सत्ता र शक्तिको उन्मादमा अत्याचार गर्दा कसैले पनि त्यसको फल पनि भोग्नुपर्छ भनेर ठानेको हुँदैन होला । झन् आफूलाई भगवान भनाउन रूचाउने पाखण्डीहरूले त सामान्य मानिसलाई कीराफट्यांग्रा नै ठान्दा हुन् । यसैले एउटामाथि अर्को अत्याचार गरिरहन्छन् । बलात्कार गर्ने, बलात्कारका बारेमा समाचार छाप्ने पत्रकारलाई मार्ने र बलात्कारको वयान दिने महिलाको भाइको हत्या गर्ने अभियोग लागेको व्यक्तिले राज्यबाट उच्च सुरक्षामात्र हैन मुख्यमन्त्रीको भेट र भेटीसमेत पाएपछि मामुली मानिसलाई झारपात ठान्नु के आश्चर्य भयो र ?
भारतको एउटा विशेष अदालतले गुरमित रामरहिम सिंह इन्सान नाम गरेको एक व्यक्तिलाई बलात्कारको आरोपमा दोषी ठहर्यायो । गुरमित डेरा सच्चा सौदा नामको एउटा सम्प्रदायका प्रमुख हुन् । हरियाणा, पन्जाब र राजस्थानको सीमा क्षेत्रमा डेराको प्रभाव निकै व्यापक र गहिरो रहेछ । यसैले मुद्दाको फैसला हुने दिन गुरमितका हजारौं समर्थक (भक्त?) सडकमा जम्मा भए । फैसला सुनाइनेबित्तिकै गुरमितका समर्थकले उपद्रो सुरु गरे । जताततै आगजनी र तोडफोड गरियो । बीसौं जनाको ज्यान गयो । चरम अराजकता फैलियो । सरकार डेरा समर्थकले मच्चाएको वितण्डाको तमासा हेरेर बस्यो ।
गुरमितमाथि डेराको आश्रयमा रहेका साध्वीहरूको यौन शोषण गरेको आरोपमा मुद्दा चलाइएको थियो । लाखौं समर्थक भएको कथित बाबामाथि भारतमा मुद्दा चल्नु नै आश्चर्यको विषय मानिन्छ । गुरमितमाथि पनि मुद्दा सजिलै चलेको थिएन । सन् २००२ मा एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई बेनामी पत्र लेखेर डेरा सच्चा सौदाभित्र साध्वीहरूको यौन शोषणलगायतका अपराध हुनेगरेको जानकारी दिएकी थिइन् । तर, त्यो बेनामी पत्रको सुनवाइ भएन ।
त्यही पत्र सन् २००२ मा पत्रकार रामचन्द्र छत्रपतिले आफ्नो अखवार 'पूरा सच'मा छापिदिए । पत्र छापेको केहीपछि अक्टोबर २४ मा रामचन्द्रलाई गोली हानियो । घाइते रामचन्द्र नोभेम्बर २१ सम्म अस्पतालमा छटपटाइरहे । उनले वयान दिन खोजे तर उनको वयानसम्म पनि लिइएन । मृत्यु शैयामा दिएको वयान अकाट्य प्रमाण जो मानिन्छ । दोषीलाई सजायबाट उम्काउन सरकारले षड्यन्त्र गर्यो । रामचन्द्रका छोरा अंसुलले पिताको हत्याको विषय सामसुम हुन दिएनन् । उनको निकै लामो संघर्षपछि विशेष जाँचको आदेश दिइयो । प्रतिवादी पक्ष बलियो भएपछि मुद्दा पनि सजिलै टुंगिदैन । अन्ततः १५ वर्ष मुद्दाको फैसला भयो र दोषीले दुईवटा मुद्दामा सजाय पाए । रामचन्द्रको हत्या र थुप्रै समर्थकहरूलाई भ्रममा पारेर बन्ध्याकरण गरेको मुद्दा अझै विचाराधीन छ ।
झट्ट सुन्दा सामान्य लाग्ने यस विवरणमा नखुलेको पाटो के हो भने गुरमितका पक्षमा भारतको सत्ता नै उभिएको थियो । उनलाई राज्यले नै विशेष सुरक्षा दिएको थियो । यसै पनि उनका निजी अंगरक्षक थिए । उनलाई मुद्दामा सजाय सुनाउन ल्याइँदा प्रधानमन्त्रीको भन्दा ठूलो मोटरको ताँती थियो रे । अदालतमा अरू तारेकका बेलामा ऊ आउँदैन थिए । उनलाई भिडियो कन्फरेन्सबाट बयान दिने सुविधा दिइएको थियो । बलात्कारको मुद्दा लागेपछि पनि राज्यका मुख्यमन्त्री उनको दर्शनका लागि जान्थे ।
अर्कातिर, बलात्कारको आरोप लगाउने साध्वीहरू ! सेन्ट्रल ब्युरो अफ इन्टेलिजेन्स (सीआईबी) ले जाँच सुरु गरेपछि दुईजना महिलाले गुरमितले उनीहरूको यौन शोषण गरेको आरोप लगाउने आँट गरे । अदालतमा वयान दिएपछि उनीहरूलाई झन् सताउन थालियो । ती दुवै गुरमितको डेराका साध्वी थिए । उनीहरूमध्ये एकको भाइको हत्या गरियो । समाजमा छीछी दूरदूर गरिए । एकप्रकारले बहिष्कृत जीवन यापन गर्नु पर्यो । पन्ध्र वर्ष तारेख धाउन र दसौंपटक वयान दिन पर्दा पनि उनीहरू झुकेनन् । सीआइबीका एक जना प्रहरी अधिकृत सतीश डागरले छानबिनको नेतृत्व गरेका थिए । उनीमाथि पनि उत्तिकै दबाब परेको थियो । रामचन्द्रका छोरा त अझै पनि डराइरहेका छन् ।
गुरमितले पाएको सजायको चर्चा भारतीयमात्र हैन संसारभरका सञ्चार माध्यममा भइरहेको छ । यसले भारतीय राजनीतिको घीनलाग्दो तस्बिर पनि उजागर गरेको छ । हरियाणा सरकारका दुईजना मन्त्रीले केही दिन पहिलेमात्र गुरमितलाई राज्य सरकारको कोषबाट उपहारस्वरूप ५१ लाख रुपियाँ टक्य्राएका थिए । मुद्दाको फैसला हुने दिन धारा १४४ लगाए पनि गुरमितका हजारौं समर्थकलाई एकत्रित हुन सरकारले रोकेन । फैसला सुनाएपछि उपद्रो गर्न सुरु गरेको भिडलाई तह लगाउनुभन्दा जनधनको क्षतिको तमासा हेरेर बस्यो हरियाना सरकार । त्यतिमात्र हैन सत्तारुढ भारतीय जनता पार्टीका सांसद् साक्षी महाराज नामका अर्का 'बाबा’ले त अदालत पनि 'औकातमा बस्नुपर्छ’ सम्म भने । उनका अनुसार आरोप एक जनाले लगाएको छ तर गुरमितका समर्थनमा हजारौं जना ज्यान दिन तयार छन् भने अदालतले पनि विचार गर्नुपर्छ । अर्थात्, इन्साफ प्रमाणका आधारमा हैन भिड हेरेर गर्नुपर्छ । यस्तो समाज र सरकार भएको ठाउँमा ती साध्वीहरूलाई १५ वर्षसम्म वयान नफेरी अडिन कति मुस्किल भयो होला ?
ती साध्वीहरूको साहसलाई सलाम गर्नैपर्छ । भारतमा राजनीति गर्नेहरू साध्वीका समर्थनमा खुलेर आउन नसकेपछि असल मानिसहरूले साध्वीहरूको साहसलाई सलाम गर्न थालेका छन् । नोबेल शान्ति पुरस्कारबाट सम्मानित बालअधिकारकर्मी कैलाश सत्यार्थीले ट्विट गरेका छन् — सधैँ अन्ध भक्तहरूको संरक्षणमा रहने यस्तो प्रभावशाली बलात्कारीविरुद्ध दृढतापूर्वक उभिने ती महिलाहरूलाई सलाम । तपाईँ पनि मुख खोल्नुस् ।’
रामचन्द्र छत्रपतिका बारेमा अहिले जति चर्चा उनी गोली लागेर उनी अस्पतालमा छटपटिएका बेला भएन । साध्वीहरूले प्रधानमन्त्रीलाई नै पत्र लेख्दा पनि गुरमितविरुद्ध कुनै कारबाही भएन । मस्जिद भत्काएर ’नायक’ हुने देशमा न्याय र सत्य जोखिमपूर्ण हुनु अस्वाभाविक पनि होइन ।
र, हामी पनि उनीहरूभन्दा खासै फरक छैनौ । हाम्रा राजनीतिक, प्रशासनिक, नागरिक अगुवाहरू पनि कथित स्वामी, मुनि, महाराज, बाबा नामका पाखण्डीहरूको चरणामृत पान गर्दा गौरवान्वित भएको देखिएकै छ । राज्यको ढुकुटीमात्र हैन वन र जमिन पनि शासकहरूले पाखण्डी बाबाहरूलाई सुम्पेको उदाहरण नौलो र अनौठौ छैन । र, न्यायाधीशले समेत बाबाको भेषमा भेटी असुलेको समाचार पुरानो भएको छैन ।
कैलाशजीले साहसी साध्वीहरूलाई सलाम गर्दागर्दै मैले पनि दुई नेपाली वीरांगनाहरूलाई सम्झेँ — सावित्री श्रेष्ठ र देवी सुनार । सावित्रीले भाइहरूका हत्यारालाई सजाय दिलाइन् । देवीले छोरी मैनाका हत्यारालाई उम्कन दिइनन् । सावित्री र देवीभन्दा कसुरदारहरू निकै प्रभावशाली थिए । अदालतको फैसला कार्यान्वयन भएको छैन । उज्जन र गणेशका हत्यारा ठहरिएका बालकृष्ण ढुंगेल सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता हुन् । उनलाई पक्रेर थुनामा राख्न सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन भएको छैन । यसैगरी मैनाका हत्यारा ठहरिएका सैनिक अधिकारी पनि फरार छन् । उनीहरूलाई सजाय भएको छैन ।
साध्वीहरूको साहसको सराहना गरौँ । नेपालका कथित बाबाहरूको मनमा चिसो पसेको हुनुपर्छ । तर, सावित्री र देवीलाई पनि नबिर्सौँ । साहसी त यिनीहरू पनि कम होइनन् नि !