site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘एउटै निर्वाचनबाट भागेका’ वामदेव गौतमको ‘माले अवतार’, प्रधानमन्त्री बन्ने हुटहुटी कायमै ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले परित्याग गरेर १० महिना राजनीतिबाट किनारा लागेका वामदेव गौतम यतिबेला चर्चामा छन् । उनले मंगलबार मात्रै महत्त्वाकांक्षी योजनाका साथ नेकपा एकता राष्ट्रिय अभियान पार्टी खोल्ने उद्घोष गरे ।

त्यसलगत्तै उनी बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे, र करिब एक घण्टा छलफल गरे ।

श्रीमती तुलसा गौतम, छोरा हरिशदेव गौतम र केही सानो समूह मिलाएर पार्टी घोषणा गरेको दुई दिनमै उनी बालकोट पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै वेला वामदेवका पक्षमा युवा नेताहरूको ताँती नै थियो । ७४ वर्षीय गौतम यतिबेला उनी साना समूहको सहारा लिन बाध्य छन् । उनलाई साथ दिनेहरू यतिबेला एमाले र एकीकृत समाजवादी पार्टीमा सक्रिय छन् । 

उनी रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अपरिचित समूहको सहारामा नेकपा पुनर्गठन वा चुनावी मोर्चा बनाउने महत्त्वाकांक्षी योजना बोकेर प्रस्तुत भए । 

Global Ime bank

वामदेवको राजनीतिक उतारचढाव 

वामदेवले २०२४ देखि भूमिगत जीवन बिताए । उनी गोविन्द ज्ञवालीको माध्यमबाट पुष्पलाल समूहमा क्रियाशील भएका थिए ।

त्यसपछि जीवराज आश्रित, मोदनाथ प्रसित, मदन भण्डारीलगायतले मुक्ति मोर्चा बनाए । उनीहरूसँगै रहेका गौतम तत्कालीन को–अर्डिनेसन केन्द्र (माले) सँग मिसिए । 

२०३९ सालमा पार्टीभित्रको विवादमा आश्रित, भण्डारी, झलनाथ खनालसँगै रहे । सीपी मैनाली अल्पमतमा परे । मैनाली महासचिवबाट हटाइए । मदन भण्डारी महासचिव बने ।

भण्डारी र वामदेवको सामिप्यता झाँगियो । भण्डारीले जबजको दस्तावेज प्रस्तुत गर्दा गौतमको भूमिका रहेको उनीसँगै लामो समय सहकार्य गर्दै हाल एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका बलराम बाँस्कोटा बताउँछन् ।

“मदन भण्डारी महासचिव भएपछि उहाँको निकटता झाँगियो । उग्रवादका विरुद्ध लाग्नुभयो । मदन भण्डारीको बहुदलीय जनवाद भन्ने दस्तावेज ल्याउनुभयो । त्यसमा बहुदलीय भन्ने शब्द थप्नका लागि उहाँको भूमिका राम्रै रह्यो,” उनी भन्छन् ।
 
एकताका बाधक वामदेव 

यतिबेला वामदेव कम्युनिस्ट पार्टी एकता गर्ने उद्देश्यका साथ प्रस्तुत भएका छन् । उनलाई नेकपा विभाजनको आरोप पनि लाग्दै आएको छ । उनी आफैँ नेकपा विभाजनको हिस्सेदार आफू नै भएको स्वीकार पनि गरिरहेका छन् ।

नेकपामा कहिले तत्कालीन अध्यक्ष केपी शर्मा ओली र कहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहेर द्वैध चरित्र नदेखाएको भए पार्टी विभाजन नहुने उनको निष्कर्ष छ । विभाजित भएका पार्टीलाई मिलाएर नेकपा पुनर्गठन गर्ने नत्र चुनावी मोर्चा खडा गर्ने महत्त्वाकांक्षी योजना अघि सारेका छन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृतलाई एकता नगरे नेपाली कांग्रेसको बहुमत आउने आकलन गरेर उनले घोषणा गरेको पार्टीमा ७५ सदस्य छन् । पार्टी एकताको बहानामा शक्ति आर्जन गर्न खोजेको आरोप पनि नेकपा एमाले र एकीकृत समाजवादीभित्रैबाट लागिरहेको छ । 

२०४७ सालमा पनि वामदेव पार्टी एकताविरुद्ध लागेका थिए । नेकपा माले र मार्क्सवादीबीच एकता हुनुहुन्न भन्ने पक्षमा वामदेव त्यसबेला उभिएका उनी निकट एक नेता बताउँछन् । 

“एमाले र मार्क्सवादीको एकता नहोस् भन्ने चाहना उहाँको पनि थियो । केपी ओलीको त्यस्तै पनि थियो । ओलीले पूर्व र उहाँले पश्चिमतिर एकता विरोधी अभियान तीव्र पार्न खोज्नुभएको थियो । मदन भण्डारीले तुरुन्तै नियन्त्रण गर्नुभयो,” ती नेता भन्छन्, “यदि, एकता भाँड्ने हो भने दुवैलाई कारबाही गर्छु नसके पार्टी छाड्छु भनेर चेतावनी पनि दिनुभयो । केन्द्रीय कमिटीबाट पास गराउँछु । सकिनँ भने म पार्टी छाड्छु भनेर तुरुन्तै रोक्न लगाउनुभयो ।”

संगठन विस्तारमा जोड 

२०५१ सालमा नेकपा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । एमाले सरकारमा जाँदा उनले पार्टी सञ्चालनकै जिम्मा लिए । 

“एमाले सरकारमा जाँदा धेरैको सरकारमा जाने चाहना भयो ।  उहाँले पार्टी सञ्चालनको जिम्मा लिनुभयो । सम्भवतः ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ पार्टीका १२औँ अभियान भनेर एमालेलाई अघि बढाउने कुरामा राम्रै भूमिका रह्यो,” बाँस्कोटा भन्छन् ।

तर, उनी लामो समय उपमहासचिवको जिम्मेवारीमा रहन पाएनन् । पार्टीभित्र ओली पक्षको दबदबाका कारण जिम्मेवारी खोसिएको नेताहरू बताउँछन् । 

पार्टीमा मत भिन्नता र तुषको बिजारोपणका बीच पनि उनी राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने । 

स्थानीय निकायको निर्वाचनमा उनी गृहमन्त्रीको भूमिकामा थिए ।  गृहमन्त्री बन्दा उनी विवादित पनि बनेका थिए । 

२०५४ सालमा महाकाली सन्धि ‘राष्ट्रघाती’ रहेको भन्दै एमाले विभाजन गरे । ३५ जनाको केन्द्रीय समितिका १४ जनाले उनलाई साथ दिए । २१ जना एमालेमै रहे । स्थानीय तह र संसदमा भने आधा–आधाजस्तै अवस्थामा थिए । तर, २०५६ सालको संसदीय निर्वाचनमा उनको पार्टीले एक सिट पनि जित्न सकेन । अन्ततः २०५८ सालमा उनी एमालेमा पार्टी एकता गराउन बाध्य भए । 

उनलाई साथ दिएका एक नेता एउटा निर्वाचनबाटै भागेको आरोप लगाउँछन् । अस्थिर चरित्रका कारण पार्टीलाई एमालेमा बिलाएको आरोपसमेत उनको छ । 

“अहिलेको निर्वाचन प्रणाली भएको भए त्यतिबेला सम्मानित मत हो । करिब पौने सात लाख मत प्राप्त गरेको थियो । प्रत्यक्ष निर्वाचनमा मात्रै भएकाले त्यसो हुन सकेन । एउटै निर्वाचनबाट उहाँ आत्तिनु भो । अस्थिर चरित्रका कारण एकता भन्दा पनि समर्पण गर्नुभयो,” त्यतिबेला मालेको केन्द्रीय कमिटीमा रहेका नेता भन्छन् । 

भूमिका नपाएपछि किसान महासंघ 

एमालेमा मिसिएपछि पनि उनी पेलिए । एकता गरिसकेपछि पार्टीमा उचित जिम्मेवारी नै दिइएन ।

सामाजिक सेवा विभाग या किसान महासंघ लिने अप्सन दिइएको नेताहरू बताउँछन् । दुईमध्ये उनले किसान संघ रोजेका थिए । किसान आन्दोलनलाई सशक्त बनाउन उनले योगदान दिए । 

“किसान संघ लिइसकेपछि किसान आन्दोलनलाई सशक्त बनाउने कुरामा उहाँको भूमिका रह्यो । कृषि क्रान्तिको अवधारणा अघि ल्याउनुभो । त्यो अहिले पनि सान्दर्भिक छ,” बाँस्कोटा बताउँछन् ।


 
पछि भने उनले लथालिंग छोडिदिए, टिममा सल्लाह गरेनन् । त्यसपछि, महासंघ विवादित भयो । उनले कृषि सहकारीको अभियान ल्याए, तर अघि बढाएनन् । निर्णय गर्न उत्साहित हुने र लतो छाड्ने भन्दै उनको आलोचना पनि हुँदै आएको छ । 

अस्थिर पात्र : माओवादीमा जान चाहन्थे 

उनी अस्थिर पात्र हुन् । एकैछिनमा फुरुङ्ग हुने र हतास हुने उनको स्वभाव छ । बास्कोटा गौतम एकैछिनमा जोशिने र चिसिने पात्रका रूपमा व्याख्या गर्छन् । “उहाँ अस्थिर हो । आफ्नो निर्णयमा अडिन सक्नुहुन्न । उनी भन्छन्, “बाफ् बनेर जोशिने अनि हिउँ बनेर चिसिने ।”

उनी हक्की स्वभावका पनि मान्छिन् । तत्कालीन द्वन्द्वरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको पनि भूमिका छ ।

पार्टीमा विरोधका बीच उनी माओवादीसँग वार्ताका लागि रोल्पासमेत पुगेका थिए । त्यो उनको जीवनको सकारात्मक पाटो हो । अन्ततः वामदेव माओवादी प्रवेश गर्न पनि चाहेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नौ महिने प्रधानमन्त्री बने ।

उनले सत्ता गुमाएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने । नेपालको सरकार गिराउन माओवादीले काठमाडौं घेर्ने योजना पनि बनाएको थियो । नेपालको सरकार गिराउन एमालेकै नेताहरूले उनलाई माओवादी प्रवेश गर्न उक्साएका थिए । साथमा रहेकाहरूले अस्वीकार गरेपछि ‘ब्याक’ भएको एक नेताको जिकिर छ ।

“एमालेमा रहेका अहिलेका केही नेताहरू वामदेवको ढाडमा टेकेर माओवादीमा जान चाहन्थे । त्यतिबेला ताका माओवादीले माधव नेपाल सरकारका विरुद्ध काठमाडौं घेराउ गरेर सत्ताच्युत गराउने अभियान नै बनाएको थियो । सरकार असफल बनाउन उहाँ उत्साहित हुँदै माओवादीमा जान खोजेको हो,” गौतमले माओवादी प्रवेश जाने प्रस्ताव गरेको ती नेता सम्झन्छन्, “उहाँलाई उचाल्ने मान्छे कोही एमालेमा छन् । कोही एकीकृत समाजवादीमा त कोही विस्थापित भए । उहाँको प्रस्ताव केहीले माने केहीले मानेनन् । पछि जाने प्रस्तावबाट ब्याक हुनुभयो ।”

प्रधानमन्त्री बन्ने हुटहुटी 

वामदेवमा प्रधानमन्त्री बन्ने हुटहुटी तीव्र देखिन्छ । जीवनमा तीनपटक उपप्रधानसहित गृहमन्त्री बनेका गौतममा प्रधानमन्त्रीको चाहना हुनु स्वाभाविक पनि भएको उनी निकट नेताहरु बताउँछन् ।

०४८ र ०५१ मा बर्दिया–१ बाट विजयी भएका गौतमले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठानबाट जितेका थिए । उनी ०५६ र ०७४ को निर्वाचनमा भने पराजित भएका थिए । 

२०७४ सालको निर्वाचनमा पराजित भएपछि उनको प्रधानमन्त्री बन्ने ढोका बन्द भयो । 

गौतमले अभियान घोषणा कार्यक्रममा ‘आफू प्रधानमन्त्री हुने सपनामा नरहेको भए चुनाव जित्ने अवस्था रहेको’संकेत गरेका थिए । 

चुनावमा पराजित भएपछि संविधानअनुसार प्रधानमन्त्री हुने योग्यता गुमाए । तर, उनले प्रधानमन्त्री बन्ने ललिपप भने पाइरहे ।

डोल्पा, प्युठान, काठमाडौंलगायतका विभिन्न जिल्लाबाट सांसदलाई फर्काएर भए आफू संसद् छिर्ने आशामा रमाइरहे । तर, त्यो पूरा हुन सकेन । 

उनी नेकपामा रडाको मच्चाएर राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभामा छिरे । त्यसो त राष्ट्रिय सभा सदस्यले समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान नै संशोधन गर्ने प्रस्ताव अघि सारे । नेकपामा उनको मागबमोजिम संविधान संशोधन गर्न कार्यदलसमेत गठन भएको थियो । 

नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गर्दा फुरुङ्ग बनेका थिए । अर्का अध्यक्ष आफूलाई प्रधानमन्त्री बन्ने नदिएको आरोप उनको छ । 

उनीसँग लामो समय काम गरेका नेता परिस्थितिको आकलन गर्न नसकेको बताउँछन् । राजनीतिको ठोस विश्लेषणमा गौतमको कमजोरी रहेको उनको ठम्याइ छ । 

“उहाँले प्रधानमन्त्रीको ललिपप पाइरहनुभयो । प्रधानमन्त्रीको सम्भावना थिएन । त्यो ढोकामा पुग्ने हैसियत पनि थिएन । सेन्टिमेन्टमा भने खेलिरहे । उहाँलाई प्रतिनिधिसभामा ल्याउन ओली र प्रचण्ड चाहँदैनथे । तर, उहाँले त्यो बुझ्न सक्नुभएन । पोलिटिकल एनालाइसिसमा उहाँको त्रुटि रह्यो । अहिले पनि केपीले प्रधानमन्त्री बन भन्नुभएको थियो । प्रचण्डले मानेन भन्नुभयो भनेर पार्टी घोषणा गर्दा सुनाउनुभयो,” ती नेताको विश्लेषण छ, “त्यो पोटिकिल एनलाइसिसमा इम्याचुअड हो । मान्छेमा जब पदको लिप्सा हुन्छ नि एकदमै अन्धभक्त हुँदोरहेछ । केपीले खेलाए । अन्यत्र पनि विश्वासिलो बन्न सक्नुभएन । प्रचण्डले पेश गरेको प्रतिवेदनमा पनि उहाँले तयार गरेको दाबी गर्नुहुन्छ । अर्कोतिर केपीले प्रधानमन्त्री बनाउँथे भन्नेमा विश्वस्त हुनुहुन्छ । त्यो अस्थिरताको पाटो हो ।”

वामपन्थी नेता तथा विश्लेषक राधाकृष्ण मैनाली वामदेवमा प्रधानमन्त्री बन्ने हुटहुटी कायमै रहेको विश्लेषण गर्छन् । अहिले पार्टी एकता गर्ने बहानमा शक्ति आर्जन गरेर प्रधानमन्त्री बन्न खोजेको उनको आकलन छ । 

“वामदेवजी साह्रै महत्त्वाकांक्षी । उनलाई अहिले पनि आफू दोस्रो नम्बरका नेता हुँ भन्ने लाग्दैन । पहिलो नम्बरकै ठान्ने हो । तर, अहिले कमजोर छन् । पार्टी फुटाएर माले बनाउने सन्दर्भमा महाकाली सन्धि राष्ट्रघाती हो भन्ने तहबाट उठे पनि भित्री मनचाहिँ अलग पार्टी बनाएपछि मात्रै प्रधानमन्त्रीमा पुगिन्छ भन्ने मनशाय थियो,” उनी भन्छन्, “तर, पछि एकसिट पनि आएन । एमालेमा पनि ओली र नेपालसँग बार्गेनिङ गर्दा प्रधानमन्त्री बन्ने अवसर नै पाएनन् । अहिले पनि एकताका नाममा शक्ति आर्जन गरेर प्रधानमन्त्री बन्न चाहन्छन् । ” 

अमेरिकाबाट फर्किएपछि फेरिएका वामदेव 

०७७ पुस ५ मा संसद् विघटनपछि तत्कालीन ओली र दाहाल–नेपाल समूह क्रियाशील भएपछि गौतमले ०७८ माघ १४ मा ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका थिए । 

एमालेमा अध्यक्ष केपी शर्मा ओलीका कारण बस्न नसकेको भन्दै २०७८ भदौ १८ गते एमालेबाट बाहिरिएपछि उनी मौन बसेका थिए । अहिले सोही अभियानलाई उनले पार्टीको रूप दिएका हुन् । 

त्यसपछि उनी एमालेबाट विद्रोह गरेको पार्टी एकीकृत समाजवादीमा जाने आँकलन गरिएको थियो । पार्टीमा जानका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी प्रवेशका लागि वार्तासमेत गरे । पार्टीमा ठूलै भूमिका खोजेका गौतम आफूले चाहेअनुसार नदेखिएपछि जबजमा कुरा नमिलेको भन्दै पन्छिए । 

उनलाई साथ दिएका नेताहरू हरि पराजुली, केशवलाल श्रेष्ठ, बलराम बाँस्कोटा लगायतका नेताहरू उक्त पार्टीमा छन् । गौतमले स्थानीय निर्वाचनमा एकीकृत समाजवादीको चुनावी गीत लेखेका थिए । 

उनले केही दिनअघि पनि पार्टीमा नै आउने ती नेताहरूलाई बताएका थिए । तर, हालै अमेरिकाबाट फर्किएपछि पार्टीको घोषणा गर्दा नेताहरू अचम्मित छन् । 

“एकीकृत समाजवादीमा नै आउने भन्नुहुन्थ्यो । अमेरिकाबाट फर्किएको १५ दिन पनि भएको छैन । कुनै पनि पदको बागेर्निङ गर्नुभएको थिएन । एक्कासि पार्टी खोल्ने कुरा गर्नुभो । किन हो पत्तो पाउन सकिएन,” उनी भन्छन् ।
 
पार्टी बन्नेमा शंका

वामदेवको हाल घोषित पार्टी निर्माण बन्ने र नेकपा पुनगर्ठन हुनेमा शंका रहेको विश्लेषण हुन थालेको छ । पहिले पार्टी फुटाउन भूमिका खेलेका गौतमले अहिले जुटाउन सक्ने पत्याउन मुस्किल रहेको नेताहरू बताउँछन् । 

विश्लेषक मैनाली पार्टी एकीकरणको कुरा गरे पनि स्वार्थ केन्द्रित देख्छन् । पार्टी बनाउने लक्ष्य नरहेको उनको आरोप छ । 

“अहिले यसो हेर्दा पार्टी एकीकरणको कुरा राम्रो देखिन्छ । भित्रि मक्सद एकीकरणको नाममा आफ्नो उचाइ बढाउने र प्रधानमन्त्रीमा जाने अभिप्राय देखिन्छ । माधव, ओली र प्रचण्ड तीन जना प्रधानमन्त्रीको उमेदवार छँदै छन्,” उनी भन्छन्,“टाकुरे पार्टी खोलेर चार पार्टी एकताको नाममा चार जनाको सुपर ब्युरो बनाउन उहाँ लाग्नुभएको छ । पार्टी एकीकरण र देश बनाउने कुरा छैन । सत्तामा जाने कुरा हो । सबै प्रधानमन्त्री बनिसके, अब मेरो पालो हो भन्ने अभिष्टता मात्रै हो ।”

पहिले उनीसँगै रहेको एक नेता पनि पार्टी बन्ने देख्दैनन् । पार्टीले आकार लिनेमा उनले शंका व्यक्त गरे । 

“एकीकृत समाजवादीको ठूलै जनाधार भएको पार्टी हो । १० भाइले धोका नदिएको भए सशक्त बन्थ्यो । जनाधार भएको पार्टी त बल्ल आकार ग्रहण गर्दै छ । ‘जेठो मामाको यो गति’ । अब वामदेवको पार्टीले आकार ग्रहण गर्ला भन्ने त...!,  कसरी फुल्ला, कसरी फैलिएला शंका छ,” उनले बाह्रखरीसँग भने ।  


 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC