधिकारी चयन नहुँदा अफ्ठ्यारो भएको बताए । यही बैठकबाट पदाधिकारी छानिने विश्वास उनको छ । 

केन्द्रीय सदस्य सुदन किराँतीले पनि पदाधिकारी बनाउन नसक्ने पार्टीले देश चलाउन नसक्ने बताएका थिए ।

०७८ पुस ११ गतेदेखि १८ गतेसम्म चलेको पार्टीको आठौँ महाधिवेशन पदाधिकारी चयन प्रक्रिया थाती राखेर सकिएको थियो । अहिले पनि महाधिवेशन भएको ६ महिनापछि बसेको बैठकले पदाधिकारी छान्ने सम्भावना नरहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

आफैँलाई कारबाही गर्न मातृका र पञ्चाको माग !
सोमबारको बैठकमा नेता मातृका यादवले आफूमाथि अन्तर्घातको आरोप लगाइएको बताए । उनले चुनावमा भएको अन्तर्घातको छानबिन गर्न माग पनि गरे । 

“अन्तर्घातको कुरा आइरहेको छ । म पनि अन्तर्घातकै लिस्टमा छु," उनले भने । 

उनले अन्तर्घात गरेको भए कारबाही गर्न पनि माग गरे । आइतबारको बैठकमा प्रदेशको रिपोर्टिङ गर्ने क्रममा मधेस प्रदेश इन्चार्ज गणेश शाहले पार्टीभित्रको गुटबन्दी र अन्तर्घातका कारण कमजोर नतिजा आएको बताएका थिए । उनले अन्तर्घातीमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने मागसमेत गरेका थिए ।

अरू नेताहरूले पनि अन्तर्घातीमाथि कारबाही गर्नुपर्ने माग गरेका थिए । 

आजको बैठकमा यादवले मधेसको हारको जिम्मा अध्यक्ष प्रचण्डले लिनुपर्नेसमेत बताए ।

त्यसैगरी आजकै बैठकमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा अराजकता देखिएको भन्दै छानबिन गर्न माग पनि गरिन् । 

अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

उनले आफूबाट गल्ती भएको भए कारबाही भोग्न पनि तयार रहेको बताइन् । 

“यही केन्द्रीय कमिटी बैठकबाट छानबिन समिति गठन गरेर, कहीँकतै नेतृत्वको तहबाट बायसनेस भएको छ, साथीहरूमाथि ठेलिएको छ, पेलिएको छ भने पार्टीको डन्डा खान म तयार छु । त्यसको जिम्मा म लिन तयार छु," उनले भनिन्, “तर, भद्रगोलका कारण सिंगो कमिटी बदनाम भएको छ । छानबिन गरेर निर्णय लिइयोस् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro