
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग नेपाल टी–२० लिग सञ्चानका लागि व्यापारिक र रणनीतिक साझेदारका रूपमा सम्झैता गरेपछि नेपाली क्रिकेटमा विवाद सुरु भएको छ । जुन सदनसम्म पुगेको छ । एकले अर्कोलाई दोषारोपण गर्ने काम जारी छ ।
सम्झौताको विषयलाई लिएर अदालतमा मुद्दा दायर पनि भएको छ । पछिल्लो समय पूर्वसञ्चारमन्त्री तथा नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिनिधि सभामा ‘क्यानका चतुरबहादुर चन्दले यसरी चतुर्याई गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम’ बनाएको तथा ‘आठ वर्षका लागि क्रिकेट खेलको बन्ध्याकरण गरिएको’ भनेर बोलेपछि पुनः विवादले नयाँ रूप लिएको छ ।
बास्कोटालाई जवाफ दिनेक्रममा क्यानका अध्यक्ष चन्दले आमिर अख्तरप्रति लक्षित गर्दै बास्कोटाले ‘क्रिकेटको दलाल’लाई पक्ष पोषण गरेको आरोप लगाए । यसै सन्दर्भमा एभरेष्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक आमिर अख्तरसँग बाह्रखरीका सुजन श्रेष्ठले गरेको कुराकानीको संम्पादित अंश :
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले तपाईंलाई इंगित गरेर पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले ‘क्रिकेटका दलाल’हरूको पक्षमा बोल्यो भन्नुभएको छ । तपाईंहरू क्रिकेटको दलाल नै हो ?
मैले ठ्याक्कै उहाँको अन्तर्वार्ता भिडियोमा हेर्न पाएको छैन । पढ्दा त्यस्तो देखियो । साह्रै दुःख लागेको छ । किनभने उहाँले जुन दलाल भन्ने शब्द प्र्रयोग गर्नु भएको छ । त्यसले म मात्र होइन, ६ फ्रेन्चाइज टिममा लगानी गर्नुहुने नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरू तथा ठुला ठुला प्रायोजक हुनुहुन्छ । उहाँहरू सबैले क्रिकेटको माया र त्यसको सम्भावना देखेर लगानी गर्नुभएको हो । उहाँहरूले पनि ईपीएललाई चालु राख्नुपर्यो भन्नु भएको छ । उहाँहरू सबैलाई लक्षित गर्नुभयो जस्तो लाग्छ ।
एउटा सम्मानित र जिम्मेवार संस्था नेपाल क्रिकेट संघको अध्यक्षले त्यस्तो कुरा बोल्दा साँच्चिकै ‘एमेच्योर’ शब्द प्रयोग गर्नु भएको छ । यो दुःखद कुरा हो । यसबाट नेपाली क्रिकेट र नेपाली लगानीकर्ताप्रति उहाँको सोच कस्तो छ भनेर थाहा हुन्छ ।
तपाईंहरूले एभरेष्ट प्रिमियर लिग (ईपीएल) गर्दा २५ हजार रुपैयाँमा खेलाएर खेलाडीको शोषण गर्नुभयो भन्ने छ । त्यसरी खेलाडीको शोषण गर्न मिल्छ त ?
उहाँले त्यो बोल्नु भएको सत्य हो भने यो बुझ्नुपर्छ कि, त्यो २५ हजार न्यूनतम रकम हो । ‘ट्यालेन्ट हन्ट’ गरेर ल्याएको खेलाडीको कुरा हो । हामीले सामान्यत २५ हजारभन्दा माथि नै दिन्छौँ । हाम्रो न्यूनतम भनेको २५ देखि ५ लाख रुपैयाँ सम्म हो । त्यो पनि खेलाडीको वर्गीकरणअनुसार हुन्छ । ७५ हजार, डेढ लाख, तीन लाख र पाँच लाख रुपैयाँसम्म छ । त्यसकारण २५ हजारलाई बेञ्चमार्क बनाएर उदाहरण दिनु राम्रो कुरा होइन । त्यो हामीले क्रिकेटमा गरेको योगदान हो । यो कुरालाई राम्रोसँग बुझ्नुपर्छ । खेलाडीको तलबबारेमा हामीले क्यानलाई इमेल पनि पठाइसकेका छौँ । उहाँले आरोप लगाउनु अगाडि एक पटक अध्ययन पनि गर्नुपर्छ ।
हामीले क्रिकेटको विकासका लागि काम गरिरहेका छौँ । शोषणको कुरा गर्ने हो भने, क्यान आफैले आयोजना गर्ने प्रतियोगितामा खेलाडीलाई बढीमा एक हजार रुपैयाँ दिनुहुन्छ । त्यसमै तीन छाक खाना खाने, बस्ने र खेल्ने गर्नुपर्छ । वास्तविक शोषण त त्यो हो । म्याच रकमको कन्सेप्ट अहिलेसम्म क्यानले आयोजना गर्ने घरेलु प्रतियोगितामा खासै छैन । हामीले ५ वटा लिग म्याच खेलेको २५ हजारदेखि ५ लाखसम्म दिइरहेका छौँ भने त्यो शोषण हुँदैन । सम्मानजनक रकम हो । क्रिकेट संघको अध्यक्षले त उल्टै यस विषयमा सबै टिमका लगानीकर्ताहरूलाई धन्यवाद भन्नुपर्छ ।
तपाईंहरूले यस प्रतियोगिता गरेर क्यानलाई २० हजार डलर दिनुहुन्छ र करोडौँ रकम कमाउनुहुन्छ । क्यान आफैँले प्रयितोगिता गरेर कमाउँछु भन्दा तपाईंहरूलाई के आपत्ति भयो ?
हेर्नुस, क्याननको कमाउने ठाउँहरू धेरै छन् । यो त हाम्रो ‘स्याङसनिङ फी’ मात्र हो । क्यानले गरोस् न केही फरक परेन । नेपालमा तीन वटा लिग हुँदा पनि ७५ लाख कमाइ हुन्छ । जर्सीको राइट बिक्छ । टिकट बिक्छ । टीभीको राइट बिक्छ । क्यानको कमाउने बाटाहरू धेरै छन् । यहाँ यस्तो पनि छ कि क्यानकै कतिपय मान्छे, जसले भत्ताहरू खानुहुन्छ । जिल्लाबाट आउने जाने भाडा, ‘लजिस्टिक फी’हरू कति लिनुहुन्छ । त्यसमा कति खर्च हुन्छ, त्यो पनि एउटा अनुसन्धानको पाटो छ । क्यानले पैसा कमाइरहेकोे छ । तर, उहाँहरूले कसरी खर्च गरिरहनु भएको छ ?
२० हजार डलर त आईसीसीले तोकेको रकम हो । भोलि बढाएर ५० हजार भनेको भए हामीले तिर्नुपथ्र्यो । क्यानले त्यस विषयमा एक पटक पनि कुरा गरेको छैन । उहाँहरू ‘नयाँ रकम यो हो’ भनेको भए, हामी त्यही तिर्न तयार थियौँ । क्यानसँग त हरेक हिसाबमा स्वतन्त्रता छ नि । कोसँग काम गर्ने, कोसँग नगर्ने । तर, प्रक्रिया चैँ ठिक हुनुपर्छ भन्ने हाम्रो प्रश्न हो । जुन उहाँहरूले अरुलाई दिँदै हुनुहुन्छ । त्यो एकदम राम्रो हो कि वर्षको तीन करोडभन्दा माथिको रकम छ । त्यो राम्रो हो । हामी पनि खुशी छौँ । किनकि हामी क्रिकेटको विकास होस् भनेर आएका हौँ ।
तर, हामीलाई यति रकम लाग्छ भनेर तोकिदिए हुन्थ्यो । त्यसमा उहाँले कुनै आधिकारिक प्रस्ताव गर्नु भएको छैन । हामीलाई आईसीसीले तोकिदियो २० हजार डलर लाग्छ भनेर । हामीले त्यही दियौँ ।
उहाँहरूले यही लिग गर्नका लागि पनि तपाईंहरूलाई प्रस्ताव गर्नु भएको थियो रे । तर, तपाईंले लिन मान्नु भएन । अहिले फेरि किन विरोध ?
उहाँले झुट बोल्दै हुनुहुन्छ । प्रस्ताव गरेको छ भने त्यसको प्रमाण पेस गर्नुहोस् । जाँड खाएर ‘ए किन्छस् ? ए किन्छस् ?’ भनेर हुन्छ ? त्यसको कुनै अर्थ हुँदैन । प्रस्ताव गर्न त आधिकारिक रूपमा पत्र पठाउनु भएको भए हुन्थ्यो । त्यो केही गर्नु भएको छैन । बोलपत्र कतै जारी गर्नु भएको छैन । अनौपचारिक रूपमा गरेको कुराले मान्यता पाउँदैन । उहाँले झुट बोल्नुभएको छ । आधिकारिक प्रस्ताव गर्नु भएको छ भने प्रमाण पेस गर्नुहोस् ।
क्यानले ईपीएल, डीपीएल र पीपीएलले क्षेत्रीय रूपमा लिग सञ्चालन गर्न सक्छन् भनेको छ । क्षेत्रीय रूपमा प्रतियोगिता गर्दा तपाईंहरूलाई के फरक पर्छ ?
हामी क्षेत्रीय लिग भनेर गर्न पनि तयार छौँ । उहाँहरूले भनेको क्षेत्रीय लिगको अवधारणा के हो मलाई थाहा छैन । विदेशी खेलाडी राख्न पाउने जुन प्रावधान छ, त्यसलाई कायम राख्नुहोस् । हामी क्षेत्रीय लिगमा रूपान्तरण गर्न तयार छौँ । खाका हामीलाई बुझाइदिनुहोस् । क्षेत्रीय लिगको मोडालिटी के हो भनेर बुझाइदिनुहोस् । क्यानले अहिलेसम्म क्षेत्रीय लिगको खाका नै बनाएको छैन । यो मिडियामार्फत मात्र हामीले सुनिरहेका छौँ । हामीलाई कुनै औपचारिक पत्र आएको छैन कि तपाईंहरू क्षेत्रीय लिगमा जानुहोस् भनेर ।
तर, क्यानसँग भएको मोडालिटीबारे हामीलाई प्रस्ताव गर्नुहोस् । हाम्रो माग भनेको विदेशी खेलाडीलाई राख्न पाउनुपर्यो । त्यो भए कुनै आपत्ति छैन । विदेशी खेलाडीको ‘चार्म’ले नै कुनै पनि फ्रेन्चाइज लिग चल्ने हो । नभए त त्यो पीएम कप जस्तो भइहाल्यो नि ।
संसदमा गोकुल बास्कोटाले जे बोल्नु भयो । त्यसमा तपाईंसँग जोडेर आर्थिक लेनदेन भएको हुनसक्ने गम्भीर आरोप क्यान अध्यक्षले लगाउनु भएको छ । आर्थिक लेनदेन हो भने गलत भएन र ?
उहाँले के बोल्नुभएको छ । मैले त्यो पूरै राम्रोसँग सुनेको छैन । तर, उहाँ यस विषयमा स्पष्ट हुनुपर्ने हो । किनकि यो धेरै गम्भीर आरोप छ । भोलिको दिनमा यो ठुलो इस्यु बन्नसक्छ ।
माननीयज्यूले क्रिकेटको सन्दर्भमा कुरा गर्नुभएको छ । उहाँले क्रिकेटको विकास र देशको स्वाभिमानको विषयमा कुरा गर्न भएको छ । सम्झैताका केही बँदाहरू एकदम आपत्तिजनक छन् । त्यो सबै बाहिर आइसकेका छन् । चतुरबहादुर चन्दले कस्तो बुँदामाा कसरी हस्ताक्षर गर्नुभएको छ । त्यो एकदम घातक छ । देशलाई बेच्दिने काम हो । क्रिकेटको मात्र कुरा होइन । माननीयज्यूले संसदको ध्यानाकर्षण गरेर सबैलाई सचेत गराउनु भएको छ ।
चन्दजीलाई पनि थाहा छ कि उहाँले सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गर्नुभएको छैन । ‘इन्टेलेक्च्युएल प्रपर्टी’ बेचिदिनुभएको छ । नेपालको कानुन लाग्दैन । भारतको अदालतमा यसको ‘आर्विटेसन’ हुन्छ । जुन एकदम नराम्रो कुरा हो ।
उहाँले टी–२० मात्र बेच्नु भएको छैन । टी–१०, टी–१५, टी–३० को पनि अधिकार बेच्नु भएको छ । त्यतिमात्र होइन, भविष्यमा आईसीसीले कुनै पनि नयाँ स्वरूपको क्रिकेटलाई मान्यता दियो भने त्यो पनि भारतीय कम्पनीको हातमा बेच्दिनुभएको छ । पक्कै पनि त्यो देशका लागि राम्रो होइन । नेपालको प्रतिष्ठाको लागि नराम्रो हो । हामी नेपालीले यसको विरोध गर्नु आवश्यक छ । किनकि यो क्रिकेट, ईपीएल र क्यानको मात्र विषय होइन ।
मलाई खुशी लागेको छ कि माननीयज्यूले संसदमा ध्यानाकर्षण गराइदिनुभएको छ । क्यानका अध्यक्ष चन्दले जे काम गर्नुभएको छ, त्यो लाज लाग्नुपर्ने हो । उहाँले झुट बोल्ने काम गर्नुभएको छ ।
तपाईंले ईपीएल नयाँ संस्करणको मिति पनि घोषणा गर्नुभएको थियो । त्यो क्यानको अनुमति लिएर गर्नुभएको थियो वा घोषणा गरेर अनुमति माग्नु भएको हो ?
होइन, हामीले घोषणा गरेका थियौँ । र त्यही दिन हामीले क्यानलाई पत्र पनि पठाइसकेका थियौँ । तर, उहाँहरूले केही जवाफ दिनुभएन । केही दिनपछि हामीलाई थाहा भयो कि क्यानले नेपाल टी–२० लिग भारतीय कम्पनीलाई दिनुभएको छ । र नेपालमा अब नेपाल टी–२० बाहेक कुनै पनि लिग हुँदैन भनेर हामीलाई इमेल पठाउनु भयो ।
क्यानले आयोजना गर्ने भनेको लिगबाहेक नेपालमा यसअघि तीनवटा लिग सञ्चालनमा थिए । त्यो तीनवटै लिग गर्नेहरू एक ठाँउमा किन उभिन सक्नु भएको छैन ?
मलाई अरुको थाहा छैन । मैले यो आवाज ईपीएलका लागि मात्र उठाएको होइन । यो सम्पूर्ण नेपाली क्रिकेट र नेपालको स्वाभिमानको लागि उठाएको हो । यसमा सबै स्पष्ट हुनुपर्छ । यो ईपीएलको मात्र आवाज होइन । ईपीएल त एउटा ‘प्ल्याटफर्म’ मात्र हो ।
जुन घातक सम्झैता भएको छ । त्यसको विरोध हो । नेपाली क्रिकेट र नेपाली स्वाधीनताका लागि उठाएको अवाज हो । यो स्वाधीनतामा विस्तारै अन्य पक्ष पनि जोडिन थाल्नु भएको छ । समर्थन जुट्न थालेको छ । राजनीतिज्ञहरू र सांसदहरूले पनि यसमा साथ दिनुभएको छ । सरकारी निकायहरूले पनि यसमा चासो देखाउनु भएको छ । मैले आफ्नो ढंगले आवाज उठाए । ईपीएलका टिम मालिकहरूले पनि त्यसमा चासो देखाउनुभएको छ । अरु लिग सञ्चालन गर्नेहरूले के सोच्नु भएको छ, त्यो मलाई थाहा भएन ।
तपार्ईंले सार्वजनिक खरिद ऐनको विषय उठाउनुभयो । तर, क्यानले यस्तो खालको सम्झौतामा त्यो प्रक्रिया लागू नहुने भनेर स्पष्ट भनेको छ त ?
उहाँहरूले ‘टिम बिडिङ’को लागि सार्वजनिक सूचना जारी गर्नुभएको छ । टिम बेचिरहेका छौँ, त्यसममा ‘बिड’ गर्नुहोस भनेर । टिम बेच्दा चै बिडिङ गर्नुपर्ने अनि लिग बेच्दा चैँ बिडिङ गर्नु नपर्ने ? हामीले जब अख्तियार र अदातलमा मुद्दा लिएर गयौँ । त्यसपछि उहाँलाई थाहा भयो कि बिडिङ गर्नुपर्छ भनेर । त्यसकारण क्यानलाई थाहा भइसक्यो कि हामीले कहाँ कहाँ गल्ती गरिरहेका छौँ । सार्वजनिक संस्था भएको हिसाबले त्यो लिग बेच्दा पनि बिडिङ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । नेपालको जुन कानुन छ, त्यसअनुसार पनि प्रक्रिया पूरा नगरी विदेशी कम्पनीलाई दिन मिल्दैन । नयाँ खेलकुद ऐनमा पनि स्पष्ट लेखिएको छ कि कुनै विदेशी संघ, संस्था वा व्यक्तिसँग काम गर्दा प्रक्रिया पूरा गर्नुपर्छ । क्याबिनेटबाट स्वीकृति लिनुपर्छ । ग्लोबल टेन्डर हुनुपर्छ । यी सबै प्रक्रिया उल्लङ्घन गरेर उहाँहरूले सिधै सम्झौता गर्नुभएको छ ।
तपाईंका अनुसार यो सम्झैताका धेरै बुँदा घातक छन् । त्यसो भए यसले नेपाली क्रिकेटलाई आगामी दिनमा कस्तो असर गर्छ ?
एउटा कुरा के बझ्नुपर्छ भने, सबैभन्दा पहिला हामीले नेपालको बारेमा सोच्नुपर्छ । नेपालको बारेमा सोच्दा नेपालीको बारेमा सोच्नुपर्छ । नेपाली लगानीकर्ताहरू, जसले यतिका वर्षसम्म क्रिकेटलार्ई माया गरेर लगानी गर्नुभएको छ । सबैभन्दा पहिले क्यानले उहाँहरूलाई निराश बनाउनुभयो । एउटा कुनामा पन्छाइदिनुभयो । कुनै पनि खेलकुदमा प्रायोजक तथा लगानीकर्ताको महत्वपूर्ण भुमिका हुन्छ । खेलको विकासका लागि निजी क्षेत्रको ठुलो भूमिका हुन्छ । आफ्नै देशको ‘ब्रान्ड’हरू भए, त्यो सबैभन्दा राम्रो पक्ष हो ।
म के कुरामा खुशी छु भने पछिल्लो दशकमा नेपालका निजी क्षेत्रबाट जुन खालको लगानी आएको छ, त्यो साँच्चिकैै राम्रो उदहारण हो । अझै पनि कतिपय एसोसिएट राष्ट्रमा आफ्नो घरेलु कम्पनीको प्रायोजन हुँदैन । ठुलाठुला विकसित र धनी देशमा पनि । तर, नेपालमा चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्तर्राष्ट्रिय । त्यसमा नेपालका व्यापारिक घरानाले लगानी गर्छन् । आज आएर जति पनि नेपाली लगानीकर्ताहरू छन्, उहाँहरूले ‘हामी क्रिकेटमा लगानी गदैनौँ’ भन्नु नै सबैभन्दा ठुलो क्षति हो ।
दोस्रो, जुन मानसिक तनावमा निजी क्षेत्र छन् । त्यसले भविष्यमा कोही पनि क्यानसँग काम गर्न तयार हुँदैनन् । क्यानले ‘प्राइभेट पब्लिक पार्टनरसिप’मा काम गर्न सक्थ्यो । त्यो अवसर गुमाएको छ ।
तेस्रो, एउटा भारतीय कम्पनीले नेपाल क्रिकेट चलाउने र सबै अधिकार लिनु भनेको नेपालका लागि राम्रो होइन । भोलि क्यानको नेतृत्वका लागि राम्रो होइन । क्यानलाई आफ्नै कार्यक्रम बनाउनका लागि उनीहरूसँग सोध्नुपर्नेछ । सेभेन थ्री स्पोटर््स क्यानको आधिकारिक सल्लाहकार पनि हो ।
भनेपछि हाम्रो कन्ट्रोलिङ पावर सबै एउटा विदेशी कम्पनीलाई दिइएको छ । जसका कारण उहाँहरूले कन्ट्रोलिङ पावर गुमाइसक्नु भएको छ । आफ्नो कार्यकालका लागि मात्र होइन, अब आउने नेतृत्वलाई पनि अप्ठ्यारो पर्ने घातक काम भएको छ । भोलिको दिनमा ‘बेटिङ, फिक्सिङ र करप्सन’ हुने सम्भावना प्रबल छ । क्यानले ‘एन्टीकरप्सन’को त्यो पाटोमा गृहकार्य नै गरेको छैन ।
बेटिङ तथा फिक्सिङमा नेपालको नाम बदनाम भयो भने विदेशीलाई केही मतलब हुँदैन । तर, नेपालीलाई त यही बस्नुपर्छ । यही काम गर्नुपर्छ । यहाँको समाजले के भन्छ ? कानुनले के भन्छ ? भन्ने डर हुन्छ । त्यो डर विदेशीलाई हुँदैन । त्यसकारण यसले क्रिकेटलाई अध्याँरोमा पार्छ । र, यस्तो घातक कामले नेपाली क्रिकेटलाई पुनः निलम्बनका बाटोमा लैजान पनि सक्छ ।